Redirecting...

विद्युतीय सवारी अनुदानमा कटौतिपछि टेस्लाको नाफा २०२५ मा ४६ प्रतिशतले घट्यो - www.technologykhabar.com

विद्युतीय सवारी अनुदानमा कटौतिपछि टेस्लाको नाफा २०२५ मा ४६ प्रतिशतले घट्यो - www.technologykhabar.com
Source: tckb

अर्बपति इलन मस्क ट्रम्प प्रशासनमा भूमिकामा प्रवेश गरेपछि र अमेरिकी कांग्रेसले विद्युतीय सवारी (ईभी) सब्सिडी हटाएपछि टेस्लाको बिक्री घट्दा सन् २०२५ मा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले घटेको छ। बुधबार सार्वजनिक वित्तीय विवरणअनुसार टेस्लाले २०२५ भरि जम्मा ३.८ अर्ब डलर नाफा कमाएको छ, जुन पछिल्ला वर्षहरूमध्ये सबैभन्दा कम हो। कार बिक्रीबाट हुने कुल आम्दानी पनि बर्सेनि आधारमा ११ प्रतिशतले घटेको छ। यसअघि नै टेस्लाले २०२५ मा विश्वभर १६.३ लाख सवारीसाधन ढुवानी गरेको जानकारी दिएको थियो, जसले लगातार दोस्रो वर्ष बिक्री घटेको देखाउँछ। जबकि मस्कले वर्षौंदेखि औसत ५० प्रतिशत वार्षिक वृद्धि हुने दावी गर्दै आएका थिए। चौथो त्रैमासिक र समग्र २०२५ का नतिजामा बिक्री घट्ने अपेक्षा लगानीकर्ताले पहिल्यै गरेका थिए। तैपनि टेस्लाले वाल स्ट्रिटको आम्दानी र राजस्व अनुमानभन्दा राम्रो प्रदर्शन गरेपछि बुधबार अफ्टर–मार्केट कारोबारमा सेयर मूल्य बढेको थियो। अटोमोबाइल व्यवसाय कमजोर बने पनि ऊर्जा र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता अन्य क्षेत्रमा देखिएको मजबुतीले टेस्लालाई केही हदसम्म सहारा दिएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई पठाएको पत्रमा भनिएको छ, “२०२५ टेस्लाका लागि निर्णायक वर्ष रह्यो, जसमा हामी हार्डवेयर केन्द्रित कम्पनीबाट ‘फिजिकल एआई’ कम्पनीतर्फ रूपान्तरण हुँदै गयौं।” उक्त पत्रमा टेस्लाले मस्कको एआई स्टार्टअप एक्सएआईमा हालै २ अर्ब डलर लगानी गरेको पनि खुलासा गरेको छ, जुन एक्सएआई को सिरिज–ई फन्डिङको हिस्सा हो। टेस्लाको सोलार र ऊर्जा भण्डारण व्यवसायबाट हुने आम्दानी २०२४ को तुलनामा २५ प्रतिशतले बढेको छ भने सेवासम्बन्धी आम्दानी (फुल सेल्फ–ड्राइभिङ सफ्टवेयर, बीमा, पार्टपुर्जा र सुपरचार्जिङ) १८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले अघिल्ला त्रैमासिकको तुलनामा ग्रस मार्जिनसमेत बढाउन सफल भएको जनाएको छ। टेस्ला सेमी (२०१७ मा पहिलोपटक सार्वजनिक) र साइबरक्याब (२०२४ मा सार्वजनिक भए पनि लामो समयदेखि चर्चा हुँदै आएको) जस्ता बहुप्रतिक्षित परियोजना यसै वर्षको पहिलो छमाहीमा उत्पादनमा जाने अपेक्षा गरिएको छ। सेयरधनी पत्रअनुसार टेस्लाका अन्य परियोजनाहरू पनि अघि बढिरहेका छन्। कम्पनीले टेक्सासमा लिथियम रिफाइनरीको पाइलट उत्पादन सुरु गरेको छ, स्वचालित ड्राइभिङ र रोबोटिक्सका लागि आफ्नै इन्फरेन्स चिप विकास गरिरहेको छ, र यसै वर्षको पहिलो त्रैमासिकमा तेस्रो पुस्ताको अप्टिमस रोबोट सार्वजनिक गर्ने योजना बनाएको छ। The post विद्युतीय सवारी अनुदानमा कटौतिपछि टेस्लाको नाफा २०२५ मा ४६ प्रतिशतले घट्यो appeared first on Technology Khabar.