नैतिकहीन ओलीको पार्टिमा बसिन्, भोट पनि दिन गइन : मुकुन्द न्यौपाने - kendrabindu.com
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको मतदानमा ३५ प्रतिनिधि अनुपस्थित रहे। यसमा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने पनि थिए, तर उनी मतदानमा गएनन् र ओलीको नेतृत्व नैतिकहीनको संज्ञा दिँदै ठाडो चुनौती दिए । न्यौपानेले भने, “ओलीले विधान उल्टाए, ७० वर्षे उमेरहद र दुई कार्यकाल खारेज गर्यो। जनतालाई दिएको वाचा मेटियो। तीन महिनाअघि जे भने, अहिले उल्टो गर्छ। बोलेको कुरा लागू भएन, लिखित निर्णय उल्लङ्घन भयो। यस्तो नेतृत्व र पार्टीमा म बस्दिनँ, भोट पनि दिइन ।” उनी थप्छन्, “नेतृत्व नैतिक हुनुपर्छ। यहाँ त बोलेको मात्र होइन, महाधिवेशनबाट पारित विधान नै उल्टाइयो। जनतासँग वाचा उल्टाइन्छ, संविधानको ढाँचा भत्काइन्छ, अनि आफूलाई जे चाहियो त्यसै गर्ने अधिकार ओलीले लिन्छ। यस्तो पार्टीलाई कसरी समर्थन गर्न सकिन्छ?” न्यौपानेले एमाले मात्र होइन, ठूला पार्टीहरूमा पनि नेतृत्व नैतिकताको गम्भीर संकटमा रहेको स्पष्ट गरे। उनले आँकडा प्रस्तुत गर्दै भने, “३४ वर्षमा ३२ वटा सरकार परिवर्तन भयो। हाम्रो संविधानअनुसार १६० वर्ष लाग्ने ३२ सरकार परिवर्तन गरियो। जब नेतृत्व हावामा घुम्छ, देशको भविष्य डुब्ने निश्चित छ।” उनले ओलीसँगको सम्बन्ध अघिल्लो आम निर्वाचनदेखि नै चिसिएको बताए । कांग्रेससँग गठबन्धन नगर्ने सुझाब बेवास्ता भएपछि पार्टीभित्र आफ्नो आवाज खुम्चिएको उनले बताए । न्यौपानेले पार्टीमा सक्रिय रहने कि नरहने भने स्पष्ट भनेका छैनन्, तर नेतृत्वको नीति र नैतिकताको विरुद्ध आफ्नो विरोध स्पष्ट पारेका छन् ।