निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा सह्य हुँदैन: अर्थमन्त्री खनाल - arthasanjal.com
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण सह्य नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समयपछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ ।’ विधि ठिक भएन भने सुधार गर्न सकिने तर सही मान्छेमाथि गलत कदम चालिए निरुत्साहित हुने अर्थमन्त्रीको भनाई छ । ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन,’ अर्थमन्त्री खनालले भने । साथै जेन्जी आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको उनले बताए । भ्रष्टाचार अत्यन्त बढेर राज्यका शक्तिशाली व्यक्तिबाटै यसलाई बढावा दिने काम भएकाले यसको अन्त्य हुनुपर्ने उनले बताए । उनले सेवा प्रवाह पारदर्शी हुनुपर्छ आन्दोलनको माग रहेको स्मरण गराए । निर्वाचन अपरिहार्य रहेकाले अर्थमन्त्री खनालले भने, ‘कुनै पनि हिसाबले निर्वाचन सार्दा मुलुकलाई अनिश्चयको दिशामा लैजान्छ । यसको अनेक क्रियाकलापमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारात्मक माहोल हुनुपर्छ । सरकार पनि लागिपरेको छ ।’ सबै दलहरूको सहमति र आम नागरिकको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए । सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकतान्त्रिक अभ्यासमा गएर निर्वाचन समयमै गरेको छवि बनाउनु पर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय जगतले राम्रो मूल्यांकन गरिरहेकाले नेपालले पनि त्यो दृष्टिकोण परिवर्तन गर्न नहुने उनले बताए । सरकारको छवि अझै सुधार गर्न नेपाल सरकारले आगामी दिनमा सुधारका काम गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।