तारादेवी सुनुवारको सन्देशमूलक गीत ‘रातो सारी’ (भिडियो) - pahichan.com
काठमाडौँ-साहित्यकार तथा गीतकार तारादेवी सुनुवारले आउँदै गरेको तिज पर्वको अवसर पारेर सन्देशमूलक तिज गीत ‘रातो सारी’ सार्वजनिक गरेकी छन्। समाजमा बढ्दो विकृति, पारिवारिक विखण्डन, अस्वस्थ खानपान र गाउँ–घरप्रति बढ्दै गएको वितृष्णालाई चिर्दै घर, परिवार, आफन्त र समाजलाई एकताको सूत्रमा बाँध्ने सन्देश गीतले बोकेको छ। गीतको शब्द रचना तथा स्वर तारादेवी सुनुवारकै रहेको छ भने गायिका कल्पना सुनुवारले स्वरमा साथ दिएकी छन्। योगेश काजी शाहको सङ्गीत र एरेञ्ज रहेको उक्त गीतको भिडियोमा लोकप्रिय कलाकार ममता मगरले अभिनयसहित आकर्षक नृत्य प्रस्तुत गरेकी छन्। भिडियोको निर्देशन कल्पना सुनुवारले गरेकी हुन् भने कोरियोग्राफी माधव श्रेष्ठको रहेको छ। गीतले पछिल्ला वर्षहरूमा तिजमा देखिएको भड्किलोपनको प्रवृत्तिलाई समालोचना गर्दै तिज पर्वको मौलिकता, आराध्यदेव शिवसँगको सम्बन्ध र पारिवारिक सन्देशलाई जोड्न खोजेको सर्जक सुनुवारको भनाइ छ। ‘रातो सारी’ गीत तारादेवी सुनुवारकै युट्युब च्यानल “Tara Devi Sunuwar Official” बाट सार्वजनिक गरिएको हो। गीत सार्वजनिक गर्ने जिम्मा परिवारकै ९० वर्षीया ज्येष्ठ नागरिक याेशाेदा पौडेलले लिएकी थिइन्। तारादेवी सुनुवारले यसअघि पनि थुप्रै गीत, कथा र कविता सङ्ग्रह प्रकाशित गरिसकेकी छिन्। उनी मातृभाषामा गीतहरू सृजना र प्रकाशन गर्ने कम सर्जकमध्ये एक हुन्। सुनुवार भाषामा उनले गाएको ‘गे तेङा गो तेङा’ गीत लोकप्रिय बन्दै गएको छ। त्यस्तै, उनको लिखित निबन्धसंग्रह ‘युद्धभूमिमा डामिएको मन’ पनि चर्चित छ।