रास्वपाका कार्यकर्ताले भने: नेताहरु इमानदार नबने टाउको लुकाउन भूमिगत हुनुपर्छ - nagariknews.nagariknetwork.com
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कोशी प्रदेशका विभिन्न स्थानमा आन्तरिक समस्या विवाद चर्किइरहेका बेला नेता–कार्यकर्ता इमानदार बन्न सुझाव दिइएको छ । इटहरी उपमहानगरपालिकाको शनिबार भएको नगर अधिवेशन उद्घाटनका क्रममा केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेताहरुले यदि इमानदार नबन्ने टाउको लुकाउन भूमिगत हुनुपर्ने स्थिति आउने बताए । उनीहरुले पार्टीमा आबद्ध व्यक्तिहरू नेता बन्ने अस्वस्थ्य प्रतिस्पर्धा हुँदा विवाद चर्किने गरेकाले इमानदार भएर सेवक हुने प्रतिस्पर्धामा उत्रन सुल्झाए । रास्वपाको साउन १० गतेका लागि तय गरिएको नगर अधिवेशन पार्टीका निलम्बित नगर अध्यक्ष विष्णुबहादुर बस्नेतले उच्च अदालत विराटनगरमा रिट निवेदन पेस गरेर त्यतिबेला स्थगित गर्न अन्तरिम आदेश दिए पनि शुक्रबारको आदेशले रिट खारेज गरेसँगै अधिवेशन भएको हो । अधिवेशनमा रास्वपाका प्रमुख सचेतक तथा कोशी प्रदेश इन्चार्ज सन्तोष परियारले नेपालको विगतको राजनीतिले युवासँगै सम्पूर्ण नेपालको सपना हत्या गरेकाले गर्दा रास्वपा सपना बुत्याउने काममा लागेको बताए । ‘जनताको सपना बुत्याउने काममा तपाईँहरू (कार्यकर्ता) लाग्नुहोस्, जनताको जीवनसँग सम्बन्धित सबै कुरा सोध्नुहोस्,’ उनले भने, ‘जनताको सपनामा कहिल्यै घात हुने काम गर्नु हुँदैन ।’ उनले रास्वपा माथि सांसददेखि लिएर स्थानीय तहसम्म सर्वत्र आक्रमण भइरहेता पनि जनताभन्दा शक्तिशाली कोही नहुने हुँदा जनताका पक्षमा काम गरेपछि आक्रमणबाट सजिलै बच्न सकिने बताए । ‘हाम्रा लागि प्रेरणाका अग्रज जनता हुन,’ उनले भने, ‘नेपालको राजनीति कतातिर गइरहेको छ भनेर ठम्याउन गाह्रो छ, तर जनतालाई सत्यको बाटोमा हिँडाएर समस्या समाधान गर्ने दायित्वबाट हामी पन्छिनु हुँदैन ।’ उनले देशको भ्रष्टाचार, परिवारवाद र जनतालाई दुःख दिने नेपालका दुस्मन भएकाले गर्दा तिनीहरूलाई नेपालको राजनीतिबाट खारेज गरेपछि मात्र नेपाली जनताको समृद्धि हुने जिकिर गरे । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता तथा सांसद हरि ढकालले रास्वपाका नेता कार्यकर्ताले व्यवहार, चरित्र र संस्कार सुधार नगरे टाउको लुकाउन रास्वपाका व्यक्तिहरू भूमिगत हुने अवस्था आउने बताए । उनले कांग्रेस, एमाले र माओवादीमा भएका मान्छेहरुको जस्तै व्यवहार नगर्न सङ्केत गर्दै भने, ‘उनीहरूको जस्तो व्यवहार, चरित्र र संस्कार रास्वपाका देखाउन पाइदैन् । रास्वपाका एक मात्र स्वार्थ नेपाल बनाउने हो ।’ उनले नेता बन्न नभएर सेवक बन्न स्वस्थ्य प्रतिस्पर्धा गर्न सुल्झाए । ‘यदि कोही नेता बन्नका लागि अस्वस्थ्य प्रतिस्पर्धा गर्छ, त्यसको निगरानी केन्द्रीय कमिटीले गर्छ । त्यस्तो गर्न पाइदैन्, पार्टीले गर्न दिदैन् ।’ उनले पार्टीको विवाद अदालतसम्म पुगेको कुराप्रति आपत्ति जनाए । ‘पार्टीभित्र नीति, थिति र विधान इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ,’ ढकालले भने, ‘उनीहरु (कांग्रेस, एमाले र माओवादी) जस्तो हुने हो भने उतैतिर गए हुन्छ, यता पाइदैन् ।’उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचार गर्दिन पनि गर्न पनि दिन्न भनेर भनेको प्रसङ्ग निकाल्दै अझै दुई वर्ष मिथ्या कुरा सुन्नुपर्ने बाध्यता रहेको बताए । ‘अरूले नकारात्मकता फैल्याए भन्ने अनि उहाँलाई नै नकारात्मक बोल्ने आदि पुरुष घोषणा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नकारात्मक कुरा गर्दा गर्दै केही समयअघि त शिवलाई चाम्लिङ् भन्ने काम पनि भइसक्यो अब कुन दिन ओली ब्रहम हुन भन्ने कुरा पनि आउन बेर छैन ।’ उनले दमक भ्यू टावर बनाउँदा राज्य र करदाताको ठूलो रकम भ्रष्टाचार भएको जिकिर गरे । दमक भ्यू टावर ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ६ मा पर्छ । नेता ढकालले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सरकारले प्रतिसोधका आधारमा मुद्दा चलाएको जिकिर गरे । सोही क्रममा कवि तथा रास्वपाका आबद्ध मनु मञ्जिलले रास्वपाका केही व्यक्तिले गरेको गल्ती समग्र पार्टीसँग जोडिने हुँदा सबै सचेत हुनुपर्ने बताए । उनले रास्वपाको राजनीतिक विश्वासका लागि एक पटक परिवर्तन हुनुपर्ने अवस्था भएको बताए । अधिवेशन उद्घाटनका क्रममा रास्वपा प्रदेश महामन्त्री लालविक्रम थापाले पार्टीका नेतालाई सताउने क्रममा आफूलाई पनि सताइ रहेको बताए । अधिवेशनले महेष थापा (पुष्पराज) को नेतृत्वमा१९ सदस्यीय इटहरी नगर कार्यसमिति सर्वसम्मत चयन गरेको छ । थापा पेसाले इन्जिनियर हुन् ।