राष्ट्रिय सभा समितिमा चलचित्र विधेयकको दफावार छलफल सम्पन्न - ehimalayatimes.com
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ । समितिको बुधवार बसेको बैठकपछि दफावार छलफल सकिएको हो । समिति सभापति तुलसाकुमारी दाहालले चलचित्र सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८१ माथि दफवार छलफल सकिएर मस्यौदा प्रतिवेदन तयारीको काममा लागेको जानकारी दिनुभयो । उहाँले मस्यौदा प्रतिवेदनको बाँकी काम पनि छिट्टै तयार पारेर अर्को बैठकमा मस्यौदामाथी छलफल गर्ने बताउनु भयो । उहाँले प्रतिवेदन तयार पारी अब बस्ने राष्ट्रिय सभामा पेश गर्नेगरी तयारी थालेको पनि जानकारी दिनुभयो । उहाँले संसोधनकर्ता सांसद, सरोकारवालाहरुको सुझाव सबैलाई समेटेर मस्यौदा प्रतिवेदन बनाइने जानकारी दिनुभयो । उहाँले सेन्सर बोर्डको नाम परिवर्तन गरेर प्रमाणिकरण गर्ने समिति राखिएको बताउनु भयो । तर त्यो समितिको अध्यक्ष को हुने भन्ने विषय भने टुंगोमा नपुगेको बताउनु भयो । समितिको अध्यक्षमा बाहिरबाट विज्ञ व्यक्ति ल्याउने भन्नेमा सबैको जोड रहेकोले मस्यौदामा सोहीअनुसार भएको तर कस्तो व्यक्तिलाई बनाउने, सिफारिस कसले गर्ने भन्ने विषय भने छलफल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले चलचित्र विधेयकको प्रतिवेदन पारित गरेपछि अर्को विधेयकको छलफल शुरु गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘बैठकमा चलचित्र सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ माथी छलफल गर्यौँ । राष्ट्रिय सभा नियामावलीले गरेको व्यवस्था अनुरुप विधेयक समितिमा आएको ६ महिनाभित्र सभामा पुर्याउनुपर्ने हुन्छ । समितिमा आउने क्रममा अलिकति ढिला भयो, बीचको अवस्थाले अलिकति ढिलो भयो । छलफलको क्रममा १३/१४ वटा बैठक बसेर दफावार छलफलको क्रम हामीले सक्यौँ । मस्यौदा प्रतिवेदनको काम बाँकी छ, हामी अर्को दिन मस्यौदा प्रतिवेदनमाथी छलफल गरेर यसको प्रतिवेदन तयार गर्छौं । निकट भविष्यमा बस्ने राष्ट्रिय सभामा हामीले यसलाई प्रतिवेदनको रुपमा लैजान्छौँ । यो विधेयक दफावार छलफल सकिँदाखेरी प्रतिवेदन तयारी पनि छिट्टै नै हामी गर्छौ र फरक अर्को विधेयकमा छलफल गर्न जान्छौँ ।’ बुधवार बसेको समितिको बैठकमा सभापति दाहालले चलचित्रसम्बन्धी विधेयकको मस्यौदाको प्रतिवेदन तयार पार्न संसद सचिवालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानून मन्त्रालयलाई निर्देशन दिनुभयो ।