पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, ट्राभलका ६ सञ्चालक पक्राउ - www.pardafas.com
नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए । आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख केसीले करिब साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान अघि बढाइएको बताए । पर्यटकको फेक रेस्क्यू कागजात बनाएर ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सुभास केसी रहेका छन् । सीआईबीका प्रमुख एआईजी मनोज केसीअनुसार तीन वटा कम्पनीमार्फत फेक रेस्क्यू गर्ने गरेको अनुसन्धानबाट खुलेको हो । माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको केसीले बताए । अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकबाट प्राप्त एक हजारभन्दा बढी कारोबारको विवरण अध्ययन गरिएको उनले बताए । केसीका अनुसार प्रारम्भिक चरणमा ‘माउन्टेन रेस्क्यु सर्भिस’ का १ हजार २४८ वटा कारोबारमध्ये १७१ वटा शंकास्पद देखिएका छन् ।यस्तै, ‘नेपाल चाटर्ड सर्भिस’ का ४७१ कारोबारमध्ये ७५ वटा शंकास्पद रहेको पाइएको छ । अनुसन्धानका क्रममा करिब तीन करोड रुपैयाँ बराबरको शंकास्पद ट्रान्जेक्सन देखिएको सीआईबीले जनाएको छ । उनले भने, ‘साढे दुई महिनाभित्रमा हामीले फेक रिर्सच सम्बन्धि एउटा छुटै युनिट कार्यदल बनाएर कार्य गर्यौं । हजार भन्दा बढी राष्ट्र बैंकबाट प्राप्त रमकहरुको अनुसन्धान गर्यौं । डाटाहरु हेर्दा पहिलो चरणमा माउन्टेन रेस्क्यु सर्भिस भन्नेले १२४८ वटा मध्ये एक सय ७१ वटा शंकास्पद देखियो । नेपाल चाटर्स सर्भिसले ४७१ मा ७५ जना शंकास्पद् छ । लगभग तीन करोड चाँही शंकास्पद् ट्रान्जेक्सन देखिएको अवस्था छ । धेरै समय र धेरै अनुसन्धान गर्यौं । हामीसँग प्रमाण भएको कुरा कानुनी दायरामा ल्याउनुपर्छ भनेर लागेका छौं । नक्कली उद्धार अहिले पनि भइरहेको छ । पहिला मात्रै होइन ।’ उनले नक्कली उद्धारको गतिविधि विगतमा मात्र नभई हाल पनि भइरहेको दाबी गर्दै यसप्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि अनुसन्धानलाई निरन्तरता दिइने बताए ।