आध्यात्मिक सत्यदेखि सामाजिक द्वन्द्वसम्म - sahityapost.com
धर्म मानव जीवनको चेतना र संस्कारको मूल आधार हो तर जब धर्मको नाममा हिंसा प्रकट हुन्छ तब यसले केवल व्यक्तिगत जीवन होइन, सम्पूर्ण सामाजिक संरचनामा नै गहिरो असन्तुलन सिर्जना गर्छ । धर्मको वास्तविक अर्थ कर्तव्य, न्याय र जीवनशैलीसँग सम्बन्धित छ । जुन प्रेम, करुणा र अहिंसामा आधारित हुन्छ । तथापि, बलिप्रथा, युद्ध वा अन्य हिंसात्मक अनुष्ठानहरूले धर्मलाई साधन होइन, विकृति बनाइदिन्छन् । सामाजिक दृष्टिले धार्मिक हिंसा चेतनाको अवरोध हो । जब बालबालिकाले धर्मकै नाममा हिंसात्मक क्रियाकलाप देख्छन्, उनीहरूको मानसपटलमा नैतिक द्वन्द्व अंकुरित हुन्छ । उदाहरणका लागि, गढीमाई मेलामा जनावरको सामूहिक हत्या केवल एक धार्मिक उत्सव होइन—यो वास्तवमा करुणा र सहिष्णुताविरुद्धको चेतनात्मक प्रशिक्षण हो । यस्तो संस्कारका कारण बच्चाले धर्मलाई डर, पाप र दण्डसँग जोडेर बुझ्न बाध्य हुन्छ । दीर्घकालीन रूपमा यसले सामाजिक व्यवहारमा हिंसा, असहिष्णुता र अहंकारको बीज रोप्छ । दार्शनिक दृष्टिले हेर्दा, धार्मिक हिंसा आत्म–साक्षात्कारको मार्गमा ठुलो बाधा हो । वेदान्त दर्शनले आत्मज्ञानको सिँढी चढ्न अहिंसा, विवेक र नैतिक जीवनलाई अपरिहार्य मानेको छ । उपनिषद्हरूले स्पष्ट रूपमा भन्छन्—“अहिंसा परमो धर्मः ।” यदि धर्मको नाममा नै हिंसा अभ्यास हुन्छ भने त्यो धर्म होइन, अज्ञानताको पराकाष्ठा हो । श्री शंकराचार्यले “नित्य कर्मसु संग फल त्याग” भन्ने उपदेश दिनुहुँदा कर्मको मूल्य परिणाममा होइन, यसको नैतिकता र विवेकमा नीहित हुन्छ भन्ने कुरा स्पष्ट पार्नुभएको छ । तर धार्मिक हिंसाले कर्मलाई नैतिकताको बाटोबाट विचलित गरेर केवल बाह्य क्रियामा सीमित पारिदिन्छ । यसले कर्मलाई शुद्ध पार्नुको साटो, समाजलाई अज्ञानता र विभाजनतर्फ धकेल्छ । यदि धर्म जीवनलाई शुद्ध बनाउन आएको हो भने हिंसा त्यसको प्रतिपक्ष हुनुपर्ने हो । भगवान् बुद्धले दुःखको मूल कारण अविद्या र तृष्णा भएको बताउँदै हिंसालाई दुःखको पुनरुत्पादन भनेका छन् । गीता भन्छ—दैवी सम्पत्तिमा अहिंसा, दया, शान्ति, सत्य र करुणा छन्; आसुरी सम्पत्तिमा क्रोध, हिंसा र घृणा । धार्मिक हिंसाले मानिसलाई दैवी बाटो होइन, आसुरी मार्गतर्फ धकेल्छ । यसैले, धार्मिक हिंसालाई संस्कार होइन, विकृति भन्नैपर्छ । धर्मको साँचो स्वरूप अरूको रगतमा होइन, आफ्नै अहंकार, लोभ र क्रोधको बलिदानमा नीहित छ। साँचो बलिदान भनेको बाहिरी प्राणी होइन—आफ्नै पशुत्वलाई काट्नु हो । मानव सभ्यताको मूलमा धर्म र आस्था नीहित छ । धर्मको वास्तविक उद्देश्य आत्म–शुद्धी, सत्यको खोज र समाजमा शान्ति स्थापनामा केन्द्रित छ । उपनिषद्ले भनेको छ—“सत्यं वद, धर्मं चर ।” अर्थात् सत्य बोल, धर्मको आचरण गर । तर इतिहासले देखाउँछ कि यही आध्यात्मिक सत्य, जसले मानव जीवनलाई प्रकाशतर्फ डोहोर्याउनुपर्ने थियो, कतिपय अवस्थामा सामाजिक द्वन्द्व र हिंसाको आधार बन्न पुगेको छ । दार्शनिक दृष्टिले हेर्ने हो भने धर्मको सार नै चेतनाको उन्नति हो । प्लेटोले आदर्श राज्यमा न्यायलाई सर्वोच्च मूल्यका रूपमा प्रस्तुत गरे, बुद्धले दुःखको मूल कारण तृष्णा देखाउँदै करुणा र अहिंसाको बाटो सिकाए । यी सबै शिक्षाहरूले