Redirecting...

कथा : भैंसी माइलालाई रातो कार्पेट ! - sahityapost.com

कथा : भैंसी माइलालाई रातो कार्पेट ! - sahityapost.com
Source: shpt

ऊ रिसाएन, उल्टै मुस्कुराउँदै भन्यो– “मन्त्री भइसकेपछि पनि झोला बोकेर लखरलखर हिंड्न थाल्यो भने के भन्छन् मान्छेहरू ! मन्त्रीको पनि त गरिमा हुन्छ, इज्जत हुन्छ । मन्त्रीले पनि कुल्ली–भरियाहरूले जस्तै झोला बोकेर हिंड्न थाल्ने हो भने त मन्त्रीकै इज्जत जाँदैन र भन्या !” 0000 उसको वास्तविक नाम विक्रम थियो । यद्यपि उसलाई हामी सबैजसो सँगीसाथीहरूले ‘बिक्रे’ भनेर बोलाउँथ्यौं । अरूहरूका हकमा पनि हामीले वास्तविक नाम बिगारेर यस्तै खालका नामहरू प्रयोगमा ल्याउँथ्यौं । ऊ आफ्ना बाबुआमाका सन्तान तीन दाजुभाइमा माइलो चाहिँ भाइ । कतिपयले ‘माइला’ पनि भन्थे । सानैदेखि उद्दण्ड उद्दण्ड थियो, घमण्डी पाराको । केटो अरू साथीका तुलनामा अलि छुच्चै थियो । मै हुँ भन्थ्यो, अरूलाई गन्दैनथ्यो । आफूभन्दा सानालाई पिटपाट पार्थ्यो र ठूलासँग पनि मुखमुखे लाग्थ्यो । वचन निकै रुखो थियो । सानो कक्षामा पढ्ने क्रममा साथीहरूको कलम भाँचिदिने, कापी–किताब च्यातिदिने मात्र नभएर चोर्ने पनि गर्थ्यो । स्कूलमा शिक्षकहरूको सबैभन्दा बढी पिटाइ खानेमा पनि ऊ नै पर्थ्यो । सानातिना बदमासीमा कक्षाका शिक्षकहरूले पिट्थे भने अलि ठूलै बदमासी गरेको अवस्थामा हेड मास्टरले सुम्ल्याउने गर्थे । त्यस समयमा शिक्षकहरूको मानसिकता नै बदमासहरूलाई पिटेर तह लगाउन सकिन्छ भन्ने खालको थियो । छरछिमेकी बीचमा पनि ऊ अचाडु थियो । उसको बानीव्यवहारबाट सबै आजित थिए, उसलाई कसैले मन पराउँदैनथे । ऊ अति नै बदमास थियो । उसले गरेका बदमासीहरू सम्झिसाध्य छैनन् । सानै छँदा एकपटक स्कूलबाट घर फर्कने क्रममा छिमेकीको बारीमा पसी भर्खरै टुसाएका मकै उखेलेर मिल्काएछ । एउटा सिङ्गै गराको मकै नोक्सान गरेछ । बेलुका गाउँका गण्यमान्य अर्थात् भद्रभलाद्मीहरू कचहरी बसेर क्षतिपूर्ति भराएको मेरो स्मरणमा अहिले पनि ताजै छ । यस घटनापछि उसलाई हामीले ‘मकै माइला’ पनि भन्ने गरेका थियौं । यस्तै अर्को एउटा घटना पनि मेरो सम्झनामा आयो– बर्खामा साउनको बेला, अर्मपर्म गरेर कोदो रोप्ने चलन । मकैबारीमा लोग्नेमान्छेहरू कोदालाले खन्थे र पछिपछि महिलाहरूले रोप्ने गर्थे । दिउँसोमा गाउँघरका प्रायः ढोकाहरू बन्द हुन्थे । काम गर्न सक्नेहरू धेरैजसो बारीमा हुन्थे भने एकादुई वस्तुभाउ चराउन वनपाखातिर गएका हुन्थे । कुनैकुनै घरमा अशक्त वृद्धवृद्धा तथा साना केटाकेटी मात्र हुन्थे । घरमा कोही नभएको मौका पारेर दिनकै समयमा अर्थात् दिउँसै बिक्रेले गैराघरे जेठाको कुखुराको भाले चोरेछ । कुखुरो चोरेका कारण उसलाई कन्नापछाडि हामीले ‘कुखुरा चोर’को नाम पनि दिएका थियौं । उसका बाले राँगो