खाना पकाउने ग्यास अभाव कति 'स्वाभाविक', कति 'कृत्रिम'? - www.bbc.com
Nepal Photo Library केही दिनअघिसम्म खाना पकाउने ग्यास (एलपीजी) को अभाव नभएको बताएको नेपाल आयल निगमले आफ्नो 'निगरानीमा' 'बजारको अवस्था बुझ्न' भन्दै काठमाण्डूको टेकुस्थित आफ्नो कार्यालयबाट ग्यास बिक्रीवितरण सुरु गरेको छ।आपूर्तिमा देखिएको असहजतालाई ध्यान दिँदै निगमले बुधवारबाट आफ्नो कार्यालयबाट निगरानीमा सीधै ग्यास बिक्रीवितरण सुरु गरेको हो।"बजारमा साँच्चै डराउनुपर्ने अवस्था हो कि होइन भनेर परीक्षणका लागि उद्योगीकै कर्मचारी राखेर टेकु परिसरमा हाम्रो निगरानीमा वितरण सुरु गरेका हौँ," निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बीबीसीसँग भने। खाना पकाउने ग्यास पाउन उपभोक्ताले किन पालो पर्खनुपरेको होखाना पकाउने ग्यासले अरू इन्धनको मूल्य कसरी प्रभावित पार्न सक्छ "बुधवार दिनभरिमा 'नेपाल' ग्यासका ३० वटा र 'एभरेस्ट' ग्यासका ३५ वटा सिलिन्डर बिक्री भएका छन्। त्यो हेर्दा बढाइचढाइ गरिएको माग हो कि जस्तो देखिएको छ। त्यसले गर्दा हामी बिहीवारसम्म हेर्छौँ, अवस्था कस्तो हुन्छ।"एलपी ग्यास उद्योग सङ्घले ग्यास अभावको अवस्था सामान्य हुन अझै एक साता समय लाग्ने देखिएको जनाएको छ। जाडोमा ग्यासको खपत बढ्ने र बीचमा ग्यासको आपूर्तिमै केही कमी आएका कारण बजारमा "थोरै असहज" परिस्थिति रहेको सङ्घले जनाएको हो।कारण केके? BBC एक उपभोक्ता रूपक भण्डारीले काठमाण्डूको माततीर्थ क्षेत्रमा ग्यास पाउन समस्या भएको बताएका छन्।त्यस्तै अर्की उपभोक्ता मुक्ता श्रेष्ठले बालुवाटार क्षेत्रमा पनि ग्यास पाउन गाह्रो परेको बताएकी छन्।बीबीसी न्यूज नेपालीको फेसबुक पेजमा प्रतिक्रिया जनाउने रूपक र मुक्ताजस्तै धेरैले आफ्नो क्षेत्रमा ग्यास पाउन कठिन भएको बताएका छन्।नेपाल आयल निगमका अनुसार विगतका महिनामा जति ग्यास ल्याउनुपर्थ्यो, त्यो ल्याउन नसकेका कारण बजारमा केही दबाब परेको हो। यस्तो दबाब पनि काठमाण्डूमा मात्रै देखिएको र अन्यत्र नदेखिएको निगमले दाबी गरेको छ।गएको ज्यानुअरी महिनामा ५/६ सय टन कम ग्यास ल्याएका कारण असहज परिस्थिति रहेको र फेब्रुअरीमा त्यसमा सुधार आइसकेको निगमले जनाएको छ। दैलेखमा ग्यास भण्डार पत्ता लगाउने अन्वेषण कहाँ पुग्यो, कति ग्यास निकाल्न सकिन्छमध्यपूर्वमा तनाव चर्केसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर बढ्दो, नेपालले कति थेग्न सक्ला? निगमका अनुसार नेपालमा एलपीजीलाई सिलिन्डरमा हालेर बेच्ने ६० वटा उद्योगहरू छन् र तीमध्ये दुई उद्योगमा केही दबाब देखिएको हो। त्यसकै भरमा ग्यासको बजार 'तहसनहस भयो' भन्ने हल्ला फैलाएर केही व्यक्तिले चलखेल गरेको हुन सक्ने निगमको आशङ्का रहेको कार्यकारी निर्देशक भट्टले बताए।"अहिले केही समस्या छैन। तर बजारमा समस्या छ भन्ने देखाएर बिचौलियाले फाइदा लिन खोजेको अवस्था हो। केही व्यक्तिले बीचमा हल्ला चलाइदिएर उपभोक्तासँग बढी असुली गर्ने अथवा सिलिन्डर साटफेर गर्दा पैसा लिने, त्यस्तो चाहिँ देखिन्छ," भट्टले भने।"अब चुनाव आउँदै छ। त्यसपछि भारतले सीमा बन्द गर्छ अनि समस्या हुन्छ भन्ने अफवाह फैलाएर बढी सिलिन्डर बिक्री गर्ने, बढी पैसा लिएर बेच्ने व्यक्तिहरू भएको हो कि भन्ने बुझिन्छ।" Getty Images फाइल तस्बिर उद्योगी के भन्छन्?