एमालेको पुनर्जन्म प्रयास - ehimalayatimes.com
नेपाल कम्युनिष्ट पार्टी एमालेको एघारौं महाधिवेशन पुनर्जन्मको प्रसव वेदनामा सम्पन्न हुँदैछ । समयको माग, पछिल्लो पुस्ताको राजनीतिक भर्ती र भविष्यलाई सम्बोधन गर्नसक्ने गरी यो पुनर्जन्म सकुशल हुन्छ कि हुँदैन ? आजसम्मको एकमात्रै प्रश्न हो यो । इतिहास कहिले कठोर र कहिले असाध्य नरम भएर दोहोरिने गर्छ तर समान हुँदैन । जस्ताको तस्तै प्रवृत्ति दोहोरिएको इतिहासमा हुँदैन । ०४७ मा महासचिव मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको भाष्यमा उभिएको नेपाल कम्युनिष्ट पार्टी एमालेले अनेकौं विभाजनका चरणहरू अनुभव गरेको छ । एमालेसँग कतिपय सानाठूला कम्युनिष्ट पार्टीहरू, कम्युनिष्ट नेता-कार्यकर्ताहरू जोडिँदै र अलग हुँदै विगत ३६ वर्षको इतिहास निर्मित छ । तर त्यो चरण अन्त्य भएको छैन । साहना प्रधान नेतृत्वको माक्र्स्वादको सानो हाँगो एकतामा जोडिएन, बरू ०५४ मा एमालेबाट अत्यन्त ठूलो समूह विभाजित भयो । सहाना प्रधान, वामदेव गौतम, सीपी मैनालीहरू सम्मिलित त्यो समूह पनि अलगथलग हुनपुग्यो । वामदेव, सहानाहरू एमालेमा नै फर्किए तर सीपीहरू अलग्गै अस्तित्व जोगाएर बस्नु भएको छ । अहिले त वामदेव गौतम पनि अर्को तम्बुमा आसन जमाएर बस्न पुग्नुभएको छ । एमालेबाट अशोक राईहरूले आफ्नो फरक बाटो निर्माण गर्नुभएको छ । पछिल्लो चरणको विभाजन एमाले नेतृत्वका लागि निकै घातक र महत्वपूर्ण भएको छ । पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा पूर्वमहासचिव झलनाथ खनाल र डा.भीम रावलले गरेको एमाले पार्टी परित्यागलाई अवमूल्यन गर्ने अवस्था छैन । नवौं महाधिवेशनबाट नै आरम्भ संकट आज पनि एमालेमा यथावत् छ । माधवकुमार नेपाल नवौं महाधिवेशनदेखि नै अलगथलग हुनुभएको हो भने दशौंबाट डा.भीम रावल । एउटै पार्टीमा जीवन समर्पित गरेका नेता-कार्यकर्ता, समर्थक, बुद्धि-जीवीहरू तिरष्कृत हुन्छन्, बहिष्कृत हुन्छन् र पार्टी परित्याग गर्ने हदसम्मको अवस्थामा पुग्छन् भने कुनै पनि राजनीतिक दलका निम्ति त्यो गम्भीर विषय हो । पुराना बहिष्कृत, तिरष्कृत, परित्याग गर्न विवश हुने एकातिर र अर्कातिर नयाँ राजनीतिक भर्ती हुन नसक्ने परिस्थिति सिर्जना भएमा त्यो पार्टीको कुण्डली बिग्रेको र अवशान निकट पुग्न लागेको देखिन्छ । तर अहिले पनि एमाले नेतृत्व त्यसतर्फ त्यति सचेत देखिएको छैन । एमालेमात्रै होइन नयाँ नेतृत्व र पुरानो नेतृत्वको झगडामा रुमलिएको नेपालको प्रथम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा पनि यही हाल छ । पुरानाहरू टसमस नहुने, बीचकाहरू अहंकार र महत्वाकांक्षा पूरा गर्न जे पनि गर्ने, नवपुस्ता दाबी गर्ने तर पाँच दशक पुगेकाहरू जसरी पनि शीर्ष नेतृत्व कब्जा गर्न योजना बुन्ने, तर पार्टीमा इतिहास भएका, हरेक हिसाबले कांग्रेसलाई सशक्त बनाउन तल्लीन, लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रियहरूलाई कित्ताकाट गर्दै हिजोका निर्दलवादीहरू, गुण्डागर्दीमा पोख्त, आर्थिक कारोबारमा माहिर र षड्यन्त्रको सिद्धान्तमा विश्वासकासाथ पारंगत भएकाहरूको पकड हुँदै गएपछि कांग्रेस पनि अस्तव्यस्त छ । यस्तै हालत एमालेमा पनि विकसित भएको छ भने माओवादीको चरित्र त रामाय