Redirecting...

मेयर थापाले झण्डै साढे ३ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर, एक वर्ष कैद र बिगो जफतको फैसला - www.nepalclicks.com

मेयर थापाले झण्डै साढे ३ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर, एक वर्ष कैद र बिगो जफतको फैसला - www.nepalclicks.com
Source: nplk

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो। अदालतका अनुसार बागमती नगरपालिकामा मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थको हानि नोक्सानी गरेको पुष्टि गरेको छ। अदालतले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसूरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि यही साउन २९ गते पेशी तोकेको छ। त्यसैगरी, प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई आरोप अनुसारको कसुर प्रमाणित नदेखिएकाले सफाइ दिएको छ। अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पनि दोषी ठहर गरेको छ। थापाको सम्पूर्ण आय र व्यय मूल्याङ्कन गर्दा उनको कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकोमा कुल व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएको फैसलामा उल्लेख छ। यसअनुसार थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणित भएकोले उनलाई एक वर्ष कैद र त्यति नै बराबरको जरिवाना हुने ठहर अदालतले गरेको छ। सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत हुने पनि अदालतले आदेश दिएको छ।