स्पष्ट पार्छन् कि धर्मको सत्य पक्ष आत्म–साक्षात्कार र सहअस्तित्वमा नीहित छ । तर जब धर्मलाई संकीर्ण राजनीतिक, जातीय वा व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ, त्यतिबेला यो सत्य विकृत भई हिंसाको रूप लिन थाल्छ । संस्कार समाजको आधार हो । यदि संस्कार करुणा, सहिष्णुता र समानतामा आधारित हुन्छ भने समाजमा शान्ति र सहयोग फैलिन्छ । तर जब संस्कारलाई कट्टरता र उग्रतालाई पोषण गर्ने माध्यम बनाइन्छ, तब सामाजिक द्वन्द्व अपरिहार्य हुन्छ । इतिहासका धार्मिक युद्धहरू, जातीय हिंसा, र सम्प्रदायबीचका द्वन्द्व यसको प्रत्यक्ष उदाहरण हुन् । यहाँ आध्यात्मिक सत्यको प्रकाश अन्धकारमा परिणत हुन्छ । आधुनिक दृष्टिकोणले धार्मिक हिंसालाई चेतनाको संकटका रूपमा व्याख्या गर्छ । विश्व नागरिकता, मानव अधिकार र सहअस्तित्व आजका युगका मुख्य मूल्य हुन् । जब मानिस केवल आफ्नो सम्प्रदायलाई सर्वोच्च ठान्छ र अन्य आस्थालाई अस्वीकार गर्छ तब सामाजिक सद्भावना भत्किन्छ । आधुनिक दर्शनले देखाउँछ कि धर्मको सार सार्वभौमिक सत्य हो, जुन जात, भाषा वा भूगोलले सीमित गर्न सकिँदैन । साहित्य र इतिहासले पनि देखाउँछन्—धार्मिक कट्टरताले समाजमा दरार सिर्जना गर्छ भने सहिष्णुता र करुणाले सभ्यतालाई उन्नति गराउँछ । महात्मा गान्धीले “अहिंसा परमो धर्मः” लाई आफ्नो जीवन सूत्र बनाए, जसले भारत मात्र होइन, विश्वका उत्पीडित राष्ट्रलाई पनि प्रेरित गर्यो । यसले प्रमाणित गर्छ कि आध्यात्मिक सत्यलाई सहअस्तित्वका रूपमा व्याख्या गर्दा समाजमा प्रगति सम्भव हुन्छ । अन्ततः, आध्यात्मिक सत्यदेखि सामाजिक द्वन्द्वसम्मको यात्राले मानव चेतनाको अधोगतिलाई देखाउँछ । धर्म आफैँमा हिंसाको कारण होइन; यसको गलत प्रयोग र विकृत व्याख्याले द्वन्द्व जन्माउँछ । समाधान भनेको चेतनाको पुनर्जागरण, सहिष्णुतामा आधारित संस्कार र आधुनिक मानव मूल्यहरूको अंगीकार हो । जब धर्मलाई सार्वभौमिक सत्य, करुणा र न्यायसँग जोडिन्छ तब मात्र समाजले शान्ति, सहअस्तित्व र प्रगतिको मार्ग पाउँछ । मिथक र पौराणिक दृष्टान्तहरूले स्पष्ट पारेका छन् कि धर्मको सार विवेक र करुणामा नीहित छ, हिंसामा होइन । रामले वनवास स्वीकार गर्दा अन्यायको प्रतिकार हिंसाबाट होइन, मर्यादा र सहनशीलताबाट गरे । अर्जुनले युद्ध गरे पनि, त्यो व्यक्तिगत स्वार्थका लागि होइन, धर्म र न्यायको लागि मात्र थियो । यसले देखाउँछ—धर्मको मार्ग विवेक, करुणा र न्यायमा आधारित हुन्छ, न कि भय वा रक्तपिपासु संस्कारमा । आधुनिक दृष्टिले हेर्दा धार्मिक हिंसा चेतनाको हत्या हो, संस्कारको विकृति हो, र समाजको नैतिक पतन हो । जब राज्य वा संस्थाले बलिप्रथा वा हिंसालाई मौन समर्थन गर्छन्, यसले असहिष्णुता र द्वन्द्वलाई परम्पराको रूपमा स्थापित गर्छ । परिणामस्वरूप, सामाजिक संरचना कमजोर बन्छ र करुणा, न्याय र सहअस्तित्व विस्मृत हुन्छन् । हिन्दू दर्शन स्पष्ट भन्छ—धर्मको मूल मर्म अहिंसा र सत्य हो । मनुस्मृतिमा अहिंसा, सत्य र इन्द्रिय–निग्रहलाई धर्मको मेरुदण्ड भनिएको छ । महाभारतमा सबै प्राणीप्रति दया गर्नु नै कर्तव्य भनिएको छ । ऋग्वेदले ‘पशु’लाई जनावर नभई मानवका लोभ, मोह, क्रोध र अहंकारको प्रतीक मानेको छ, जसलाई बलिदान गरेर आत्म–शुद्धी