पालेका थिए । घरमा एउटा जब्बर राँगो थियो । आफ्नो गाउँका लागि मात्रै नभएर वरिपरि दुई–तीनवटा गाउँका लागि पनि त्यही एउटा राँगो । बा जसका घरमा भैंसीले राँगो खोजेको छ, राँगो लिएर उसैको घरमा पुग्थे । बाले एउटा भैँसीलाई बाली लगाए बापत त्यस जमानामा २० रुपैयाँ अर्थात् ४ जना खेताला असुल गर्थे । त्यस समयमा भर्खर जन्मेको लैनो पाडाको मूल्य पनि २० रुपैयाँ अर्थात् ४ जना खेताला नै थियो । सानो छँदा ऊ बा राँगो डोर्याएर हिँडेपछि बाकै पछिपछि लाग्थ्यो । शायद सात–आठ कक्षामा पढ्दाको समयमा हो– उसले गरेको एउटा बदमासी मैले अहिले पनि झलझली सम्झिरहेको छु । बर्खामासकै समय । बन्सो घाँसले भरिएको सानो डोको बोकेर म उसैका घरछेउको गोठको बाटो हुँदै आफ्नो घरतिर लाग्दै थिएँ । ऊ कट्टु घुँडातिर सारेर बकेर्नो पाडीमाथि चढ्दै रहेछ । मलाई देख्नासाथ झस्क्यो । हत्तपत्त कट्टु लगाएर मलाई गाली गर्न थाल्यो, “अरू कसैलाई भनेको थाहा पाएँ भने तेरा दाँत झारिदिन्छु ।” बेला बेलामा उसले पशुमाथि करणी गरेका घटना मेरा अरू साथीले पनि देखेका रहेछन् । देख्नेजति सबैलाई उसले मलाई जस्तै थर्काउँदो रहेछ । कसैलाई ‘खुट्टा भाँचिदिन्छु’ भन्दो रहेछ, कसैलाई ‘बङ्गारा झारिदिन्छु’ भन्दो रहेछ । ‘मूर्खदेखि दैव डराउँछ’ भनेझैं उसका अगाडि हामी सबै डराउँथ्यौं । तर पनि कन्नापछाडि भने उसलाई हामीले ‘भैंसी माइलो’ भन्ने गर्थ्यौं । हामीहरूका बीच ऊ ‘भैंसी माइला’का नामले पनि परिचित थियो । सानै उमेरदेखि राँगाले भैंसीलाई बाली लगाउने गरेको देखेर हो या उसमा यौन चाहना नै अचाक्ली बढी भएर हो उसले घटाएको अर्को एउटा घटना पनि गाउँमै सामसुम पारिएको थियो । त्यस समयमा ऊ नौ वा दश कति कक्षामा पढ्थ्यो कुन्नि ! अहिले ठ्याक्कै यकीन गर्न सकिनँ मैले । आधा रातको समयमा छिमेकी दिदी पर्नेको घरमा पुगेछ । ऊभन्दा केही जेठी ती दिदी घरको माथिल्लो तलाको कोठीमा सुत्ने गर्थिन् । कोठीको ढोकामा लगाइएको आग्लो खोलेर भित्र पसेछ । समाउने क्रममा दिदी चिच्याइछन् । हल्लाखल्ला गर्दै ती दिदीका बाआमा ढोकातिर आएपछि ऊ झ्यालबाट हाम फालेर कुलेलम ठोकेछ । भोलिपल्ट रातको समयमा स्थानीय पञ्च भलाद्मीहरू बसेर घटनालाई सामसुम पारेछन् । एक कान दुई कान मैदान हुँदै यस घटनाको नालीबेली हामीहरूका कानमा आएपछि उसलाई हामीले ‘झ्याले माइलो’ पनि भन्न थालेका थियौं । यसरी ऊ अर्थात् विक्रम हामी बीच ‘बिक्रे’, ‘माइला’, ‘मकै माइला’, ‘कुखुरा चोर’, ‘भैंसी माइला’, ‘झ्याले माइलो’ आदि विविध नामबाट परिचित बन्न पुगेको थियो । एक किसिमले भन्ने हो भने ऊ त्यस समयको सानोतिनो डन नै थियो । दश कक्षाको पढाइबाट अगाडि बढ्न नसकेर रोकिएपछि त ऊ झन् ठूलो डन बन्न थाल्यो । वरिपरिका गाउँहरूमा पुगेर उसले चर्को स्वर गर्दा सबै थर्कमान हुन्थे । जाँड