Redirecting...

अमेरिकी आक्रमणबाट भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु - bishwokhabar.com

अमेरिकी आक्रमणबाट भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु - bishwokhabar.com
Source: bsbk

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्ने उद्देश्यले गरिएको अमेरिकी सैन्य आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ । तर, ह्वाइट हाउस वा पेन्टागनले हालसम्म मृतकको संख्या वा सैन्य कारबाहीको पूर्ण विवरणबारे औपचारिक पुष्टि नगरेको न्यूयोर्क टाइम्सले जनाएको छ । मृतकमध्ये सर्वसाधारण नागरिक र सैनिक दुवै रहेको उल्लेख गरिएको छ । नाम नखुलाउने सर्तमा एक वरिष्ठ भेनेजुएलाली अधिकारीलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टमा भनिएको छ, ‘आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’ अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणअघि भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्न व्यापक हवाई कारबाही गरिएको थियो । त्यसपछि स्थलसेनालाई परिचालन गरिएको थियो । रिपोर्टमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनिएको छ, ‘हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पार्न १५० भन्दा बढी अमेरिकी विमान परिचालन गरिएका थिए, ताकि सैनिक हेलिकप्टरमार्फत मादुरो रहेको स्थानमा हमला गर्न सकियोस् ।’ अमेरिकी सेनाले शनिबार बिहानै राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नभएसम्म त्यहाँको प्रशासन सञ्चालन गर्ने बताएका छन् । यसैबीच, न्युयोर्कको साउदर्न डिस्ट्रिक्टस्थित संघीय अभियोजक कार्यालयले शनिबार बिहानै अभियोगपत्र सार्वजनिक गर्दै मादुरो र फ्लोरेसलाई ‘टनौं कोकिन’ अमेरिकामा तस्करी गरेको लगायतका विभिन्न अपराधमा संलग्न भएको आरोप लगाएको छ । आक्रमणका आलोचकहरूले यसले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको, अमेरिकी संसद्लाई बाइपास गरिएको तथा भेनेजुएला र आसपासको क्षेत्र थप अस्थिर बन्ने जोखिम बढाएको चेतावनी दिएका छन् ।