मधेसमा एमाले–कांग्रेसका नेता मुख्यमन्त्री बन्न सक्दैनन् भन्ने भाष्य ताेडिएकाे छ : शंकर पोखरेल - janatatimes.com
काठमाडौं, मंसिर २० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशको पछिल्लो राजनीतिक परिवर्तनलाई नेपालको लोकतान्त्रिक परिपक्वतामा नयाँ चरणको रूपमा व्याख्या गर्नु भएको छ। मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेस केन्द्रीत दलहरूको समर्थनमा मुख्यमन्त्री बन्नु र यसअघि एमाले नेता सरोज यादवले जोखिम मोलेरै मुख्यमन्त्री बन्नुले मधेसमा कांग्रेस-एमालेका नेता मुख्यमन्त्री बन्न सक्दैन भन्ने भाष्यलाई ताेडेकाे पाेखरेलकाे धारणा छ । महासचिव पोखरेलले मधेसमा लामो समयदेखि रही आएको राजनीतिक विभाजन र धारणागत अविश्वास क्रमशः समाप्त हुँदै गएको उल्लेख गर्दै यस्तो परिवर्तनलाई लोकतान्त्रिक अभ्यासको सफलता मान्नु पर्ने बताउनु भएकाे छ । मधेसी जनताको जनादेशका आधारमा कुनै पनि दलका नेताले नेतृत्व लिन सक्ने वातावरण बन्नु नेपालको संघीय संरचना बलियो हुँदै गएको प्रमाण भएकाे उहाँकाे बुझाइ छ । नेपाली राजनीतिमा मधेस प्रदेशमा देखिएको यो समसामयिक परिवर्तनलाई उहाँले समग्र रूपमा ‘सकारात्मक र स्वागतयोग्य’ भन्दै लोकतान्त्रिक अभ्यासलाई अझै मजबुत बनाउन सबै दलले योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनु भएकाे छ । ‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे, त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए, नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ, मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो’, सामाजिक सञ्जाल फेसबुकमा पाेखरेलले लेख्नु भएकाे छ ।