Redirecting...

खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोट्र्स’ स्थापना हुँदै - ehimalayatimes.com

खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोट्र्स’ स्थापना हुँदै - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित ‘पेसएक्स स्पोट्र्स’ नामक नयाँ संस्था स्थापना हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् संस्थाका पदाधिकारीहरूले खेल क्षेत्रमा विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित संस्था स्थापना अन्तिम तयारीको चरणमा पुगेको जानकारी दिएका हुन् । ‘पेसएक्स स्पोट्र्स’ ले आफूलाई केवल एउटा प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित विभिन्न निकायहरूलाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । खेलकुदलाई शिक्षा, स्वस्थ जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा स्थापित गर्नु संस्थाको दीर्घकालीन दृष्टिकोण रहेको छ । संस्थाले प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूको शारीरिक, मानसिक र नैतिक विकासमा ध्यान दिँदै स्थानीय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने स्पष्ट र व्यवस्थित मार्ग निर्माण गर्ने उद्देश्य लिएको छ । ‘पेसएक्स स्पोट्र्स’ नेपालमा खेल व्यवस्थापन तथा खेलाडी विकासमा समर्पित संस्था बन्ने प्रतिबद्धता जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजकहरूले संस्थाले खेलकुद विकासलाई जगैदेखि अघि बढाउने, खेलाडीको समग्र उन्नतिमा जोड दिने तथा संस्थागत सहकार्यमार्फत् दिगो र समावेशी खेलकुद प्रणाली निर्माण गर्ने बताए । साथै, युवा पुस्तामा लगानी, खेल शिक्षाको प्रवद्र्धन र समुदायको सक्रिय सहभागितामार्फत् सक्षम खेलाडी उत्पादन गर्नुका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पु¥याउने लक्ष्य पनि संस्थाले राखेको छ । ‘पेसएक्स स्पोट्र्स’ का मुख्य कार्यक्षेत्रमा खेलाडीको समग्र विकास, विद्यालय तथा कलेजस्तरीय खेलकुद कार्यक्रम सञ्चालन, जगैबाट प्रतिभा पहिचान तथा विकास, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम साथै विभिन्न प्रतियोगिता आयोजना र सामुदायिक संलग्नता रहेका छन् । संस्थाले दीर्घकालीन योजनामार्फत् नेपाली खेलकुद क्षेत्रलाई व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको जनाइएको छ ।