माओवादी केन्द्रको नाम र चुनाव चिन्ह यथावत् राख्न आयोगसँग जेन–जी युवाको माग - nagariknews.nagariknetwork.com
१० वाम पार्टी एकता गर्दा विसर्जन गरिएको नेकपा माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्न निर्वाचन आयोगमा निवेदन परेको छ। शुक्रबार माओवादी संघर्षका शहीद सन्तति फाउन्डेसनका तर्फबाट सन्दीप पुनले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। पुन आफै जेन–जी अभियन्ता रहेको पनि दाबी गरेका छन्। पुनले निर्वाचन आयोगमा दर्ता गराएको पत्रमा ‘पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिन्ह यथावत्’ राख्न माग गरेका छन्। माओवादी केन्द्रको पार्टी कार्यसमिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भइसकेको अवस्थामा विधान बमोजिम उक्त समिति काम चलाऊ मात्रै भएकाले पार्टी जीवनमा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नसक्ने पत्रमा दाबी गरिएको छ। ‘अर्को कुनै पार्टीमा विलय वा मर्ज गर्न चुनाव चिन्ह र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न नसक्ने भएको हुँदा उक्त नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वैधानिक रूपले यथावत् रहेकोले उक्त पार्टीको नाम तथा चुनाव चिन्ह यथावत् राख्न र फ्रिज नगर्न अनुरोध गर्दछौँ,’ पत्रमा भनिएको छ। माओवादी केन्द्र ऐतिहासिक जनयुद्ध र सोको आधारमा भएको सम्पूर्ण परिवर्तन, हजारौँ शहीद, घाइते तथा बेपत्ताहरूको योगदानमा बनेको पुनले पत्रमा लेखेका छन्। यस्तै निर्वाचन आयोगलाई कुनै दबाब वा प्रभावमा रहेर निर्णय नगर्न पनि आग्रह गरिएको छ।‘आयोग प्रभावित भई चुनाव चिन्ह पार्टीको नाम झण्डा र मार्गदर्शक सिद्धान्त फ्रिज गरी चुनावमा भाग लिन वञ्चित गरिएमा निर्वाचनको वैधानिकतामा प्रश्न उठ्ने छ,’ पत्रमा भनिएको छ, ‘साथै निर्वाचन सम्पन्न हुन नदिन आन्दोलन गर्नुपर्ने बाध्यता हुनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ।’ त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवार निर्वाचन आयोग र नेपाल सरकार नै हुने पनि पत्रमा चेतावनी दिइएको छ।