तराईमा तीन दिनसम्म हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना - taksarnews.com
काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म तराई क्षेत्रमा हुस्सु र कुहिरोको प्रभाव कायमै रहने जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ, केही उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मंगलबार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने अनुमान गरिएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि तराईका धेरै स्थानमा हुस्सु लाग्ने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहनेछ। बुधबार दिउँसो पनि तराईका अधिकांश भू–भागमा हुस्सु तथा कुहिरो यथावत् रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति तराईका धेरै स्थानमा हुस्सु लाग्ने र पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यसैगरी बिहीबार दिउँसो र राति दुवै समयमा तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।