Redirecting...

वर्षाले उदयपुरको मुसहर बस्ती डुबानमा - nagariknews.nagariknetwork.com

वर्षाले उदयपुरको मुसहर बस्ती डुबानमा - nagariknews.nagariknetwork.com
Source: ngrk

१४ घण्टा लामो अविरल वर्षाले उदयपुरमा मुसहर (सदा) बस्ती विस्थापित भएको छ भने जताततै डुबान र कटानले क्षति गरेको छ । राति ७ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म लगातार भएको वर्षाले त्रियुगा नगरपालिका १३ स्थित मुसहर बस्ती डुबानमा पर्दा ४ घरधुरी परिवार विस्थापित भएका छन् ।होचो ठाउँमा रहेको मुसहर बस्ती डुबानमा परेपछि त्यहाँ बस्दै आएका सदा परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। रातिदेखि नै डुबानमा पर्दै गएको खबर पाएपछि प्रहरीको सहयोगमा सुरक्षित ठाउँमा उनीहरुलाई अस्थायी रुपमा बस्ने गरी स्थानान्तरण गरिएको त्रियुगा १३ का वडाध्यक्ष नविन चौधरीले बताए ।वर्षाले त्रियुगा १३ कै बरुवापुल छेउमा रहेको पूर्वपश्चिम बरुवा बसपार्क पुरै जलमग्न भएको छ । बसपार्क जलमग्न हुँदा त्यहाँ रहेका जिल्ला ट्राफिक कार्यालय, कार्यालय परिसरमा पार्किङ गरेर राखिएका एम्बुलेन्स, जेसिबी, अन्य गाडीहरू राखिएका टिकट काउन्टरहरू पनि डुबेका छन् । डुबानले ट्राफिक कार्यालय आउजाउ नै बन्द भएको छ । सदरमुकाम गाईघाटका होचा भू-भागका बजार, पसल र सडकहरू सबै डुबानमा पारेको छ । त्रियुगा नगरपालिका ११ गाईघाट बजारकै पुराना घरहरू जो पछि बनाइएका नालाभन्दा होचा छन् सबै डुबेका छन् । अविरल वर्षाले निर्माणाधीन गाईघाट बजार आसपासको सडक नालाहरू पनि क्षति गरेको छ । विश्व बैङ्कको ऋण सहयोगमा ११ नं. गाईघाट, १० नं. बोक्से, १२ पुराना गाईघाट र १३ नंं वडाका बहेडवा, लक्ष्मीपुरका सडक नालाहरूमा क्षति पुर्‍याएको छ ।जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि नै भइरहेको वर्षाले बिहान २ः०० त्रियुगा नदीमा उच्च सतह पार गरिसकेको भन्दै आइतबार बिहानदेखि सतर्क रहन सूचना जारी गरेको छ । सबै व्यक्तिको मोबाइलमा सन्देश पठाउँदै विभागले त्रियुगाको जल सतह उत्कर्षमा पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आव्हान गरेको छ ।विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले यस्तो सम्भावित क्षतिबारे सतर्क हुँदै एक महिनाअघि नै आवश्यक तालिम, यन्त्र उपकरण र जनशक्तिसहितको तयारी गरेर बसेको बताए । उनले डुबान र कटान तथा बाढी पहिरोको क्षति हुन नदिन र भएको ठाउँमा तत्काल उद्धार गरी आवश्यक उपचार र क्षति विवरण संकलन गर्न सुरक्षाकर्मी खटाइने बताएका छन् ।