सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध - www.palikalive.com
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै यस सिजन उपाधि जितेको हो । सुदूरपश्चिम भने गत सिजन पनि जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रन (एनपीएल इतिहासकै कम स्कोर) को लक्ष्य लुम्बिनीले ८.६ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जवाफी ब्याटिङमा आएको लुम्बिनीले धुँवादार सुरुवात गर्यो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै लुम्बिनीका ओपनर दिनेश अधिकारीले २७ रन ठोके । त्यसक्रममा उनले ४ छक्का प्रहार गरे । अधिकारीले समग्रमा ४२ रन जोडे । अर्का ओपनर डी’आर्सी सर्टले १४ रन जोडे । कप्तान रोहितकुमार पौडेलले १६ रन बनाउँदा निरोशन डिकवेलाले रन जोडे । सुदूरपश्चिमका लागि हेमन्त धामीले दुई विकेट लिए । ऐरी र अभिनाश बोहराले एक-एक विकेट लिए । तर, जितका लागि पर्याप्त हुन सकेन । यसअघि टस जितेर लुम्बिनीविरूद्ध ब्याटिङ थालेको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट हुँदै ८५ रनमा रोकिएको थियो । सुदूरपश्चिमलाई सामान्य स्कोरमा रोक्न लुम्बिनीका कप्तान पौडेलले ह्याट्रिक विकेट लिए । जारी लिगमा दोस्रो ह्याट्रिक भएको हो । उनले १०.४, १०.५ र १०.६ औँ ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोरा र पुनित मेहराको विकेट लिए । ऐरी १३ रन बनाएर आउट हुँदा अन्य दुई जना डकआउट भए । सुदूरपश्चिमका ओपनर इशान पाण्डेले टोलीको इनिङ्स उकास्न ५१ बलमा ३३ रनको योगदान गरे । अर्का ओपनर विनोद भण्डारी डकआउट हुन पुगे । सेल्डन ज्याक्सन १ रन बनाएर आउट हुँदा आरिफ शेख एक चौका प्रहार गर्दै ६ रन बनाएर पेभेलियन फर्किए । पाण्डेलाई केही समय राम्रो साथ दिएका हर्मित सिंह १० रन बनाएर आउट भए । स्कट कुगेलेइजनले १० रन जोडे । हेमन्त धामीले ७ रन बनाउँदा अभिनाश बोहराले १ रन जोडे । उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनीका पौडेल, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानको नाममा तीन-तीन विकेट रह्यो भने तिलक भण्डारीले एक विकेट लिए । The post सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध appeared first on Palika Live.