Redirecting...

चेम्बर र विश्व बैंकबीच बैठक सम्पन्न: अर्थतन्त्रको अवस्था र लगानीका अवसरबारे छलफल - arthasanjal.com

चेम्बर र विश्व बैंकबीच बैठक सम्पन्न: अर्थतन्त्रको अवस्था र लगानीका अवसरबारे छलफल - arthasanjal.com
Source: sanj

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति, उद्योगी–व्यवसायी तथा विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोली सहभागी थियो । छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, जेन-जी आन्दोलनपछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानुनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखे । प्राकृतिक स्रोतका दृष्टिले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको बताउँदै अध्यक्ष अग्रवालले देशका अथाह प्राकृतिक स्रोतहरूको अन्वेषण र प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिने उल्लेख गरे । नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)को सूचीबाट मात्र बाहिर ल्याउने होइन, दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । उनले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सशक्त पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको बताए । भौतिक पूर्वाधार, कृषि, जलविद्युत, पर्यटन, खानी, जडीबुटी तथा औषधिजन्य वनस्पति जस्ता क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको र यी क्षेत्रहरूमा नीतिगत स्पष्टता तथा लगानीमैत्री वातावरण सृजना गर्नुपर्नेमा उनले जोड दिए । जेन-जी आन्दोलनपछि अर्थतन्त्रमा असर परे पनि निजी क्षेत्रको मनोबल उच्च रहेको उल्लेख गर्दै अग्रवालले नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत मात्र रहने विश्व बैंकको प्रक्षेपण यथार्थपरक नदेखिएको भन्दै पुनरावलोकन गर्न आग्रह गरे । छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरूले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरे । विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्र सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवर्द्धन, नीति–सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालको लगानी अवसर, नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरणसम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।