खाएका बेलामा त अझ सम्हालिनसक्नुको हुन्थ्यो । जाँडको नसामा जहिले पनि एउटा न एउटा बदमासी गरेकै हुन्थ्यो । जाँडको तालमा एउटा न एउटा घटना घटाएकै हुन्थ्यो । पढाइ छोडेपछिका केही वर्ष ऊ काठमाडौं गएर बस्यो । शुरूमा व्यापारी र होटलवालाहरूसँग हप्ता असुल्न थाल्यो । हप्तैपिच्छे पैसा माग्दा केही उद्योगी–व्यापारीहरूले विरोध पनि गर्थे । तिनीहरूलाई उसले ज्यान लिनेसम्मको धम्की दिन्थ्यो । एउटा ग्याङ फाइटमा मुछिएपछि उसले आफ्नो सुरक्षाका लागि नेताहरूसँग सङ्गत गर्न थाल्यो । आफ्नो जिल्लाका मात्र नभएर केन्द्रीय स्तरका नेताहरूसँग पनि झ्याम्मिन थाल्यो । बिस्तारै सानातिना ठेक्कापट्टाका कामहरू हात पार्‍यो । बिचौलियाको काममा पनि खुलेरै लाग्यो । अब भने उसले आफ्नो मसलका भरमा अर्थोपार्जन गरेर शान दिन थालेको थियो । उसको गुण्डागर्दी अर्थात् दादागिरीबाट प्रभावित भएर नै होला पार्टीले उसलाई सदस्यता दियो । कार्यकर्ता बनायो । चुनाव नजिकिंदै थियो । उसले जनमानसमा सन्त्रास तथा आतङ्क फैलाएर पनि जित्न सक्छ भन्ने विश्वासका साथ चुनाव लड्नका लागि पार्टीले टिकट दियो । ऊ आफ्नो क्षेत्रबाट चुनाव लड्यो र अत्याधिक मतले जित्यो पनि । त्यही भैंसी माइलो विगत केही वर्षदेखि माननीय बन्न पुगेको छ । मान्छेहरू अचेल उसलाई ‘माननीय विक्रम’ भनेर सम्बोधन गर्छन् । चुरिफुरी ठूलै छ । तामझामका साथ हिंड्छ । गाउँठाउँतिर ठेट्नाहरूको भीड लिएर डुल्छ । अझ केही महिनादेखि यता त ऊ मन्त्री नै बनेको छ । प्रदेश सरकारको मन्त्री ! झण्डावाल गाडीमा हिंड्छ । झण्डा हल्लाउँदै हिंड्छ । वरिपरि लठैतहरूको मोटरसाइकलको ताँती हुन्छ । बानीव्यवहार भने पहिलेकै जस्तो छ । कहिलेकाहीँ मन्त्रालयमा बस्दा कार्यालय समयमै पनि रक्सी पिउँछ । सानोतिनो कुरामा समेत कर्मचारीहरूसँग निहुँ खोज्छ । आफ्नो निर्देशन पालना नगर्ने कर्मचारीहरूलाई हप्काउँछ । सातै लिन्छ । उसलाई देख्नासाथ कर्मचारीहरू पनि थर्थर काम्दै धनुष्टङ्काररुपी नमस्कार टक्र्याउँछन् र खुरुखुरु काममा जोतिन्छन् । ० ० ० ० हो, आज त्यही भैँसी माइलो आफ्नै गाउँमा आइपुगेको छ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि । यो भवनको निर्माण लागत साढे एघार करोड भनिएको छ । भवन तीन तलाको छ । कोठाहरू कति छन् कुन्नि मैले गनेको छैन र अरूसँग सोध्न भ्याएको पनि छैन । भवन मोटर बाटोबाट डेढ सय मिटर जति भित्रपट्टि छ । चार–पाँच वर्ष पहिले गरिएको पिच अहिले भत्किएको हुनाले मोटर बाटो कच्ची छ तर त्यहाँबाट भवनसम्मका लागि बनाइएको डेढ सय मिटर बाटो भने ढलान गरिएको छ । मञ्चको सजावट आकर्षक छ । परिवेश मनमोहक छ । भवनको प्राङ्गणमा ठूलाठूला पालहरू टाँगिएका छन् । रङ्गीचङ्गी फूल, बेलुन, ध्वजापताका आदिले सिँगारिएको छ । मञ्चमा सोफा र तलको दर्शक