गुलाबी चट्टानभित्र भेटिएको शहर ‘पेट्रा’ - sahityapost.com
गुलाबी रङको शहर, हराएको शहर र विश्वका सात आश्चर्यमध्ये एक भनेर प्रशंसा गरिएको जोर्डनको पेट्रा जाने योजना बन्यो । जानुभन्दा एक हप्ता अगाडि म बसेको शहरमा घुम्न आएका मेरो अभिन्न मित्र डा. सुशील आचार्यलाई भेट्न एउटा होटेलमा गएको थिएँ । वर्षौंदेखि चिनेका उनका भाइ सुरेश आचार्यसँग पनि भेट भयो । जोर्डन जाने कुरा निस्किएपछि उनले ‘जोर्डन कहाँ जाने ? पेट्रा ?’ भनेर सोधे । मैले ‘हो’ भनेर मुन्टो हल्लाएँ । “हाम्ले पनि दुई वर्षअघि जाने योजना बनाएका थियौं, तर ठ्याक्कै त्यहीबेला इजरायल र हमासबीच युद्ध भड्किएकोले जान सकेनौं,” शान्त स्वाभावका उनले एकछिन थामिएर भने, “सायद जाने सही समय अहिले होला ।” त्यो वाक्य सुनेपछि एकाएक मनभित्र चिसो पस्यो । युद्धविरामका प्रयासहरू चलिरहेका थिए, तर लडाइँ अझै थामिएको थिएन । * * * श्रीमती तेजस्वी, छोरी मेधावी र म ‘मृत सागर’ घुमिसकेर राति ‘वादी मुसा’ शहर पुग्यौं । होटेलको लबीमा भएको ट्राभल डेस्कमा भीड लागेको थियो । त्यो होटेलमा बस्ने धेरै पाहुनाहरू पेट्रा हेर्नकै लागि आएका रहेछन् । धेरैले भोलिपल्ट बिहान ६ बजे खुल्नासाथ त्यहाँ पुग्ने योजना बनाउँदै थिए । “सबेरै जाँदा गर्मी र भीड दुवै छल्न सकिन्छ,” ट्राभल डेस्कका कर्मचारी सुझाव दिँदै थिए । हामी सुत्न गयौं । थाकेको हुनाले होला, त्यो रात मज्जाले सुतियो । भोलिपल्ट बिहान करिब दस बजेतिर मात्र गेटमा पुग्यौं । टिकट किनेर करिब पन्ध्र मिनेट जति ग्राभेलको बाटो हुँदै हिँड्नुपर्ने रहेछ । त्यो खुला ठाउँमा फाट्टफुट्ट रूखबिरुवा भए पनि वातावरण भने मरुभूमिजस्तै लाग्थ्यो । अलि पर देखिने रातो र गुलाबी रङका ढुङ्गे पहाडहरू हामीलाई अङ्कमाल गर्न तम्तयार भएर उभिएका जस्ता देखिन्थे । हिँड्न नसक्ने वा हिँड्न नचाहनेहरूका लागि घोडाको व्यवस्था थियो । त्यहाँ मैले घोडा चढेर जानेभन्दा हिँडेरै जाने मानिसहरू धेरै देखेँ । उत्साहले भरिएको त्यो बाटोमा गर्मी चढिसकेको थियो, चर्को घामले सताइरहेको थियो । विस्तारै बाटो साँघुरिँदै गयो, अनि हामी सिक (सुरुङजस्तो साँघुरो खोँच) मा प्रवेश गर्न लाग्यौं । त्यसै क्षणदेखि पेट्राको असली जादू खुल्न थाल्यो । सिकको ढोकामै दुई बेदुइन (मरुभूमि–बासिन्दा) पुरुष हामीलाई स्वागत गर्न उभिएका थिए । दुवैले थोब भनिने अरब तथा मध्यपूर्वका पुरुषहरूले लगाउने खुट्टासम्म आइपुग्ने लामो परम्परागत पहिरन र टाउकोमा धातुको हेल्मेट लगाएका थिए । एक हातमा भालाजस्तो देखिने लाठी र अर्को हातमा तामाको ढाल बोकेका ती दुवैले खुट्टामा चप्पल लगाएका थिए । मैले फोटो खिचेर अलिकति डलर उनीहरूको हातमा थमाइदिएँ । सिकको प्रवेशद्वारबाट भित्र छिर्दा लाग्यो- म कुनै