४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स - www.onlinepana.com
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको हो । २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड छ । गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशत बढेको थियो । गत आवको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,४५,९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,२७,८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,४७,४७८ र ९४,१०५ रहेको थियो । The post ४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).