तथा श्रोता दीर्घामा प्लास्टिकका कुर्सीहरू छन् । वरिपरिका गाउँहरू नै उर्लेर आएकाले मानिसहरूको भीड छ । सबैका लागि कुर्सी पुगेका छैनन् । आधाभन्दा बढीजसो मानिसहरू दर्शक दीर्घाको अन्तिमतिर छन् । छेवैमा एउटा ठूलो शमीको रुख हुनाले त्यसैको शीतल छहारीमा केही मानिसहरू उभिएका छन् भने केही पलेटी कसेर बसेका छन् । अन्तिमतिरका त्यस्ता मानिसहरूमा बढीजसो अशक्त वृद्धवृद्धा एवम् सर्वसाधारण महिलाहरू छन् । अलिक बलियाबाङ्गा तथा टाठाबाठा युवायुवती एवम् पार्टीका कार्यकताहरूले कुर्सी ओगटेका छन् । म श्रोता दीर्घाको अन्तिमतिर छु । घाम चर्केको छ । म उभिएको ठाउँमा पालको छाया छैन र शमीको छहारी पनि छैन । मसँग मजस्तै गाउँका अरू केही मानिसहरू पनि छन् । उनीहरूले सानो स्वरमा गरेका केही कुरा मेरा कानमा आइपुग्छन्– “हेर्दाहेर्दै भैंसी माइलाले मन्त्री पनि पड्काइछाड्यो हगि !” “हाडफोरा कहींको ! यस्तालाई नि पार्टीले किन मन्त्री बनाएको होला ?” “हाम्रो देशमा राजनीति गर्ने भनेकै यस्तैले त हो ।” नजिकै एउटा फरक खालको मान्छे आएर उभिएपछि उनीहरूको कुराकानी बन्द हुन्छ । सुकिलोमुकिलो देखिएको त्यो मान्छे केही बेर मेरै नजिक उभिन्छ । मन्त्रीको अघिपछि लाएर आएका हुल्लडबाज हनुमानहरू मध्येको एक जना हो यो मान्छे । अघि मञ्चमै बसेको थियो । अहिले त्यहाँबाट ओर्लेर यहाँ आइपुगेको छ । देख्दै डरलाग्दो भुसतिघ्रे छ । रेस्लर जस्तो । कपाल औसत मान्छेका तुलनामा केही लामो छ । कानमा गह्रुङ्गै खालका मुन्द्रा झुन्डिएका छन् । घाँटीमा सिक्री र हातमा बालो पनि देखिएको छ । पहेंला छन् । मेरो अनुमानमा यी सबै सुनका हुन् । मलाई यो नयाँ मान्छेसँग बोलूँबोलूँ लाग्छ । तर मभन्दा पहिले उसले मैतिर हेर्दै मुख खोल्छ, “कति रमाइलो ठाउँ रहेछ है यो ।” उसले शमीका चारैतिर फैलिएका हाँगाबिँगा हेर्छ । क्रमशः तलपट्टि बग्दै गरेको खोलो र पारिको फाँट हुँदै त्यसभन्दा माथितिर फैलिएको घना जङ्गलतिर दृष्टि पुर्‍याउँछ । “ठाउँ मात्रै राम्रो भएर के गर्नु ! बाटो देखिहाल्नुभयो क्यारे ! दुई वर्षभन्दा बढी भयो भत्केको, आजसम्म बनेको छैन ।” मेरो कुरा सुनेपछि उसले मलाई अलि गौड गरेर हेर्छ र केही बेरपछि भन्छ, “बन्छ नि किन नबन्नु ! तपाईंहरूले यति राम्रो विकासप्रेमी मन्त्री पाउनुभएको छ । चिन्ता नलिनुस्, आगामी वर्षमा मन्त्रीजीले बजेटको व्यवस्था गरिहाल्नुहुन्छ ।” मान्छे ज्याङ्गो देखिए पनि बोली भने मिठासपूर्ण नै रहेछ । हुन सक्छ– उसले मलाई एउटा भोटरका रूपमा लिएको छ र भोटका लागि बोलीमा लालित्य भरेको हो । अघि गाडीबाट ओर्लनासाथ मन्त्रीजीको हाते झोला यही मान्छेले लिएको थियो । अहिले त्यो झोला त्यही मञ्चमा मन्त्रीकै अगाडिपट्टि रहेको टेबुलमा छ । जाबो एउटा सानो झोला पनि आफैले नभिरेर अर्कालाई