जनार्दनलाई प्रचण्डको चेतावनी– रमिता नदेखाउनुस् - mahendranagarpost.com
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अन्तर्विरोधलाई बाहिर लगेर छताछुल्ल पारेको भन्दै उपमहासचिव जनार्दन शर्मासँग आक्रोश पोखेका छन् । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यदि माओवादी पार्टीमा विधि र विधान कार्यान्वयन गर्ने हो भने जनवादी केन्द्रीयता लागू गर्नुपर्ने बताए । विधिका कुरा गर्नेहरूले बोलीमा लगाम लगाउनुपर्ने उनको भनाइ थियो । प्रचण्डको भनाइ भन्दै एक पदाधिकारीले भने, ‘पार्टीभित्रका कुराहरू बाहिर बोल्ने कुराले राम्रो गरेको छैन । पार्टीमा विधि पालना गर्ने हो भने बोली व्यवहार पनि विधि विधानमा राखौँ । पार्टीभित्रको एकतालाई सुदृढ गरौँ । पार्टीभित्रका कुरा बाहिर जानु गलत हो । विधिमा चलौँ । मुखमा जे आयो त्यही बोल्दै नेतृत्वलाई खुइल्याउने काम बन्द गरौँ ।’ प्रचण्डले नेतृत्वलाई खुइल्याए पाार्टीमा आकर्षण कसरी हुन्छ भन्दै बैठकमा प्रश्न गरेका थिए । केही दिनअघि उपमहासचिव शर्माले मनमोहन अधिकारीबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट रहेको बताएका थिए । एक स्थायी कमिटी सदस्यले भने, ‘नेतृत्वलाई खुइल्याउँदै जाने हो भने बाहिरबाट को आउँछ ? नेतृत्वलाई नंग्याउने, खुइल्याउने कुरा ठीक होइन, यसले राम्रो गर्दैन । अरुलाई खेल्ने ठाउँ नदिऔँ, होइन भने नेतृत्व बदल्नुपर्यो । यही नेतृत्व मान्ने हो भने नेतृत्व सक्ने, खुइल्याउने र विरोधीलाई रमिता देखाउने काम राम्रो होइन ।’ प्रचण्डले पार्टीका गतिविधिबारे बाहिर सार्वजनिक मञ्चमा भन्दा पनि पार्टीभित्रै कुरा राख्न पनि सुझाव दिए । बैठकमा प्रचण्डले भनेका कुरा भन्दै स्थायी कमिटी सदस्यले थपे, ‘साथीहरूले नै विधि र विधानका कुरा धेरै गर्नुहुन्छ । तर, जे पायो त्यही सार्वजनिक ठाउँमा बोल्नुहुन्छ । बैठकमा बोल्ने हो, जे बोल्न मन छ भित्रै भन्ने हो । दुनियाँलाई खेल्ने ठाउँ नदिऔँ । अरुले पनि उचाल्छन् । हाम्रो हात लाग्यो शून्य हुन्छ ।’ The post जनार्दनलाई प्रचण्डको चेतावनी– रमिता नदेखाउनुस् appeared first on MahendranagarPost.