Redirecting...

गणतन्त्र दिवसमा दोहोरो प्रदर्शन : भृकुटीमण्डप–शान्तिवाटिका क्षेत्र डाइभर्ट, ८ सय ट्राफिक प्रहरी खटाइयो - bishwokhabar.com

गणतन्त्र दिवसमा दोहोरो प्रदर्शन : भृकुटीमण्डप–शान्तिवाटिका क्षेत्र डाइभर्ट, ८ सय ट्राफिक प्रहरी खटाइयो - bishwokhabar.com
Source: bsbk

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा आज नेकपा एमाले र राजावादी समूहले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएकाले काठमाडौंको भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्र आसपासको सवारी आवागमनमा विशेष व्यवस्था गरिएको छ। सम्भावित भीड र ट्राफिक चापलाई ध्यानमा राख्दै झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। गणतन्त्रको समर्थनमा नेकपा एमालेले बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेको छ। त्यसपछि राजसंस्थाको पक्षमा रहेका समूहहरुले गणतन्त्रको विरोध र राजसंस्थाको पुनर्स्थापनाको मागसहित शान्तिवाटिका क्षेत्रबाट प्रदर्शन गर्ने तयारी गरेका छन्। सवारी व्यवस्थापन सहज बनाउन ट्राफिक प्रहरीले वैकल्पिक रुट प्रयोग गर्न सवारी चालकहरूलाई अनुरोध गरेको छ। प्रदर्शन स्थल आसपासका क्षेत्रहरूमा सवारी डाइभर्ट गरिने बताइएको छ। ट्राफिक महाशाखाका अनुसार, शान्ति सुरक्षासँगै सवारी व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखिएको छ। सार्वजनिक बस, एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीलाई भने विशेष पासमार्फत आवागमन सहज गरिने बताइएको छ। काठमाडौं उपत्यकाभित्रको सुरक्षा व्यवस्थामा पनि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ। दुवै पक्षका प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षा राखिएको भए पनि सम्भावित झडप वा अवरोधलाई ध्यानमा राख्दै तयारी गरिएको छ। गणतन्त्र पक्षधर र विरोधीहरुको प्रदर्शन स्थल र प्रदर्शन समय अलग अलग भए पनि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित हुने सम्भावना छ । त्यसैले सवारी आवागमनको प्रबन्ध मिलाउन तत्कालका लागि ७८३ जना ट्राफिक प्रहरीहरु खटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार कार्यक्रम स्थलतर्फ सवारी प्रवेश गर्न नदिई डाइभर्सन गर्ने व्यवस्था मिलाइएको छ ।