जुम्लामा कोदो दिवस : रैथाने बालीको संरक्षणमा जोड - nagariknews.nagariknetwork.com
कुनै समय जुम्लाको सिञ्जा गाउँपालिका–५ र ६ का सबै गाउँबस्तीमा जताततै कोदो खेती गरिएको भेटिन्थ्यो। कोदोको रोटी खानेदेखि पिठो महँगोमा बिक्री भइरहेको थियो। तर, कोदोको उत्पादन घटेको छ। दशकअघिसम्म ७ क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको किसान बताउँछन्। सिञ्जा–६ की दुधकली बुढाले कोदो बाली किसानले लगाउन छाडेको बताउँछिन्। दैनिक उपभोग्य सामान घरदैलोमा पुग्न थालेपछि कोदो खेती गर्न छाडिएको हो। उनले भनिन्, ‘कोदो फल्ने बारी बाँझो छन्।’ यस्तै अर्का सिञ्जा–५ की प्याउरी बुढाका अनुसार अहिले कोदोको दाना भेटिए अचम्म मान्नुपर्ने अवस्था छ। ‘पाका पुस्तामा कोदो फलाउने रहर देखिन्छ,’ तर, ‘पछिल्लो पुस्ता दुख गर्न रुचाउँदैनन्।’ उनको अनुसार कोदोको ढिँडो, रोटी बनाउने, केक र बिस्कुटसमेत बनाउन सकिन्छ। जुम्लामा धेरैजसो किसानले कोदोको पिठोबाट रोटी खान्छन्। यस्तै शुक्रबार जुम्लामा पनि रैथाने बाली कोदो संरक्षण तथा प्रवर्द्धन गर्न कोदो दिवस २०८२ मनाइएको छ। अन्तर्राष्ट्रिय कोदो दिवसको अवसरमा अर्गानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न दिवस मनाइएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। गत असार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गरेको कार्यालय प्रमुख राम अधिकारीले बताए। उनको अनुसार बहुगुणी अन्न कोदो खेती कम भइरहेको अवस्थामा सरकारले हरेक साउन १६ राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो। कोदो बाली पोषिलो तथा औषधीय गुण भएको बाली हो। जुम्लाको खेतीयोग्य जमिनमध्ये २ हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको छ। भने, ३ हजार ८ सय ५० मेट्रिक टन कोदो उत्पादन हुने गरेको कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताए। कोदोको उत्पादकत्व १.४१ प्रतिशत छ। सरकारले कोदो दिवस ‘कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नारा तय गरेको छ। पछिल्लो समय जुम्लाका स्थानीय तह र केही सामुदायिक विद्यालयले पनि खाजा नास्ता अर्गानिक रैथाने बालीबाट बनाउने र खुवाउने गरिरहेका छन्। आजभोलि जुम्लामा कोदोको पिठो प्रतिकेजी एक सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। कोदोको दाना एक सय २० रुपैयाँमा बिक्छ। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्याग्निज, भिटामिन बी लगायतका तत्व पाइने गरेको छ। तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, पेट स्वस्थ राख्न पनि कोदोको परिकार उपयुक्त हुने विज्ञको भनाइ छ। यस्तै कर्णाली प्रदेशभर १४ हजार ५ सय ६३ हेक्टरमा कोदो खेती भइरहेको छ। गत आर्थिक वर्षमा १६ हजार ३ सय १० मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांकले देखाउँछ। कोदोको उत्पादकत्व १.१२ प्रतिशत छ। नेपालभर २ लाख २४ हजार ९ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ, भने गत आर्थिक वर्षमा नेपालभर कुल ३ लाख ७ हजार ३२ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांकले देखाउँछ। कोदोको उत्पादकत्व १.३४ प्रतिशत छ। कोदो खेती ३ हजार ६ सय ५० मिटर उचाइसम्म हुने कृषि विज्ञ बताउँछन्।