प्रदीप ज्ञवालीलाई ‘बाइपास’ गर्दा विवाद भएको बारे मुख खोले शंकर पोखरेलले - www.sutranews.com
काठमाडौं । नेकपा (एमाले) का नेता शंकर पोखरेलले महासचिव पदमा पुनः उम्मेदवारी दिनुको कारण राष्ट्रिय राजनीतिक अवस्था ‘अत्यन्तै चुनौतीपूर्ण’ भएको बताएका छन्। सोमबार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले वर्तमान राजनीतिक परिस्थितिले पार्टीलाई अझ एकताबद्ध भएर अघि बढ्न बाध्य बनाएको दाबी गरे। उनले राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीहरू चिर्न सिंगो पार्टीलाई एउटै लाइनमा उभ्याउनु आवश्यक भएको बताए। पोखरेलका अनुसार कम्युनिस्ट आन्दोलनका अधुरा कार्यभार पूरा गर्न संगठनात्मक एकता अनिवार्य छ। त्यसका लागि पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरू अनुशासित ढंगले अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए। महासचिव दोहोरिने निर्णयलाई ‘व्यक्तिगत चाहना’ भन्दा पनि ‘राजनीतिक बाध्यता’ को रूपमा प्रस्तुत गर्दै पोखरेलले पार्टीलाई कठिन समयबाट पार लगाउन निरन्तरताको आवश्यकता रहेको संकेत गरे। उनले भनेका छन्- हामी पार्टीको महाधिवेशन समयअगावै सम्पन्न गर्ने गरी लागिरहेका छौँ । अहिले राष्ट्रिय राजनीति चुनौतिपूर्ण छ । त्यसलाई सामना गर्नको लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा हामी अघि बढ्न खोजिरहेका छौँ । त्यसका लागि मैले पार्टीको महासचिवमा दोहोरिने फैसला गरेको छु । यस अर्थमा यसलाई स्वभाविक अर्थमा लिनुपर्दछ । गर्न बाँकी काम आन्दोलनको विषय हो कुनै व्यक्तिको विषय होइन । आन्दोलनले के कुराको माग गर्दछ ? कसरी अगाडि बढ्नुपर्दछ भन्ने आधारमा पार्टीले दिएका फैसलाहरूलाई कार्यकर्ताहरूले कार्यान्वयन गर्ने गर्दछौँ । यतिबेला हामी पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्ने संकल्प गरेका छौँ । र, उहाँको टिमलाई बलियो बनाउने सन्दर्भमा कसले कहाँ भूमिका खेल्नुपर्दछ भन्ने भुमिकाका आधारमा हामी अगाडि बढ्न खोजेका छौँ ।