Redirecting...

तीन सय वर्ष पुरानो पिपलको रुख ढल्दा मन्दिरमा क्षति - nagariknews.nagariknetwork.com

तीन सय वर्ष पुरानो पिपलको रुख ढल्दा मन्दिरमा क्षति - nagariknews.nagariknetwork.com
Source: ngrk

अविरल वर्षाको कारण उदयपुरमा पिपलको रुख ढल्दा मन्दिरमा क्षति पुगेको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाको कारण जरा खोतलिएर त्रियुगा नगरपालिका १ जोगीदह पूर्वटोलस्थित राजाजी मन्दिर परिसरको पिपलको रुख ढल्दा मन्दिर भत्किएको छ। त्रियुगा १ का वडा अध्यक्ष मनोज चौधरीको अनुसार वर्षौं पुरानो पिपल ढलेर थिच्दा छेउमै रहेको राजाजी मन्दिरको गजुर फुट्नुको साथै मन्दिरको इँटाको घेरावार, काठको टहरासमेत भत्किएको छ। वडा अध्यक्ष चौधरीका अनुसार सो पिपल ३ सय वर्षभन्दा बढी पुरानो हो। जरा फर्केर ढलेको बडेमानको पिपलको हाँगाबिँगाले मन्दिर, घेरावार र टहरामा क्षति पुगेको वडा अध्यक्ष चौधरीले बताए। वर्षाले जमिन खुकुलो बनाएकोले जरा खोतलिएर पिपलको रुख ढलेको स्थानीयको भनाइ छ। आइतबार बिहान हेर्दाहेर्दै पिपल ढलेको स्थानीयले बताएका छन्। रुखले थिच्दा पनि सिमेन्ट इँटाले बनेको पक्की भवन भएकोले मन्दिर भने भत्काउन नसकेको स्थानीय सोनाई चौधरीले बताए। मन्दिरमा पूजा गर्न भेला हुने भक्तजनहरु बसेर प्रसाद ग्रहण गर्ने टहरा, कम्पाउन्ड वाल क्षति भए पनि मर्मत गर्न श्रमदानमा खट्न वडा कार्यालयले स्थानीयलाई आह्वान गरेको छ।