भिराएको देख्दा अघिदेखि नै मलाई कस्तो कस्तो खसखस लागेको थियो । त्यही खसखस मेटाउनका लागि सोधें मैले– “अघि गाडीबाट ओर्लनासाथ मन्त्रीजीको झोला तपाईंले किन बोक्नुभएको ? त्यति सानो झोला त मन्त्रीजी आफैले बोक्न सक्नुहुन्थ्यो नि !” मलाई त मेरो यो जिज्ञासा सुन्दा ऊ रिसाउला जस्तो लागेको थियो र सोध्ने क्रममा पनि डराई–डराई सोधेको थिएँ । तर ऊ रिसाएन, उल्टै मुस्कुराउँदै भन्यो– “मन्त्री भइसकेपछि पनि झोला बोकेर लखरलखर हिंड्न थाल्यो भने के भन्छन् मान्छेहरू ! मन्त्रीको पनि त गरिमा हुन्छ, इज्जत हुन्छ । मन्त्रीले पनि कुल्ली–भरियाहरूले जस्तै झोला बोकेर हिंड्न थाल्ने हो भने त मन्त्रीकै इज्जत जाँदैन र भन्या !” “साला कुखुरा चोर ! भैँसीलाई करणी गर्दा इज्जत नजाने, अहिले आफ्नो झोला आफै बोक्नुपर्दा चाहिं इज्जत जाने !” यसरी नै मुखभरिको जवाफ दिन मन लागेको थियो तर शब्दहरू मुखसम्मै ल्याएर पनि बाहिर निकाल्न सकिनँ । भित्रभित्रै दबाएँ । सोचें– यो मुला हनुमानलाई सुनाउनुको पो के नै अर्थ छ र ! सुन्नासाथ मैमाथि जाइलाग्ला जस्तो छ । दिमागबाट आँखैअगाडि विगतका ती दिनहरू झलझली आए– यही साले भैँसी माइलो ! उस जमानामा चार–पाँच पाथी नून बोकेर यही बाटो हिंड्थ्यो । हाइवेको बजारबाट नूनतेलको भारी बोकेर आफ्नो गाउँमा पुग्नै पाँच–सात घण्टा लाग्थ्यो । सम्झनामा धान–परालका भारी बोकेर उसैले चढेका उकालीहरू आए । घाँसका भारी बोकेर झरेका ओरालीहरू आए । हो, त्यो यही भैँसी माइलो हो जसले आज आफ्नै एउटा हातेझोला पनि बोक्न सकिरहेको छैन । पदमा पुगेपछि मान्छे किन यतिका बिघ्न निर्घिनी हुन्छन् हँ ! लाजले पनि लजाइरहेको अवस्था देख्नु र भोग्नुपर्दा म आश्चर्यचकित छु । मान्छेमा आएको यो अनौठो परिवर्तनले मलाई सोचमग्न बनाएको छ । यिनै कुराहरू मनमा खेलाइरहेको समयमा अघि भर्खरसम्म मैसँग गफ्फिएको हनुमान मञ्चमा पुगिसकेछ । ऊ पहिले पनि मञ्चको पछाडिपट्टिको पंक्तिमा थियो र अहिले पनि त्यहीँ बसेको छ । यता मेरो वरिपरि फेरि गाइँगुइँ सुनिन थाल्छ । एउटा व्यक्तिको मुखबाट आश्चर्यको भावसहित आवाज आउँछ– “डेडेढ सय मिटरको बाटाभरि किन कार्पेट बिच्छ्याउनुपरेको होला !” मेरो नजिकै रहेको अर्को व्यक्तिबाट अलिक हलुका खालको आवाज निस्कन्छ, “अचेल मन्त्रीलाई स्वागत गर्ने तरिका नै यही होला !” वरिपरिबाट निस्केका यी आवाजहरू सुन्दा खित्कै छोडेर हाँस्छु म । हाँसो रोकिएपछि मलाई पनि एक मनले केही बोलूँ बोलूँ हुन्छ र अर्को मनले नबोलूँ कि जस्तो पनि लाग्छ तर खसखस रोक्न सक्दिनँ । मेरा मुखबाट पनि आश्चर्यजनक रूपमा शब्दहरू निस्कन्छन्; निकै उपेक्षापूर्ण शब्दहरू– “साले भैंसी ! तँ भैंसी माइलालाई नि रातो कार्पेट !” The post कथा : भैंसी माइलालाई रातो कार्पेट ! appeared first on साहित्यपोस्ट.