ओलीको साथमा छैनन् एमालेका ‘१० भाइ’ - www.sutranews.com
काठमाडौं । तत्कालीन नेकपाको आन्तरिक विवादसँगै ब्यूँतिएका नेकपा (एमाले) विभाजनको संघारमा रहँदा ‘१० भाइ’को नामले चिनिएका नेताहरु ११औँ महाधिवेशनमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली समूहमा रहेका छैनन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समूहबिच टकराव बढेका बेला १० भाइले नेता नेपाललाई साथ दिएका थिए । तर, पार्टी नै विभाजन गरेर नेता नेपाल र झलनाथ खनाल समूहले नेकपा (एकीकृत समाजवादी) गठन गर्दा ति १० भाइ एमालेमै रहेर ओलीलाई साथ दिएका थिए । तर, एमालेको ११औँ महाधिवेशनमा आइपुग्दा १० भाइमध्ये दुई भाइ एमालेमै छैनन् भने ८ भाइ पनि ओलीको साथमा छैनन् । १० भाइमध्ये भीम रावल र घनश्याम भुसाल एमालेमै छैनन् । बाँकी ८ भाइ अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुजी पन्त र भीम आचार्य अहिले ओली समूहमा परेनन् । १०औँ महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित उनीहरु अहिले ओली प्यानलमा नपरेका हुन् । उनीहरु ईश्वर पोखरेल समूह तथा स्वतन्त्र रुपमा विभिन्न पदमा उम्मेवारी दिएका छन् । गत शनिबारबाट जारी ११औँ महाधिवेशनमा मंगलबार नेतृत्व चयनका लागि मतदान हुँदै छ । १० भाइ नअटाएको ओली समूहको यस्तो छ प्यानल : अध्यक्ष : केपी शर्मा ओली उपाध्यक्ष १. विष्णु पौडेल २. रामबहादुर थापा ’बादल’ ३. गुरू बराल ४. पृथ्वीसुब्बा गुरूङ ५. प्रदीप ज्ञवाली महासचिव शंकर पोखरेल उपमहासचिव १. रघुवीर महासेठ २. विष्णु रिमाल ३. लेखराज भट्ट सचिव १. पद्मा अर्याल २. छविलाल विश्वकर्मा ३. भानुभक्त ढकाल ४. खगराज अधिकारी ५. यमलाल कँडेल ६. शेरधन राई ७. महेश बस्नेत ८. हिक्मत कार्की ९. राजन भट्टराई