एभरेष्ट बैंकको नाफा बढ्यो, कति छ प्रतिसेयर आम्दानी ? - arthasarokar.com
काठमाडौँ । एभरेष्ट बैंकको नाफा सामान्य बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २.०४ प्रतिशतले बढेको हो । पुस मसान्तसम्ममा बैंकले कुल २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि सामान्य बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २०.३८ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ । खुद नाफा सामान्य बढे पनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यस अवधिमा बैंकको ईपीएर १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ । यस अधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ ।