विशेष महाधिवेशनमा ६० प्रतिशत प्रतिनिधिको सहभागी भएसँगै झस्किए देउवा, लचकताका साथ अघि बढ्ने संकेत - bishwokhabar.com
काठमाडौं- नीति र नेतृत्व बदल्ने उद्घोषसहित असन्तुष्ट पक्षले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएपछि नेपाली कांग्रेसभित्रको सन्तुलन कायम राख्न नेताबीच दौडधुप जारी छ । महाधिवेशन सञ्चालनका लागि आवश्यक कार्यविधि र राजनीतिक प्रस्तावसहित हलमा छलफल सुरु भएपछि सभापति शेरबहादुर देउवा झस्किएका छन् । लगत्तै उनले आफूनिकट नेताहरू र शेखर कोइरालालाई भेटेर लचकताका साथ अघि बढ्ने संकेत गरेका छन् । सोहीअनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संवादमा बोलाएका छन् भने समस्या समाधानका लागि मंगलबार केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् । विशेष महाधिवेशनका पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागी भएसँगै हलबाट नयाँ नेतृत्व चयनको माग भइरहेको छ । विशेष महाधिवेशनलाई नेतृत्वले बेवास्ता गरिरहेपछि महामन्त्रीद्वय थापा र शर्मा पनि नयाँ नेतृत्व लिएर मात्रै हलबाट निस्कने मुडमा पुगेका थिए । तर सोमबार दिउँसोबाट एकाएक उनीहरूको ध्यान मोडिएको छ । दुई महामन्त्रीले राजनीतिक तथा सांगठनिक प्रस्ताव पेस गरेर महाधिवेशनलाई नीति र विधानमा केन्द्रित गर्दै नेतृत्वसँग संवादको ढोका खोलेका हुन् । विशेषबाट नेतृत्व चयनलाई रोकेर पार्टीभित्रको सम्भावित विग्रहलाई व्यवस्थापन गर्न संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले सभापति देउवालाई पटकपटक भेटेका छन् । समस्याको गाँठो फुकाउन उनले तीनवटा प्रस्ताव अघि सारेका छन् । त्यसैको वरिपरि रहेर सभापति देउवाले सोमबार दिनभरजसो आफ्ना विश्वास पात्रसँगको छलफल गरेका छन् । लगत्तै उनी महामन्त्रीद्वय गगन–विश्वसँग संवादमा छन् । महामन्त्री शर्माले पठाएका सहमतिका सम्भावित प्रस्ताव डा. कोइरालाले सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । नेता कोइराला, उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल महामन्त्री शर्माको प्रस्ताव लिएर देउवा भेट्न गएका थिए । ‘सहमतिका लागि केही प्रस्ताव छन् । त्यो प्रस्ताव शेखर दाइले सभापतिलाई दिनुभएको छ । सभापतिले तत्काल छलफल गरेर निकास खोज्ने बताउनुभएको छ,’ गुरुङले भने । महामन्त्रीहरू सोमबार राति अबेरसम्म सभापति देउवासँगको सघन संवादमा रहे पनि निष्कर्ष निस्किसकेको छैन । दुबै पक्षले संवादका लागी वार्ताटोली बनाएका छन् । संस्थापन पक्षले पूर्णबहादुर खड्का र विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुरूराज घिमिरेलाई वाताृको जिम्मेवारी दिएका छन् । विशेष महाधिवेशनको हलबाट वर्तमान कार्यसमिति भंग गरेर नयाँ नेतृत्व छनोटको प्रक्रियामा जाने निश्चित भएपछि संस्थापन पक्ष तरंगित भएको हो । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले कार्यविधि पारित गरेपछि सभापति देउवाले आफूनिकट नेताहरूलाई छलफलका लागि महाराजगन्ज बोलाएका थिए । छलफलमा सभापति देउवाले पार्टी फुट्ने आशंका व्यक्त गर्दै नेतालाई संयम र अडिग रहन भनेका छन् । ‘पार्टीलाई मिलाएर जाने कुरामा सबैसँग संवाद गर्ने र आगामी दिनमा आउन सक्ने परिस्थितिको सामना गर्नसमेत नेताहरूलाई निर्देशन गर्नुभएको छ,’ नेता रमेश लेखकले भने । विशेष महाधिवेशनको नेतृत्व गरेका महामन्त्री थापा र शर्मासमेत एक कदम पछि हटेर समस्या समाधानतर्फ लागेको नेता देवराज चालिसेले बताए । हलले नयाँ नेता छानेर जाँदा आउन सक्ने वैधानिकताको जोखिमलाई दृष्टिगत गर्दै नेताहरू पछि हटेको गगननिकट एक नेताले बताए । पछिल्लोपटक सभापति र कार्यवाहक सभापतिसँग मिलन बिन्दु खोज्ने क्रममा महामन्त्रीहरूले वर्तमान नेतृत्व परिवर्तनलाई बटम लाइन बनाएका छन् । ‘वर्तमान नेतृत्वबाट आमचुनावमा जान सक्ने अवस्था रहँदैन,’ थापानिकट नेता निमा गिरीले भनिन्, ‘वर्तमान केन्द्रीय समिति भंग गरेर महामन्त्री गगन थापाकै संयोजकत्व महाधिवेशन आयोजक समिति बनाउने र वैशाखमा हुने महाधिवेशनको सुनिश्चितताका साथ पार्टीलाई आमनिर्वाचनमा होमिने वातावरण बनाएर जाँदा सबैको जित हुन सक्छ ।’ तर यो विषयमा संस्थापन पक्ष सहमत हुने अवस्था नरहने नेताहरू बताउँछन् । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन–विश्व र संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाबीच सोमबार राति अबेरसम्म सघन छलफलमा छन् । उनीहरू एजेन्डा स्थापित गर्दै मिलन बिन्दु खोज्न प्रयासरत रहेको बताइएको छ । ‘छलफलमा एकले अर्को पक्षको एजेन्डामा गलाउने प्रयत्नमा रहेको एक नेताले बताए । ‘यो सबै शक्ति संघर्ष हो,’ उनले भने, ‘आगामी निर्वाचनमा कसले टिकट बाँड्ने भन्नेदेखि आमनिर्वाचनमा कस्तो अनुहार लिएर जाने भन्नेसम्मका छलफल भइरहेका छन् ।’ कार्यवाहक सभापतिको जिम्मेवारी लिएका पूर्णबहादुर खड्काले विवाद समाधानका लागि प्रयास गरे पनि महामन्त्रीहरूले उनलाई स्वीकार गरेका थिएनन् । राजनीतिबाट सुखद बहिर्गमनका बेला पार्टीभित्रको विवाद मिलाएर अपजसबाट बच्न देउवालाई निकटस्थले सुझाएका छन् । पछिल्लो समय रमेश लेखक, शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, श्याम घिमिरे, मीन विश्वकर्मासहितका नेताले पार्टीलाई मिलाएर लान देउवालाई सुझाएका नेता विश्वकर्माले जानकारी दिए । विशेष महाधिवेशन निकै अगाडि बढेपछि मध्यमार्गी धारका नेताहरूले बन्दसत्रलाई समेत सेफ ल्यान्डिङ गराउन सक्नेगरी अघि बढ्न सुझाव दिएको उनको भनाइ छ । संस्थापनकै धेरै नेताहरू विशेष महाधिवेशनमा सहभागी भएपछि देउवालाई उनको समूहले महामन्त्रीहरूसँग छलफल गरेर निकास निकाल्न सल्लाह दिएका हुन् । देउवाका विश्वास पात्र आइतबारसम्म विशेष महाधिवेशनमा गणपूरक संख्या नपुग्नेमा विश्वस्त थिए । विशेष महाधिवेशनका सन्दर्भमा सभापति देउवालाई गलत सूचना दिएर भ्रममा पारेको देउवानिकटका एक नेताले बताए । उनले भने, ‘सभापतिजीलाई उहाँसँग नजिक रहेका नेताहरूले नै विशेष महाधिवेशनमा संख्या कम आउने र यसबाट केही निर्णय नहुने भनेर गलत सूचना प्रवाह गर्दा यो अवस्था आएको हो ।’ आइतबार साँझ र सोमबार बिहानसम्म आइपुग्दा विशेष महाधिवेशन पक्षधर नेताहरू हलले नीतिसहित नेतृत्व चयनकै प्रक्रियाबाट पछि नहट्ने अवस्थामा पुगेका थिए । त्यसलाई रोक्न सोमबार दिनभर नै विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको दौडधुपले शीर्ष नेताबीच संवादको वातावरण बनेको थियो । केन्द्रीय सदस्य सीता गुरुङले भनिन्, ‘पार्टीका नेता र महाधिवेशन प्रतिनिधिहरू समेतको अपमान नहुनेगरी सबैको जित सुनिश्चित वातावरण निर्माण गर्दै कांग्रेसलाई एकढिक्का राख्नेगरी शीर्ष संवाद जारी छ । मंगलबार बिहानसम्म निकास निकाल्ने प्रयासमा नेताहरू हुनुहुन्छ ।’ भृकुटी मण्डपको सभाहलमा प्रतिनिधिहरूले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि छलफल जारी राख्दै मंगलबार टोली नेताहरूले सुझाव पेस गर्ने कार्यतालिका छ । सात प्रदेशको सातवटै समूह बनाएर छलफल गरेपछि निष्कर्षसहितको सुझाव विशेष महाधिवेशन मूल आयोजक समितिलाई बुझाउनुपर्नेछ । त्यसका लागि समय अभावको कारण देखाउँदै आयोजकले मंगलबार बिहान ९ बजे कार्यक्रम स्थलमा आउन आह्वान गर्दै सोमबारको बन्दसत्र समापन गरेका छन् । तर यो बीचमा शीर्ष नेताहरूबीचको संवादबाट केही निष्कर्ष आउने विशेष महाधिवेशन पक्षका नेताहरूको विश्वास छ । हलमा सहभागी महाधिवेशन प्रतिनिधिसमेत पार्टी विभाजनको पक्षमा छैनन् । नेताहरू सहमति गरेर आएको खण्डमा त्यसलाई स्वीकार्ने उनीहरूको भनाइ छ । विशेष महाधिवेशनको कार्यविधि केन्द्रीय समिति भंग गरेर नयाँ समिति बनाउने प्रक्रियामा अघि बढेपछि संस्थापन पक्षका नेता थप तनावमा पुगेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूसमेत निर्वाचनको मुखमा वैधानिकताको विवादमा अल्झँदा थप समस्यामा पर्नेमा सचेत देखिएका छन् । विशेष महाधिवेशनले बुहमतबाट नयाँ नेतृत्व चयन गरे पनि मुद्दा मामलाको झमेलमा फस्ने विषयमा नेताहरू सतर्क भएर संस्थापन पक्षलाई आफ्नो एजेन्डामा सहमत हुन दबाब बढाइरहेको बताइएको छ ।