Redirecting...

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति सिबिफिनको घोर भर्त्सना - www.onlinepana.com

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति सिबिफिनको घोर भर्त्सना - www.onlinepana.com
Source: onpa

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको दुर्व्यवहारप्रति घोर भर्त्सना गरेको छ। सिबिफिनका अनुसार बैंकबाट प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा त्यसको समाधानका लागि स्वयं ऋणीको आग्रहमा छलफल गर्न पुगेका बैंक कर्मचारीमाथि ऋणीहरूको समूहले अर्धन्यायिक निकायको रूपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा नियोजित रूपमा घण्टौँसम्म नियन्त्रणमा लिई अमानवीय व्यवहार तथा हिंस्रक आक्रमण गरेको हो। घटनापछि स्थानीय सुरक्षा निकायले जाहेरीबिनै अनुसन्धान अघि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै पीडितको जाहेरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएकोप्रति समेत सिबिफिनले कडा आपत्ति जनाएको छ। सिबिफिनले जारी गरेको विज्ञप्तिमा निहित स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील र अत्यावश्यक क्षेत्रमाथि गरिएको यस्तो बर्बर आक्रमणले कर्तव्यनिष्ठ कर्मचारीको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पारेको उल्लेख गरिएको छ। साथै, यस्ता आपराधिक घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गरिएको छ। विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीमाथि भएको आक्रमणलाई केवल बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं नेपाल सरकारमाथिकै आक्रमणका रूपमा लिइएको उल्लेख गरिएको छ। सिबिफिनले लाखौँ ग्राहकलाई सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाको साख, गरिमा र विश्वसनीयतामा आघात पुर्‍याउने, बैंकिङ कारोबारमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, कर्जा नतिर्न दुरुत्साहन गर्ने तथा कर्मचारीमाथि भौतिक आक्रमण र मानमर्दन गर्ने गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति गुनासो भए सम्बन्धित संस्थाको माथिल्लो व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै कानून आफ्नै हातमा लिएर यस्ता निन्दनीय कार्य गर्नुले बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुकको भविष्य नै संकटमा पर्न सक्ने भन्दै सिबिफिनले सबै सरोकारवाला पक्षलाई संयम र संवेदनशीलता अपनाउन आग्रह गरेको छ। The post ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति सिबिफिनको घोर भर्त्सना appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).