Redirecting...

ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री - arthakhabar.com

ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री - arthakhabar.com
Source: khar

काठमाडौँ । प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् । उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको भनाइ राखिन् । यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो । त्यसैगरी प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेन–जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै सरकार हाल सुशासन र निर्वाचनलाई दुई प्रमुख एजेन्डाका रुपमा अघि बढाइरहेको जानकारी गराइन् । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारीका काम तीव्र रुपमा अघि बढेको उनले बताइन् । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर रहेको बताउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् । उनले संविधानसम्मत र लोकतान्त्रिक विधिमार्फत मुलुकलाई सुशासनको मार्गमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन भएको स्पष्ट पार्दै समाजमा कुनै पनि प्रकारको अराजकताले स्थान पाउन नहुनेमा जोड दिइन् । शान्ति खल्बल्याउने र कानुन हातमा लिने गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उल्लेख गर्दै उनले खराब तत्त्वको प्रतिरोधका लागि समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने भन्दै सबैलाई हातेमालो गर्न आग्रह गरिन् ।