आधुनिक पर्यटक मार्ग होइन, इतिहासको कुनै गोप्य साँघुरो बाटोबाट भित्रिन लागेको छु । त्यो सिक करिब बाह्र सय मिटर लामो र ३ देखि १२ मिटर चौडा रहेछ । साँघुरो ठाउँमा मेधावी र मैले हात फैलाउँदा छुन सकियो । दुवैतर्फ ९०–१०० मिटर अग्ला चट्टानहरू ठडिएका थिए । चट्टानहरू रातो, सुन्तला, गुलाबी, मरुन र पहेँलो विविध रङका थिए । वर्षौं लगाएर बालुवाका तहहरूले बनाएको प्राकृतिक चित्रकला जस्तो देखियो । सिकभित्रबाट आकाश देखिन्थ्यो, तर केवल निलो धर्को जस्तो मात्र । चट्टानको उचाइ र साँघुरोपनाका कारण बिहानको घामको प्रकाश पनि आंशिक रूपमा मात्र भित्र पसेर भित्ताहरूको रङ झनै नाटकीय देखियो । प्रकृतिले त्यस्तो भव्य सुरुङ बनाएको देख्दा मेरो सोचाइको धरातल नै हल्लियो । प्रकृतिको कल्पनाशक्ति यति विशाल पनि हुनसक्छ भन्ने अनुभूति गर्नै गाह्रो भयो । त्यसो त प्रकृतिलाई बुझ्न त मेरो क्षमताभन्दा बाहिरको कुरा हो भन्ने कुरा राम्ररी बुझेको छु । हामी ढुङ्गा र बालुवाले बनेको साँघुरो बाटो हिँड्दै थियौँ । ठाउँ–ठाउँमा बस्ने बेञ्चको व्यवस्था गरिएको रहेछ । त्यो बाटो यति सुन्दर थियो कि फोटो हरेक पाइलामा खिच्न सकिन्थ्यो । कतैकतै अलिअलि ओसिलो ठाउँमा बोटबिरुवा पनि देखिए । चराचुरुङ्गी र जनावरहरू त देखिएनन्, तर चट्टानमा देखिएका फोहोरका धब्बाले उनीहरूको उपस्थिति जनाएको थियो । सिक सकिनासाथ आँखै अगाडि एकाएक खुल्ने त्यो भव्य, सुन्दर र अप्रत्याशित दृश्य संसारमा सायद अन्त कतै छैन होला । मलाई कसैले दुवै आँखा हातले छोपेर निकै पर लगेर एक्कासि हेर्न लगाए जस्तो लाग्यो । त्यो क्षण संसारकै सबैभन्दा नाटकीय प्रवेशमध्येको एक जस्तो लाग्यो मलाई । संसारका प्राय: सबै आकर्षणहरू अलि टाढाबाटै देखिन थाल्छन् । त्यो अचानक प्रकट हुने पूर्ण रूपमा ढुङ्गामै कुँदिएको मन्दिरजस्तै संरचनालाई ‘ट्रेजरी’ अथवा ‘खजाना घर’ भनिँदो रहेछ । चट्टानको गर्भ चिरेर उदाएको त्यो ट्रेजरी बाहिरबाट हेर्दा लाग्छ, त्यो कुनै देवालय हो, कुनै राजदरबार, वा कुनै दैवी शक्ति बस्ने आध्यात्मिक घर । तर यसको उद्देश्य बाहिरको भव्यताजत्तिकै मौन छ- यो नबाटियन राजाको समाधि, यात्रुहरूलाई विस्मयमा पार्ने गरी बनाइएको राज्यको प्रतिष्ठा-द्वार । त्यहाँ कुनै खजाना राखिएको थिएन र छैन पनि । बिहान एघार बजेतिरको सूर्यको कोणसँगै रङ फेरिने पत्थरले त्यो संरचनालाई क्षणक्षणमा नयाँ रूप दिइरहेको थियो- कहिले सुनौलो, कहिले गुलाबी, कहिले मरुन । ट्रेजरी घरको भित्ताहरू हेर्दा लाग्छ, प्राचीन नबाटियन सभ्यताका प्रत्येक इच्छा, रहस्य र चिन्तन ढुङ्गामै परिणत भएर यहाँ अडिएको छ । मैले त्यहाँ उभिँदा केवल वास्तुकला मात्र देखिनँ; हजारौं वर्षको मौन इतिहास देखेँ- विश्वास, व्यापार, मृत्युलोक