Redirecting...

नेकपाका प्रवक्ता विश्वकर्मा कालीकोटबाट एकल सिफारिस - ehimalayatimes.com

नेकपाका प्रवक्ता विश्वकर्मा कालीकोटबाट एकल सिफारिस - ehimalayatimes.com
Source: hmlt

कालीकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस हुनुभएको छ । मंगलबार पार्टीको नरहरिनाथ-८ खुलालुमा बसेको विशेष बैठकले पार्टी प्रवक्ता विश्वकर्मालाई एकल उम्मेदवार सिफारिस गरेको हो । प्रवक्ता प्रकाण्ड श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय नेता, सहिद परिवार र कर्णालीमा माओवादी आन्दोलन विस्तार गर्ने प्रमुख नेता भएकाले प्रत्यक्षतर्फको एकल उम्मेदवारमा सिफारिस गरिएको बताइएको छ । २०२५ जेष्ठ ४ गते शुक्रबार साबिककाे मालकोट गाविस –४ र हालको नरहरिनाथ गाउँपालिकमा निम्न–मध्यम वर्गीय किसान परिवारमा जन्मिनु भएका विश्वकर्मा सामन्ती राजतन्त्रात्मक राजनीतिक प्रणालीविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्धमा पश्चिम नेपालमा महत्वपूर्ण भूमिका खेल्ने नेताका रुपमा चिनिनुहुन्छ । जसले २४० वर्ष लामो सामन्ती राजतन्त्रको अन्त्य गरी नेपालमा गणतान्त्रिक व्यवस्था स्थापना गरेको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा प्रकाण्ड कालीकोट क्षेत्र नं. १ बाट २७ हजार ६ सय २९ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । त्यसपछि ०६८ मा झलनाथ खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्‌मा उहाँ पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त हुनुभयो । यसअघि, २०६३ सालमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्‌मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो । विश्वकर्मा माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बन्नुभएकाे थियो । पूर्वमन्त्रीसमेत भइसकेकाले कालीकाेटमा प्रकाण्डकाे जनआधार बलियो रहेको स्थानीय बताउँछन् ।