लोक सङ्गीतमा तीन दशकको यात्रा : बेलबहादुर परियारको कथा - sahityapost.com
बर्दिबास । लोक तथा दोहोरी गायक बेलबहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’को म्युजिक भिडियो मङ्गलबार बर्दिबासमा आयोजित समारोहबीच सार्वजनिक गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा बर्दिबासस्थित गौतम होटलमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्यमन्त्री सारदा देवी थापा प्रमुख अतिथि तथा बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँहरूले संयुक्त रूपमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो। गीतमा बेलबहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको छ भने शब्द र संगीत स्वयं परियारकै रहेको छ। गीतको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ राजिव शाहले गर्नुभएको हो। भिडियोमा सञ्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन मिलन श्रेष्ठले गर्नुभएकाे छ भने कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाको रहेको छ। कार्यक्रममा बोल्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय कलाकारको संरक्षण र प्रवर्द्धन नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै लोक सङ्गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयाे । प्रमुख अतिथि सारदा देवी थापाले गायक परियारको तीन दशक लामो सांगीतिक योगदानको प्रशंसा गर्दै संघर्षशील कलाकारलाई राज्य, समाज र सञ्चारमाध्यमले साझा रूपमा प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे । गीत विमोचन समारोहमा समाजसेवी, पत्रकार, राजनीतिक प्रतिनिधि, कलाकार तथा सङ्गीतप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बिनोद ढुङ्गेलले गर्नुभएको थियो। कार्यक्रमका मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो।‘फूल खसिगो, माया बसिगो’ म्युजिक भिडियो गायक बेलबहादुर परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।