गर्नुपर्छ तर आजको समाजले यो सूक्ष्म व्याख्यालाई त्यागेर स्थूल हिंसालाई ‘संस्कार’ मानेको छ । श्रीमद्भगवद्गीतामा कृष्णले अहिंसा, दया, शान्ति र कोमलतालाई दैवी सम्पत्ति भनेका छन् । देवी–देवता स्वयं करुणा र प्रेमका मूर्तरूप हुन् । उनीहरू निर्दोष प्राणीको रगतबाट प्रसन्न हुन सक्दैनन् । यसैले, बोका वा राँगाको हत्या कुनै धार्मिक कर्म होइन, धर्मको आत्मामा चोट पुर्याउने कुसंस्कार हो । आजको सभ्यता विज्ञान र चेतनामा अगाडि बढिरहेको छ तर धार्मिक हिंसाका पुराना बुट्टाले अझै जन्जिर झैँ बाँधिरहेको छ । जुन समाज अन्तरिक्ष छुन सक्छ तर अझै “रगत बिनाको पूजा अधूरो” ठान्छ, त्यो चेतनात्मक रूपमा अधुरो छ । बलिप्रथा संस्कार होइन—संहार हो । वास्तविक धर्म भनेको प्रेम, करुणा र आत्म–समर्पण हो । तर त्यो समर्पण अरूको ज्यान काटेर होइन, आफ्नै अज्ञान, अहंकार र पशुत्त्वलाई बलिदान गरेर मात्र सम्भव हुन्छ । त्यसैले धार्मिक हिंसा अन्त्य गर्नु केवल वैचारिक प्रश्न होइन, नैतिक जिम्मेवारी पनि हो । संसार आरम्भदेखि नै बलिप्रथाको कथा देखिन्छ । इन्द्र–असुरको युद्धमा इन्द्रको शक्ति बलिदानमा निर्भर थियो, तर शुद्ध बलिदान सदा आत्मिक थियो, शरीरको होइन । पौराणिक दृष्टान्तहरूले सिकाउँछन् कि जब चेतनालाई बलिदान गरिन्छ, स्वार्थ, क्रोध, लोभ र अहंकार त्यागिन्छ, त्यही साँचो यज्ञ हो । तर आज हामीले परम्पराको खोल ओढेको हिंसा वास्तविक धर्म ठान्छौँ । साँच्चै, धर्मको मर्म प्रेम र करुणाको स्पन्दन हो । जब बच्चाले आमालाई सोध्यो, “हामीलाई पूजा गर्न यस्तो ज्यान मार्नु पर्छ ?” त्यसको भावनात्मक अनुभवले धर्मको वास्तविक अर्थ उजागर गर्छ—यो भयको, बलको, रगतको प्रश्न होइन, चेतनाको, विवेकको, आत्मिक शुद्धीको प्रश्न हो । वास्तविक भक्ति तब प्रकट हुन्छ जब हृदय करुणाबाट भरिन्छ, न कि खुकुरीको धारबाट । बलिप्रथा जनावरको शरीरको हत्या होइन, यो चेतनाको हत्या हो । यो परम्पराको छालामा लुकेको अज्ञान र अहंकारको उत्पादन हो । वेदान्तले स्पष्ट भन्छ—“अहिंसा परमो धर्मः ” जब हामी शरीरलाई बाली दिन्छौँ, हामी आत्माको स्वतन्त्रता, चेतनाको शुद्धता र मानवताका मूल्यहरूलाई हत्या गर्छौं । राज्य र सामाजिक संरचना पनि यसको सहभागी बन्न सक्दछ । गढीमाई मेलामा हजारौँ जनावरको बली धार्मिक उत्सव होइन—मानव चेतनाको हत्या हो । नीति निर्माताले यदि पशु अधिकार, नैतिक शिक्षा र वैज्ञानिक दृष्टिकोणलाई संरक्षण गर्थे भने यो क्रूरता रोक्न सकिन्थ्यो । हाम्रो साँचो बलिदान शरीरको होइन—आत्मा, क्रोध, मोह, लोभ र अज्ञानताको बलिदान हो । यही साँचो यज्ञ, पूजा र धर्म हो । देवता र पुराणले सिकाउँछन्—उनीहरू रक्तपिपासु होइनन् । उनीहरू करुणाका मूर्त हुन् । त्यसैले पूजा पनि करुणाबाट हुनुपर्छ । अब समय आएको छ कि हामी आफ्ना संस्कारको पुनर्व्याख्या गरौँ, धर्मको पुनराविष्कार गरौँ र करुणाको क्रान्तिमा आफूलाई समर्पित गरौँ । बलिप्रथा अन्त्य होस्, करुणा आरम्भ होस् । मानव चेतनामा प्रेम, न्याय र अहिंसाको दीप प्रज्वलित होस् । यही सत्य आध्यात्मिक विजय हो—जहाँ धर्म, चेतना र मानवता एकाकार भई साँचो पवित्रता प्रकट गर्छ । The post आध्यात्मिक सत्यदेखि सामाजिक द्वन्द्वसम्म appeared first on साहित्यपोस्ट.