र अमरता खोज्ने मानवीय प्रयासहरूका अडेसाहरू देखेँ । ट्रेजरीका भित्री कक्षहरू भने आश्चर्यजनक रूपमा शून्य रहेछन् । न कुनै मूर्ति, न कुनै भित्ताकला, न कुनै रङ । लाग्थ्यो, नबाटियनहरूलाई बाहिरी सौन्दर्य नै पर्याप्त थियो- राजालाई सम्मान दिन, देवता र मृतकबीचको सिमानामा कुनै पवित्र स्थान निर्माण गर्न र आफ्नो सभ्यताको सामर्थ्यलाई संसारभर गुञ्जाउन । त्यो अद्भूत करिश्मा निर्माण गर्ने हातहरू नबाटियन वास्तुकार र शिल्पीकारहरू थिए । त्यति ठूलो र अग्लो ढुङ्गा चारै कुना मिलाएर कुशलतापूर्वक कसरी काटियो होला ? केले काटियो होला ? म त के, विज्ञहरू पनि अचम्मित छन् । उनीहरूले माथिबाट तलतिर खोप्दै, वर्षौंसम्म हावाको दिशा, कठोर घाम र रातको चिसो सहेर, करिब एक दशकभन्दा बढी समय लगाएर यो भव्य अनुहार समयको काखमा सुम्पिदिए । ट्रेजरी घर केवल पेट्राको प्रतीक होइन; यो मानव कल्पना शक्तिको सीमाना कहाँसम्म पुग्न सक्छ भन्ने अनन्त सम्भावनाको मौन उद्घोष हो । मेरो दिमाग के कारणले पनि खल्बलियो भने, त्यस्तो आइडिया कसरी आयो? बीच–बीचमा म सकेसम्म तेजस्वीको टिकटकका लागि ‘क्यामेराम्यान’को भूमिकामा व्यस्त भएँ । दिन ढल्दासम्म करिब आधा दर्जनजति टिकटक रेकर्ड भइसकेको मैले मनमनै जोखें । मेधावी र मैले पनि एउटा टिकटक बनाउन भ्यायौं । प्राचीन कालदेखि नै मान्छेले ढुङ्गालाई बडो चतुरता र सुन्दरताका साथ प्रयोग गर्दै आएका छन् । पहिले ढुङ्गालाई गुफामा बस्न र हातहतियार वा औजारको रूपमा प्रयोग गरियो । पछि मन्दिर, दरबार, शहर, मूर्ति, सडक मात्र होइन- प्रतिमाहरू, शिलालेख, स्तम्भ, समाधि, चिहान र स्मारकहरू पनि बने । ढुङ्गाबाट बनेका बाँध, पोखरी, गरा भएका खेत, नाली, पुल, ढिकी/जाँतो आदिले कृषि र इन्जिनियरिङ विकासमा क्रान्ति ल्याए । संसारका सात आश्चर्यकै कुरा गर्ने हो भने पनि, सबैभन्दा पछि बनेको ब्राजिलको ‘क्राइस्ट द रिडिमर’ बाहेक अरू सबै आश्चर्यहरूको पूरै वा प्रमुख भाग ढुङ्गाले बनेका छन् । अचम्म लाग्ने कुरा, पेट्रामा एउटा भिन्नै सोचको प्रयोग गरिएको रहेछ । त्यहाँ ढुङ्गा ओसारेर कुनै संरचना बनाएको हैन, ढुङ्गा जहाँ छ त्यहिँ कुँदिएको रहेछ । नबाटियनहरूले हजारौं वर्ष पुराना रातो–गुलाबी चट्टानहरू सीधै कुँधेर मन्दिर, महल, पानीका नाली र पूरा शहर बनाएका थिए । त्यो बेला त्यसरी सोच्नु पनि ठूलो कुरा हो जस्तो लाग्यो मलाई, म त्यस सोचप्रति नतमस्तक भएँ । पेट्रा नबाटियन सभ्यताले करिब ईशापूर्व चौथौं शताब्दीमा स्थापना गरेको एक अद्वितीय चट्टान–नगरी हो । एकताका पेट्रा पूर्ण रूपमा विकसित प्राचीन शहर थियो- नबाटियन राज्यको राजधानी । आफ्नो उत्कर्षको समयमा यहाँ भव्य मन्दिर, शाही समाधि, रंगमञ्च, स्तम्भमय सडक, बजार, गोदाम, करभान