माओवादी जेन्जीले ५ वर्षसम्म प्रचण्डको विकल्प नखोज्ने - bishwokhabar.com
काठमाडौं– नेकपा (माओवादी केन्द्र) निकट जेनजीहरूले ‘जेनजेड रेड फोर्स’ गठन गरेका छन् । अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको संयोजकत्वमा शनिबार गठन भएको यो फोर्स चार दिनमै ४० जिल्लासम्म फैलिसकेको छ । संयोजक तिमिल्सिनाले भनिन्, ‘शनिबार गठन भएको फोर्सको प्रभाव देशभर पुगेको छ । ४० जिल्लामा संयोजक तोकिसक्यौं, बाँकी जिल्लामा पनि छिट्टै विस्तार गर्छौं ।’ उनका अनुसार यो अभियान उनले नै सुरु गरेकी हुन् र अहिले हजारौं जेनजी युवा यसमा संलग्न छन् । रेड फोर्सले असोज २९ गते पत्रकार सम्मेलन गरी आफ्नो आधिकारिक घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । तिमिल्सिनाका अनुसार पार्टीभित्र बढ्दो गुटबन्दीले माओवादी कमजोर हुँदै गएको देखेपछि उनले सुधार अभियान सुरु गरेकी हुन् । ‘पार्टीलाई फेरि चाइनाको जस्तै कम्युनिस्ट पार्टी बनाउन सकिन्छ भन्ने सोचले फेसबुकमा आह्वान गरेँ, केही घण्टामै सयौं कल र हजारौं समर्थन आयो,’ उनले भनिन् । उनले पार्टीभित्र चरम व्यक्तिवाद हावी भएको आरोप लगाउँदै भनिन्, ‘संगठनभन्दा व्यक्ति ठूलो बनाउने प्रवृत्ति हावी छ, जसले बोल्यो उसको राजनीति समाप्त पारिन्छ ।’ तिमिल्सिनाले जनमुक्ति सेनाका पूर्व लडाकु र शहीद परिवारलाई पुनः पार्टीमा फर्काउने अभियान पनि रेड फोर्सले सञ्चालन गर्ने बताइन् । उनका अनुसार माओवादीले १७ हजार मानिस मारेको भन्ने भ्रम फैलाइएको छ । वास्तवमा १३–१४ हजार माओवादी कार्यकर्तालाई राज्य पक्षले मारिसकेपछि त्यसको प्रतिवादमा केही अन्य मृत्यु भएका हुन् । संयोजक तिमिल्सिनाले अझै पाँच वर्ष प्रचण्डकै नेतृत्व रहनुपर्ने बताउँदै भनिन्, ‘देशभरबाट आएको सुझाव यही छ, अझै पाँच वर्ष प्रचण्डकै नेतृत्वमा पार्टी अघि बढोस्, त्यसपछि जेनजी पुस्ताले नेतृत्व सम्हाल्ने तयारी गर्छ ।’ उनले जनार्दन शर्मा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायतका नेताहरूले गुट बनाएर पार्टी कमजोर पारेको आरोप लगाइन् ।