विगत केही समयदेखि देखिन थालेको ग्यास अभावको अवस्थामा सुधार आइरहेको र अबको करिब एक सातामा यो सामान्य भइसक्ने एलपी ग्यास उद्योग सङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले बताएका छन्।खास गरी नेपालमा छिटो आइपुग्ने भारतको बिहारको बरौनी रिफाइनरीबाट ल्याइने ग्यासको आपूर्ति प्रभावित भएपछि नेपालमा केही समय ग्यासको आपूर्तिमा समस्या भएको उनले बताए।"जाडो महिनामा ग्यासको खपत बढ्छ। ग्यास ल्याउने बुलेट गाडीहरू पनि बीचमा कम भएका थिए। बरौनी रिफाइनरी बन्द थियो, त्यो पनि सञ्चालनमा आइसकेको छ र अब अनावश्यक रूपमा ग्यास किनेर राख्नुभएन भने एक हप्ताजतिमा अवस्था सामान्य हुन्छ," घिमिरेले भने।"आम उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन। अहिले घरमा चुल्हो बलिरहेको छ भने किन्न हतारिनुपर्दैन।"उनका अनुसार जाडो महिनामा ५० देखि ५५ हजार मेट्रिक टन ग्यासको माग हुने गरेको छ। तर यसबीचमा ४५ हजार मेट्रिक टनजति आयात हुँदा थोरै समस्या देखिएको उनले बताए। BBC आयल निगम र ग्यास उद्योग सङ्घले उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको बताइरहँदा धापाखेल ललितपुरकी आशा तुम्बाहाम्फे लिम्बूले ग्यास पसल गएर सोध्दा ग्यास आउन अझै समय लाग्ने प्रतिक्रिया पाएको बताएकी छन्।"म १० दिनदेखि हरेक दिन ग्यास डीलरमा गएर 'ग्यास आयो' भनेर सोधिरहेकी छु। अझै हप्ता १० दिन लाग्छ भनिरहेका छन्। खोइ, कसको कुरा पत्याउनु, आयल निगमको कि डीलरको?" उनले बीबीसी न्यूज नेपालीको फेसबुक पेजमा प्रश्न गरेकी छन्।अर्का उपभोक्ता भरतबहादुर रावलले आफूले २,००० रुपैयाँ तिरेर घरसम्म ल्याउने गरेको ग्यास २,५०० रुपैयाँमा ल्याएको बताएका छन्। उनले 'चुनावको मुखमा के गर्न खोजेको' भन्दै प्रश्नसमेत गरेका छन्।नेपाल आयल निगमले तोकेको एक सिलिन्डर ग्यासको मूल्य १,९१० रुपैयाँ हो।सरकारले तोकेभन्दा बढी मूल्य माग गर्ने डीलरबारे स्थानीय प्रशासन र नेपाल आयल निगमलाई खबर गर्न ग्यास उद्योग सङ्घका घिमिरे सुझाउँछन्।"राज्यले तोकेको भन्दा पाँच पैसा पनि बढी तिर्नुपर्दैन। बढी मूल्य लिने विक्रेतालाई कारबाही हुन्छ," घिमिरेले भने। बजारमा एलपी ग्यास अभाव, उद्योगीले कमिशनको माग नछोडे सरकारले के गर्छदुर्घटना हुन नदिन खाना पकाउने ग्यास कसरी प्रयोग गर्नुपर्छ वाणिज्य विभागले अनुगमन गर्दा के पायो?वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार अनुगमन गर्दा ग्यासको कालोबजारी भएको नपाइएको जनाएको छ।बजार अनुगमनमा खटिएका विभागका निर्देशक नरहरि तिवारीले मागअनुसार आपूर्ति हुन नसकेकै कारण ग्यासको अभाव भएको आफूहरूले पाएको बताएका हुन्।"खास गरी काठमाण्डू उपत्यकामा बढी समस्या छ। हामीले ग्यास डिपो, आपूर्तिकर्ता र खुद्रा विक्रेताकहाँ गएर अनुगमन गरेका छौँ। मागअनुसार आपूर्ति कम भएका कारण समस्या देखिएको पाएका छौँ," निर्देशक तिवारीले बीबीसीसँग भने।"हामीले हेर्दा करिब १५/२० प्रतिशत कम आपूर्ति भएको हो। चाहिने परिणाममा ग्यास पाउन सकेको भए उपभोक्ताका उजुरी आउने थिएनन्।"ग्यासको अभावबारे कुरा उठिरहेका बेला गत साता प्रधानमन्त्री सुशीला कार्कीले यसबारे चासो व्यक्त गरेकी थिइन्।उनका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सरोकारवाला निकायका अधिकारीहरूलाई बोलाएर अहिलेको स्थितिलाई सहज बनाउन निर्देशन दिएकी थिइन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।