बस्ने ठाउँ र अद्भूत पानी व्यवस्थापन प्रणाली रहेका थिए, जहाँ हजारौं बासिन्दा र यात्रुहरू आउजाउ गर्थे । धार्मिक र राजनीतिक रूपमा महत्वपूर्ण यो केन्द्र सुनियोजित संरचना, सडक र संस्थासहितको एक समृद्ध नगर थियो, मरुभूमिको बीचमा उभिएको अत्याधुनिक चट्टानी शहर । यो शहर प्राचीन विश्वको प्रमुख व्यापारिक केन्द्रमध्ये एक थियो, जहाँ अरबियाबाट आउने धूप–सुगन्ध, भारतका मसला र चीनका रेशमी सामान लिएर व्यापारीहरू आउजाउ गर्थे । त्यो उराठ मरुभूमिमा पानी कसरी र कहाँबाट आयो भनेर म छक्क परेको थिएँ । मरुभूमिमा बसेको भए पनि पेट्रामा नबाटियनहरूले बाँध, नाली, जलाशय र च्यानलमार्फत वर्षाको पानी संकलन गरी शहरलाई हराभरा राखेका रहेछन् । भनिन्छ- उनीहरूले संसारको एउटा अत्यन्तै उन्नत पानी प्रणाली विकास गरेका थिए । रोमन साम्राज्यले ईश्वी सम्वत् १०६ मा यसलाई आफ्नो प्रान्तमा समेटेपछि पेट्रा अझ विकसित भए पनि, व्यापार मार्ग परिवर्तनसँगै यसको महत्त्व क्रमशः घट्दै गयो र मध्ययुगतिर यो शहर संसारबाट लगभग हरायो । १८१२ मा स्वीस अन्वेषक जोहान बर्कहार्टले ‘हराएको शहर’ पुनः पत्ता लगाएपछि पेट्रा पुनः विश्वको आँखामा पर्यो, र आज यो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत, मध्यपूर्वको सबैभन्दा आकर्षक ऐतिहासिक तथा पुरातात्त्विक स्थलमध्ये एक बनेको छ । चाखलाग्दो कुरा त पश्चिमी संसारका लागि शताब्दीयौंसम्म हराएर भेटिएको भए पनि स्थानीयका लागि भने कहिल्यै हराएको रहेनछ त्यो ऐतिहासिक ठाउँ । उनीहरू त्यहाँ बस्थे तर कसैलाई बताएनन् । बाहिरी मानिसलाई प्रवेश गर्न नदिने नियम थियो । बुर्कहार्ट भने भेष बदलेर कुरबानी चढाउन चाहने मुस्लिम तीर्थयात्री भएको भान गरेर त्यहाँ गएका थिए । त्यसपछि हामी एम्फिथिएटर हेर्न गयौं । त्यो एम्फिथिएटर पनि संसारका अन्य रोमन एम्फिथिएटरसँग मिल्दोजुल्दो रहेछ, तर यसको विशेषता भनेको यो पूरै पहाड काटेर बनाइएको छ, ढुङ्गाभित्रै कोरिएको एक अद्भूत संरचना । झण्डै पाँच हजार मानिस बस्न सक्ने त्यो एम्फिथिएटरले त्यो बेलाको जनसंख्या र सांस्कृतिक समृद्धिको सङ्केत गर्छ । आज पनि त्यही ढुङ्गाका सिँढीमा उभिँदा पुरानो नाटक, आवाज र तालीहरूको प्रतिध्वनि सुन्ने अनुभूति हुन्छ । त्यसपछि हामी पुग्यौं- फसाडहरूको गल्ली । पहाडका अग्ला भीरहरूलाई काटेर बनाइएका अनगिन्ती घर–झैं देखिने ढुङ्गाका फसाडहरूले यो गल्लीलाई पहिरनजस्तै सुन्दर बनाएका छन् । त्यो गल्लीबाट हिँड्दा लाग्थ्यो- समय आफैं चट्टानको छायामा सुस्तरी बगिरहेको छ । हाम्रो अर्को स्टप थियो शाही समाधिहरू । त्यहाँ राजाहरूको स्मृतिमा काटिएका अग्ला ढुङ्गाका महलजस्ता समाधिहरू थिए । ती समाधिहरू उच्च स्थानमा रहेकाले त्यहाँबाट पेट्रा उपत्यकाको मनमोहक