Redirecting...

एमाले महाधिवेशन : फेक तस्बिर भाइरल, जेनजी आन्दोलनलाई हिंसाको संज्ञा - pahichan.com

एमाले महाधिवेशन : फेक तस्बिर भाइरल, जेनजी आन्दोलनलाई हिंसाको संज्ञा - pahichan.com
Source: phcn

काठमाडौँ – नेकपा एमालेको ११ औँ महाधिवेशन जेनजी आन्दोलनलाई हिंसा र युद्धको रूपमा अर्थ्याउने सामूहिक मञ्च बनेको छ। जेनजी आन्दोलनको बलबाट बनेको सरकार र फागुन २१ गतेका लागि घोषित चुनावलाई अवैधानिक घोषणा गर्नेदेखि सर्वपक्षीय सरकार गठनको नारा एमाले महाधिवेशनबाट घन्किएको छ। विदेशी पाहुनालाई निम्तो नै नदिएको एमालेले १६ राजनीतिक दलका प्रतिनिधिलाई भने महाधिवेशनको मञ्च उपलब्ध गराएको छ। संसद् पुनर्स्थापना गर्नुपर्ने नारा आधा भक्तपुर घन्किने गरी सुनाइएको छ। महाधिवेशन ठुलो जनसमूह देखाउन एआई प्रविधिबाट निर्मित फेक तस्बिर सामाजिक सञ्जालमा भाइरल गराइएको तथ्य सार्वजनिक भएको छ। उक्त फेक तस्बिर भाइरल भएपछि महाधिवेशनको वास्तविक विषयवस्तु छायामा परेको छ। करिब तीन घण्टा चलेको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य दलका प्रतिनिधिहरूले जेनजी आन्दोलनलाई हिंसा र युद्धको रूपमा अर्थ्याए। जेनजी आन्दोलनका कारण बालुवाटारबाट ज्यान जोगाउँदै भाग्न बाध्य भएका तत्कालीन प्रधानमन्त्री ओलीले सरकारले चुनाव गराउन नचाहेको आरोप लगाए। संसद् पुनर्स्थापना गरेर संविधानलाई ट्र्याकमा ल्याइने जिकिर ओलीले गरे। https://pahichan.com/wp-content/uploads/2025/12/kp-oli-4.mp3 ओलीले वैधानिक सरकार गठन भएपछि मात्र चुनाव हुन सक्ने बताए। चुनावका लागि अहिलेको सरकारले गर्नुपर्ने काम एकातिर राखेर अर्कै काम गरिरहेको विवरण ओलीले सुनाए। https://pahichan.com/wp-content/uploads/2025/12/kp-oli-5.mp3 ओलीले जेनजी आन्दोलनका माग र आन्दोलनको तयारी स्वाभाविक भए पनि घुसपैठका कारण अकल्पनीय परिस्थिति सिर्जना भएको निष्कर्ष सुनाए। जेनजी आन्दोलनमा प्रधानमन्त्री र मन्त्री हेलिकप्टर चढेर भागे भन्ने आरोपको जवाफ दिँदै ओलीले महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर लगाइएको आगोसँग तुलना गरे। अपराधीको षड्यन्त्र पराजित गर्न भागिएको दाबी उनले गरे। महाधिवेशनमा शुभकामना दिन पुगेका विभिन्न दलका नेताहरूले ओलीको बोलीमा लय मिलाउँदै अभिव्यक्ति दिए। पहिलो पटक चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि वर्तमान सरकार अवैधानिक रहेको टिप्पणी गरे। सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर चुनावमा जानुपर्ने आवश्यकता उनले औँल्याए। https://pahichan.com/wp-content/uploads/2025/12/Biplab-1-1.mp3 राष्ट्रिय स्वाधीनताका लागि एमालेसँगै रहेको दाबी गर्दै विप्लवले जेनजी आन्दोलन विदेशीको इशारामा भएको आरोप लगाए। https://pahichan.com/wp-content/uploads/2025/12/Biplab-2.mp3 एमाले महासचिव शङ्कर पोखरेलले पार्टी अध्यक्ष ओली नेतृत्वको सरकार षड्यन्त्र गरेर ढालिएको भन्दै फेरि उठ्ने बताए। https://pahichan.com/wp-content/uploads/2025/12/Shankar-pokhrel-1.mp3 उपमहासचिव प्रदीप ज्ञवालीले एमाले अनेक धक्का चिरेर पनि धरहरा जस्तै उठ्ने दाबी गरे। https://pahichan.com/wp-content/uploads/2025/12/pradip-ghyawali-1.mp3 एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरू भने उपस्थित भएनन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १६ वटा पार्टीका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको थियो। एमाले महाधिवेशनको निम्तो मान्न पुगेका कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश जटिल अवस्थामा प्रवेश गरेको भन्दै जेनजीदेखि पुराना पार्टीसम्म सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। https://pahichan.com/wp-content/uploads/2025/12/Purna-bdr-1.mp3 राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सहकारीको रकम अपचलनको आरोपमा हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको बचाउ गरे। पाँचवटा जिल्ला अदालतले दोषी ठहर गरी हिरासतमा पुगेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको तर्क गर्दै बुर्लाकोटीले जनताको आँखामा छारो हाल्ने अभिव्यक्ति दिए। कांग्रेस, एमालेदेखि राप्रपासम्मका नेता सहकारी मुद्दामा हिरासतमा पुगे पनि बुर्लाकोटीले आफ्ना पार्टीका सभापति मात्रै निर्दोष रहेको दाबी गरे। https://pahichan.com/wp-content/uploads/2025/12/Kabindra-1.mp3 उद्घाटन समारोहमा १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक सङ्घ–संस्थालाई बोलाइएको थियो। यस महाधिवेशनलाई एमालेका नेता तथा कार्यकर्ताहरूले राजनीतिक उत्सवको रूपमा लिएका छन्। महाधिवेशनमा सहभागी हुन आएकाहरूलाई उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको थियो। सहभागीलाई बस्न खुला चौरमा २० हजार कुर्सी राखिएको थियो। कार्यक्रम व्यवस्थापनका लागि ५०० भन्दा बढी स्वयंसेवक ड्रेसकोडसहित खटिएका थिए। महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ। बन्दसत्रले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनका लागि एमालेले १०८ जना प्रतिनिधि मनोनीत गरेको छ। मनोनीत प्रतिनिधिको सूचीमा भने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असहमति जनाएका छन्। एमाले नेता तथा कार्यकर्ता भक्तपुरमा भेला भइरहँदा नेपाली कम्युनिस्ट पार्टीले सुर्खेतमा उस्तै उपस्थिति देखाउने प्रयास गरेको छ। कर्णाली प्रदेशस्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका शीर्ष नेताहरूले एमाले महाधिवेशनको सन्दर्भ जोड्दै ओली बाहेकका नेतासँग एकता र सहकार्यको प्रयास भइरहेको बताएका छन्। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेभित्रका धेरै नेताहरू आफूहरूसँग एकता संवादमा रहेको दाबी गरे। १६ वटा कम्युनिस्ट पार्टीलाई मिलाएपछि एमाले नेताहरू पनि संवादमा रहेको जिकिर प्रचण्डले गरे। https://pahichan.com/wp-content/uploads/2025/12/prachand-1.mp3 प्रचण्डले माधव नेपालसँग २०४० को दशकदेखि कम्युनिस्ट एकताका लागि छलफल र पहल थालेको भन्दै अहिले अकस्मात् नमिलेको बताए। अर्का नेता झलनाथ खनालले सबै कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आह्वान गरे। एउटा देशमा सर्वहारा श्रमिक वर्गको पार्टी एउटा मात्रै हुने खनालको तर्क छ। https://pahichan.com/wp-content/uploads/2025/12/Jhalanatha-1.mp3