Redirecting...

एमालेमा कोही पक्ष-विपक्ष छैन, कार्यकर्ताको फैसला नै अन्तिम हुन्छ : कृष्णगोपाल श्रेष्ठ - www.pardafas.com

एमालेमा कोही पक्ष-विपक्ष छैन, कार्यकर्ताको फैसला नै अन्तिम हुन्छ : कृष्णगोपाल श्रेष्ठ - www.pardafas.com
Source: pfds

नेकपा एमालेका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पनि गुट-उपगुट वा पक्ष-विपक्ष नरहेको स्पष्ट पारेका छन् । बुधबार महाधिवेशनको बन्दसत्र चलिरहेको भृकुटीमण्डप परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सिंगो पार्टी एकढिक्का रहेको दाबी गरेका हुन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा जसको जित वा हार भए पनि अन्त्यमा त्यो एमालेकै जित हुने उनको तर्क थियो । राष्ट्रियतालाई सर्वोच्च स्थानमा राख्नुपर्ने बताउँदै उनले भने, ‘सबैभन्दा पहिलो कुरा देश हो । देश रहे मात्रै हामीले पार्टी बनाउँछौँ र त्यसपछि मात्रै जनताको समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न सक्छौँ ।’ देश बनाउनका लागि राजनीतिक दलहरूको अस्तित्व अनिवार्य रहेको भन्दै उनले एमालेलाई जनताको मन-मनमा समेट्नुपर्ने औँल्याए । नेता श्रेष्ठले नेताहरू कार्यकर्ताको बीचबाटै जन्मिने भएकाले कार्यकर्ताले गर्ने फैसला आफूहरूलाई सधैं मञ्जुर हुने बताए । ‘हामी आवधिक निर्वाचनलाई विश्वास गर्ने पार्टीका नेता हौँ । यहाँ कोही पक्ष वा विपक्ष छैनौँ, हामी सबै एक पक्ष एमाले नै छौँ,’ उनले भने, ‘राम्रा साथीहरूलाई जसले विश्वास गर्छन्, उसैले नेतृत्व गर्छ ।’ सोही क्रममा उनले नेता ईश्वर पोखरेलको प्रशंसा समेत गरे । पोखरेललाई नेकपा मालेदेखि एमालेसम्मको रूपान्तरणमा भूमिका खेल्ने ‘आर्किटेक्ट’ को संज्ञा दिँदै श्रेष्ठले कार्यकर्ताको विवेकपूर्ण निर्णयअनुसार नै आगामी नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।