स्वस्ति रावणाय स्वस्तिको साधक भएको छ । अरू नयाँ पार्टीहरू पनि यिनै पुराना गुरुहरूका नवअवचार जस्ता छन् । एकप्रकारले नेतृत्वका कारण नै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको बिसर्जन हुने राजमार्ग खुलेको स्पष्ट देखिन्छ । करिब पैतीस वर्षयता एमालेको राजनीतिमा अत्यन्त मिलेको सहकार्यका सहयोगी भनेर परिचित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका सहयोगीहरू एकातिर र अर्कातिर विगत आठ वर्षदेखि अध्यक्षको बिँडो समाएर बस्नु भएका पूर्वप्रधानमनत्री केपी शर्मा ओलीबीच अत्यन्त अप्रिय विवाद सतहमा देखिएको छ । राष्ट्रपति जस्तो सम्मानित पदमा बसिसकेको व्यक्ति एउटा कुनै पार्टीको पदाधिकारी वा सदस्यअन्तर्गत बस्ने चाहना गर्नु कति शोभनीय हुन्छ ? यो प्रश्न नितान्त नैतिक मूल्य र राजनीतिक मूल्यसँग जोडिन सक्छ । तर कानुनी रूपले यस्तो प्रश्न गर्नु मूर्खतापूर्ण हुनेछ । संसारमा अनेक दृष्टान्त छन् । पूर्वराष्ट्रपतिहरू पुनः दलमा नै फर्केर सक्रिय भएको विकसित लोकतन्त्रमा समेत पर्याप्त देखिन्छ । नेपालको सन्दर्भमा पनि एउटा कुनै पूर्वसदस्य वा नागरिकले कुनै दलको सदस्यता लिन खोज्नु उसको वैधानिक अधिकार हो । कानुनतः निषेधयोग्य छैन भने नागरिकको चाहनालाई रोक्नु गैरकानुनी मानिन्छ । विद्यादेवी भण्डारीले पुनः एमालेमा रहेर आफ्ना दिवंगत पतिको विचारलाई जनस्तरमा पु¥याउन खोज्नु कुनै पनि अर्थमा अनुचित थिएन । अहिलेको पछिल्लो विवादको कारण पनि यही नै हो । विद्यादेवीको सदस्यता हुन्छ र हुन्न को विवाद हो यो । यसरी एकातिर गम्भीर असहमति र विवाद चुलिँदैछ भने अर्कातिर तीन महिना पहिले लागेको घाउबाट जीवनमरणको दोसाँधमा पुगेको एमालेसहित वर्तमान प्रणालीको प्रश्न छ । आन्तरिक विभाजन, अन्तरविरोध, अकल्पनीय र रहस्यमय आक्रमणले खरानी बनाएको राजनीतिको पीडा पार गर्ने क्षमताकासाथ एमाले र कांग्रेस जस्ता दलहरूको पुनर्जन्म हुनुपर्ने देखिन्छ । भदौको घटनाबाट सत्ता विस्थापित उमाले र नेपाली कांग्रेसको पीडा समान छ र सोचमा पनि समानता देखिन्छ । तर यस्तो सोचबाट सगल्ती र स्वस्थ परिणम हुनसक्छ कि सक्दैन ? एमाले र कांग्रेसका नेताहरूले समीक्षा गर्नेपर्ने अवस्था छ । भदौको परिघटनाले निम्त्याएको परिणामलाई एमालेका नेताहरूले पूर्णरूपमा अस्वीकार गरेका छन् । सत्ता विस्थापनको पीडामात्रै होइन । देशको, माटोको, स्वाधीनताको र स्वतन्त्रताको अनि शान्तिको पक्षमा लाग्ने, विचार गर्नुपर्ने सबैका लागि भदौ काण्ड रहस्यमय र अनुसन्धेय रहेको छ । त्यसको सतही मूल्यांकन वा पक्षविपक्षको तर्कमा मात्रै त्यो घटनामाथि ओढाइएको पर्दा हट्न सक्दैन । महाधिवेशनको भव्य आयोजनमा एमालेले नेताहरूको उपस्थिति, त्यससमय विभिन्न राजनीतिक दलका नेताहरूबाट व्यक्त विचार आदिलाई हेर्दा देशमा संकटको जरो निकै सशक्त र सबल भएको अनुभव हुन्छ । यस्तो समयमा हरेक राजनीतिक दल र दलका नेताहरूले आफूमात्रै, समर्थ भएको दाबी गर्नुको अर्थ पुनर्जन्मको प्रसव वेदनाले ग्रस्त राजनीतिको भ्रूणलाई तुहाउने खेल सिद्ध हुन्छ । आसा गरौं एमालेको दशौं महाधिवेशन यी अनेक जटिलताको समीक्षा गर्दै सही निष्कर्षमा पुग्नेछ र उपयुक्त नेतृत्व चयन गर्नेछ । महाधिवेशन सफल होस् हाम्रो यही शुभकामना ।