दृश्य पनि गज्जबले देखियो । त्यही दृश्य–बिन्दुबाट एम्फिथिएटरको बृहत् आकार सुन्दर रूपमा देखियो । अन्तमा हामी स्तम्भमय सडक घुम्यौं । रोमन प्रभाव झल्किने त्यो स्तम्भमय सडक पेट्राको व्यापारिक र प्रशासनिक केन्द्र रहेछ । त्यो सडकमा हिँड्दा एक समयमा यहाँको चहलपहल र यात्रुहरूको आवाज कल्पनामा बग्छ । यो सडकले पेट्राको सुनौलो युगमा शहर कति व्यवस्थित र सम्पन्न थियो भन्ने कथा सुनाउँछ । हामी मोनास्ट्री (एडदेइर) भनिने ठूलो मठ सबैभन्दा टाढा भएकोले गएनौं । दूरी र कठिन यात्राका कारण त्यो यात्रा अर्को पटकका लागि छोड्यौं । पेट्रा भिजिटर सेन्टरदेखि एडदेइरसम्म करिब साढे तीनदेखि चार किलोमिटर जति एकतर्फी दूरी रहेछ । अन्तिम भागमा करिब ८५०–९०० वटा ढुङ्गाका भर्याङ चढ्ने निकै उकालो बाटो छ भन्ने सुनियो । हामीमध्ये कोही पनि त्यसका लागि तयार थिएनौं । हामी तीनै जना हिँड्दा–हिँड्दा थाकिसकेका पनि थियौं । त्यही वरिपरि घुम्न उँटहरू पनि उपलब्ध थिए । फर्कंदा गल्फ कार्ट लिने कि भन्ने कुरा पनि चल्यो तर हामी हिँडेरै फर्कियौं । फर्किने बाटो उही थियो । त्यो पूरै शहरमा इस्लामिक र क्रिस्चियन धर्मको छाप देखिन्थ्यो । आज त्यो ठाउँमा कुनै धार्मिक अनुष्ठान हुँदैन, तर धेरै यात्रुहरू पेट्रालाई आध्यात्मिक स्थल मान्छन् । विशाल चट्टान, मौनता र कालान्तरमा सभ्यता बगेको दृश्यले आत्ममन्थन गराउँछ । ती दृश्यहरू देख्दा एक किसिमको आध्यात्मिक एकान्तता महसुस हुन्छ । पुरातात्त्विक सम्पदा जोगाउने प्रयास र पेट्रामा बस्ने वा त्यहाँ निर्भर स्थानीय बेदुइन समुदायको रोजगारी, घोडा/ऊँट सवारी, पसल, गाइड जस्ता कामबीच सन्तुलन मिलाउनु आजको आवश्यकता रहेछ । आज पेट्राभित्र स्थायी रूपमा कोही बस्दैन, तर वरपरको बस्तीमा बस्ने स्थानीय बेदुइन समुदायको जीवन अझै पनि पेट्रासँग गहिरो रूपमा जोडिएको छ । पहिले उनीहरू पेट्राका गुफा र चट्टानी घरमै बसोबास गर्थे, तर पछि लागु गरिएका संरक्षण नीतिअनुसार सरकारको योजनाबाट उनीहरू बाहिर सारिए । अहिले भने ती स्थानीयले गाइड, घोडा–ऊँट–गधा सवारी, हस्तकला पसल र साना व्यवसायमार्फत परिसरभित्रै काम गर्छन्, जसले उनीहरूको आजीविका र पहिचान दुवैलाई यो प्राचीन शहरसँग निरन्तर बाँधिराखेको छ । आजसम्म पनि पेट्रामा पुरातात्त्विक उत्खनन् जारी छ । अझै धेरै कुरा सतहमुनि लुकेको अनुमान छ । जताततै त्यस्ता ठाउँ देखिन्छन्- आधा उत्खनन् भएका, अझै खोजिन बाँकी रहस्यमयी कोठाहरू । सिक काटेर निस्किँदा दाहिनेपट्टि घोडा लिएर केही मान्छेहरू बसेका थिए । ‘आउनुस्, आउनुस् सित्तैंमा घोडा चढ्नुस्’ भन्दै थिए । सुनेअनुसार उनीहरू राम्रै टिप्स पाइन्छ भन्ने आशामा त्यसो भनिरहेका थिए । हामी बाहिरियौं । टिकटिङ अफिसबाट केही मिनेटको