स्वास्थ्य विज्ञान विश्वविद्यालय उपकुलपतिविहीन, दुईपटक विज्ञापन गर्दा पनि आवेदन दिने भेटिएनन् - arthasarokar.com
काठमाडौँ । कैलालीको गेटामा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय उपकुलपतिविहीन छ । तर, दुई दुईपटक विज्ञापन गर्दा पनि आवेदन दिने कोही भेटिएका छैनन् । स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि उपकुलपतिका लागि दुईपटकसम्म विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले दुई पटक विज्ञापन गर्दा पनि कसैको आवेदन नपरेको बताएका छन् । ‘सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदको लागि दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन ।’, पुनले लेखेका छन् । त्यस्तै, उनले उपकुलपतिका लागि १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा. भइ काम गरेको इच्छुक व्यक्तिलाई विश्वविद्यालयको नेतृत्व लिन पनि आह्वान गरेका छन् । ८ अर्ब ११ करोड लागतमा निर्माण गरिएको उक्त संरचना अहिले प्रयोगविहीन छ ।