Redirecting...

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’ - ehimalayatimes.com

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’ - ehimalayatimes.com
Source: hmlt

भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताउनुभएको छ । कांग्रेस सूर्यविनायक नगरसमितिले आज यहाँ आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उहाँले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । सहमहामन्त्री परियारले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनःराजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेकाले अब संविधान संशोधन गर्ने क्रममा यस व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नसक्ने गरी गरेको निर्णय स्वागत योग्य रहेको उहाँको भनाइ थियो । “पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक होइन । उहाँबारे एमालेले जे निर्णय गर्यो, त्यो सही निर्णय हो । कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ”, सहमहामन्त्री परियारले भन्नुभयो । उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ मङ्सिरभित्र गर्नु उपयुक्त हुने बताउनुभयो । “कांग्रेसमा वर्तमान नेतृत्वको कार्यकाल विसं २०८२ मङ्सिरमा सकिँदैछ, तर महाधिवेशनको तयारी सुरु भएको छैन । अब मङ्सिरमा महाधिवेशन सम्भव नभएकाले एक वर्ष म्याद थपेर अर्को वर्षको मङ्सिरमा महाधिवेशन गर्नुपर्छ”, सहमहामन्त्री परियारले जिकिर गर्नुभयो । कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले केन्द्रीय नेता र केन्द्रीय कार्यसमितिलाई दोष दिनुभन्दा अन्य तहका समितिले पनि आफ्नो दायित्वमा रहेका काम समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसका हरेक नेता कार्यकर्ताले पार्टी विधानअनुसार आपूmले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न सके पार्टी स्वतः बलियो बन्ने बताउनुभयो । कांग्रेस सूर्यविनायक नगरसमिति सभापति निशान ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, क्षेत्रीय सभापति भेषबहादुर कार्की र जीवन खत्री, प्रदेशसभा क्षेत्र नं २ (क)का सभापति प्रदिप कार्की, भक्तपुर नगरसमिति सभापति राजेन्द्र तमाखू, बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सम्मेलनमा नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिका १० वटा वडा समितिका पदाधिकारी, वडाका क्षेत्रीय प्रतिनिधि, भ्रातृ एवम् शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, सूर्यविनायक भूगोलबाट प्रतिनिधित्व गर्ने पार्टीका विभिन्न समितिका प्रतिनिधिसमेत गरी करिब २५० जनाको सहभागिता रहेको सभापति ढुंगेलले जानकारी दिनुभयो ।रासस