दूरीमै रहेको केभ बार (Cave Bar) संसारकै सबैभन्दा पुरानो बार मानिदो रहेछ । त्यो बारको इतिहास करिब दुई हजार वर्षअघि नबाटियनहरूले बनाएका चट्टानी गुफासँग जोडिएको छ । रातो–गुलाबी ढुङ्गाको भित्ताभित्र काटिएको त्यो गुफा कुनै समय यात्रुहरू विश्राम लिने आश्रयस्थल थियो । तर आज आधुनिक बत्ती, मधुर संगीत र स्थानीय पेयहरूले पुरानो र नयाँ समयलाई एउटै ठाउँमा भेट गराउँछ । गुफाको चिस्यान, ढुङ्गाको सुगन्ध र बाहिरबाट पस्ने हल्का प्रकाशले यहाँ बसेर पिएको एक कप चिया वा कफीलाई पनि इतिहासको स्वाद भरेको क्षण बनाइदिन्छ । होटेल फर्किंदा लाग्यो, महान् सभ्यताहरू धन–संशाधनले होइन, कल्पना शक्ति र सिर्जनात्मकताले उठ्छन्; नबाटियनहरूले मरुभूमिको कठोर भूगोललाई कला, पानी व्यवस्थापन र वास्तुकलाले जिते जस्तै । एक समय शक्तिको केन्द्र रहेको पेट्रा आज भग्नावशेष बनेर प्रकृतिको मौनतामा फर्किएको छ- मानव वैभव क्षणिक हुन्छ, प्रकृति दीर्घकालीन भन्ने सन्देश दिएर । साँझपख हामी पेट्राकै स्थानीय घरमा भोजनका लागि गयौं । आजको रात्री भोजन थियो चिकन मक्लुबा- जसको नामको अर्थ नै ‘उल्टो गरिएको’ भन्ने हुन्छ । भात, तरकारी र माछा/मासु एकसाथ पकाएर, अन्त्यमा भाँडालाई उल्ट्याएर प्लेटमा झारिन्छ र दहीसँग खाइन्छ । सरल तर असाध्यै स्वादिष्ट स्थानीय परिकार । * * * घर फर्किंदा स्थानीय एयरपोर्टबाट हातमा झोला च्यापेर म बाहिरिएँ । उबर आइसकेको रहेछ । कारको ढोका खोलेर भित्र पस्नासाथ चालकले ‘कैसे हो ?’ भनेर सोधे । दक्षिण एसियाली जस्ता नदेखिने ती चालकले हिन्दी बोलेको सुन्दा म अचम्मित भएँ । ‘बढिया… आप कहाँ से है ?’ भनेर सोधिहालेँ । उनी अफगानिस्तानका रहेछन् । पन्ध्र वर्षको उमेरमै इरान गएर त्यहाँ सत्र वर्ष काम गरेर केही वर्षअघि मात्र अमेरिका आएका रहेछन् । इरानमा हुँदा उनले लुकी–लुकी बलिउड फिल्महरू त्यो बेलाको क्यासेटमा हेरेर हिन्दी बोल्न सिकेको आफ्नो रोचक कथा सुनाए । आधा बाटो काटेपछि मैले सोधेँ, “अफगानिस्तान रमाइलो कि अमेरिका ?” उनको छोटो जवाफ थियो, “अमेरिका, टु मच ।” “किन ?” भनेर फेरि जिज्ञासा राखेँ ।उनले आफ्नो पुरानो टोयोटा गाडीतर्फ इशारा गर्दै भने, “अफगानिस्तानमा मेरो गधा थिएन, यहाँ छ ।” उनी दिनको सोह्र घण्टा उबर चलाउँदा रहेछन्, परिवारको एक्लो आयश्रोत । घर छोड्ने बेलामा उनले मलाई उदीतनारायण र अल्का याग्निकले गएको राजा हिन्दूस्तानी फिल्मको गीत अफगानी शैलीमा गाएर सुनाए । आए हो मेरी जिन्दगी में, तुम बहार बन के; आए हो मेरी जिन्दगी में, तुम बहार बन के; मेरे दिल में यूँ ही रहना हाय, मेरे दिल में यूँ ही रहना; तुम प्यार प्यार बन के । The post गुलाबी चट्टानभित्र भेटिएको शहर ‘पेट्रा’ appeared first on साहित्यपोस्ट.