सर्वोत्कृष्ट करदातालाई सिएनआईको सम्मान - ehimalayatimes.com
काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले सर्वोत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदातालाई सिएनआईले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सोही सम्मानित करदातालाई निजी क्षेत्रका तर्फबाट सिएनआईले पनि सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा वस्तु निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटल लिमिटेड, वस्तु व्यापार कारोबारमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भोटेकोशी पावर कम्पनी प्रालिलाई सिएनआईले सम्मान गरेको छ । त्यस्तै, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भेरिस्क नेपाल प्रालि, एकलौटी फर्ममध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेसनल, बैंक, वित्तीय संस्था र बीमा कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पनि सम्मानित भएका छन् । त्यस्तै, रेमिट्यान्स तथा मनि ट्रान्सफर कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने आइएमई लिमिटेड, निकायहरूमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार रकम ५० करोडभन्दा बढी एक अर्बसम्म कारोबार गर्ने कारदातामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने सिडिएस एण्ड क्लियरिङ, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने भिएफ सर्भिसेज (मोरिसस) प्रालि, २०७६ साउनदेखि २०८२ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर(भ्याट) विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी भ्याटकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई पनि सिएनआईले सम्मान गरेको छ । शाह सिएनआई उपाध्यक्षसमेत हुनुहुन्छ । मंगलबार सिएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान प्रदान गर्दै सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धिमात्रै नभएर राज्यप्रति महत्वपूर्ण योगदानसमेत भएको बताउनुभयो । उच्च करदाताका रूपमा राज्यलाई गरेको योगदानको कदर गर्दै सिएनआईले पनि सम्मान गरेको उहाँको भनाइ थियो । कार्यक्रममा सिएनआई उपाध्यक्षहरू राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजस्व समिति सभापति गोपालकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।