Redirecting...

विपद्पछि पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह - ukaalo.com

विपद्पछि पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह - ukaalo.com
Source: uklo

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राकृतिक विपद्का बेला पानीजन्य रोगको जोखिम बढ्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपद्का समयमा तत्काल चोटपटक र भौतिक क्षति देखापरे पनि त्यसपछि पानीजन्य तथा अन्य संक्रामक रोग देखिने भएकाले सचेत रहन आग्रह गरेका हुन्। डा. बुढाथोकीका अनुसार प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई पखाला र हैजाजस्ता पानीजन्य रोगका साथै डेंगी र मलेरियाजस्ता कीटजन्य रोग पनि बढ्न सक्छन्। यी रोगसँग सम्बन्धित लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान मन्त्रालयले अनुरोध गरेको छ। यस्तै, विपद्मा परेकाहरूले राम्रोसँग खान र बस्न नपाएका कारण खानासम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक रोगसमेत देखिन सक्ने उनले बताए। मन्त्रालयले प्राकृतिक विपद्पछि स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन आवश्यक सचेतना फैलाउन आग्रह गरेको छ। आपत्कालीन अवस्थामा स्वास्थ्य संस्थामा जानुपरेमा मन्त्रालयले तालिमप्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको व्यवस्था गरेको छ। एम्बुलेन्स सेवाका लागि हटलाइन १०२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। स्वास्थ्यसम्बन्धी कुनै समस्या वा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। मन्त्रालयले निरन्तर वर्षाका कारण जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।