एमालेमा नेतृत्व पुनर्गठन गर्न चौतर्फी दबाब - nagariknews.nagariknetwork.com
नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशनको मिति तोक्ने तयारीमा छन्। विधान महाधिवेशन सकिएपछि नेतृत्व चयनका लागि ११औँ महाधिवेशनको मिति तोक्ने तयारीमा उनी लागेका हुन्। असोज २४ गतेका लागि बोलाइएको सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीले महाधिवेशनको मिति प्रस्ताव गर्ने बताइएको छ। एमालेले सचिवालय बैठकलगत्तै केन्द्रीय कमिटीको पनि बैठक बोलाएको छ। सचिवालय बैठकमा महाधिवेशनको मिति तय भएन भने केन्द्रीय कमिटीको बैठकबाट मिति तय हुन सक्ने एक पदाधिकारीले बताएका छन्। मुलुकमा जेनजी आन्दोलनपछि उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले पार्टीमा अभिभावक भएर बस्न ओलीलाई आग्रह गर्दै आएका छन्। उनीहरूले नेतृत्व हस्तान्तरण गरेर समयानुसार पार्टीलाई अगाडि बढाउन माग गरिरहेका छन्। भदौ २४ को सचिवालयको बैठकमा औपचारिक रूपमा आफ्नो धारणा राख्दै यसलाई केन्द्रीय कमिटीको बैठकमा पनि छलफल गर्ने जनाइएको छ। यद्यपि पार्टीलाई संकट परेको र अध्यक्ष ओलीमाथि प्रहार भएको अवस्थामा अहिले नै राजीनामा दिन नहुने भन्दै उनीनिकट नेताहरूले लबिइङ गरिरहेका छन्। ‘एमालेभित्र चलिरहेको नेतृत्व परिवर्तनको बहस अहिले बाहिर आएको छ। नेतृत्व परिवर्तनले पार्टीलाई बलियो बनाउँछ भन्नेहरू र अध्यक्षको विरोध गर्नहुन्न भन्नेहरूबिच विवाद चलिरहेको छ,’ एक पदाधिकारीले भने। सचिवालयका केही सदस्यले महाधिवेशनअघि नै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएर महाधिवेशनमा जान सुझाव दिएका छन्। तर ओलीले यो विषयलाई अस्वीकार गर्दै आएका छन्। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनको विषयमा केन्द्रीय कमिटीको बैठकमा छलफल हुन सक्ने र त्यसको मोडालिटी पनि त्यही बैठकमा हुन सक्ने बताए। ‘विधान महाधिवेशनपछि नेतृत्व चयनको महाधिवेशन गर्ने हाम्रो सोच नै हो। यसबारे केन्द्रीय कमिटी बैठकमा छलफल हुन सक्छ,’ उनले भने। एमालेभित्र पार्टी पुनर्गठनको विषयमा बहस चलिरहे पनि अध्यक्ष ओली भने अहिले नै नेतृत्व छाडिहाल्ने पक्षमा छैनन्। उनले पार्टीमाथि संकट परेको बेला नेतृत्व छाड्न नहुने धारणा राख्दै आएका छन्। जेनजी आन्दोलन र त्यसले राष्ट्रिय राजनीतिमा पारेको प्रभावबारे असोज १२ गते बसेको सचिवालय बैठकमा छलफल भएको थियो। बैठक लम्बिएपछि असोज १९ र २० गतेलाई निरन्तरता दिइएको थियो। तर मुलुकमा बाढीपहिरो आएका कारण बैठक असोज २४ गतेका लागि सारिएको थियो। एमालेले असोजको अन्तिम साता बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाइसकेको छ। दुई दिनका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेतृत्वबारे खुलेर छलफल हुने बताइएको छ। जनवर्गीय संगठनहरूले लिखित रूपमै पार्टी अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गर्न सुझाइसकेको छ। एमालेको ‘थिंक ट्यांक’ मानिने नेपाल बौद्धिक परिषद्ले पार्टीभित्र निर्मम समीक्षा गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्न सुझाएको हो। परिषद्ले मिति २०८२ असोज १ गते सचिवालय बैठक बसी वर्तमान परिस्थितिबारे निर्मम ढंगले समीक्षा गरी पार्टी नेतृत्वलाई सुझाव हस्तान्तरण गरेको थियो। पार्टी अध्यक्ष ओलीका नाममा सम्बोधन गरिएको सुझावसम्बन्धी तीन पानाको तीन बुँदे पत्र परिषद्का अध्यक्ष ई. गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे पनि यसलाई पार्टीले बाहिर ल्याएको छैन। परिषद्ले सुझावको पहिलो बुँदामै ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशनसमेत कुर्न नहुने बताएको छ। सुझावमा केन्द्रीय कमिटीबाटै विधानबमोजिम नेतृत्व हस्तान्तरण गर्न भनिएको छ। ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ। पार्टीको नेतृत्व विधिवत् हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नुपर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधिनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ,’ सुझावमा भनिएको छ। वाम एलायन्सको प्रयासनेकपा माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकताको प्रयास गरिरहेको छ। पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा एकताबारे भएको छलफल भएको थियो। समाजवादी मोर्चामा रहेका नेकपा एकीकृत समाजवादी, उपेन्द यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग माओवादीले सहकार्यको प्रस्ताव गर्दै माओवादी केन्द्र एकताको प्रयासमा लागेको हो। माओवादी केन्द्रले एमालेबाहेकसँग वाम एलाइन्सको प्रस्ताव पनि गरिरहेको स्रोतको दाबी छ। माओवादी केन्द्रले दलहरूका बिचमा निर्वाचनमा जाने आम सहमति बनाउने कोसिस पनि गरिरहेको छ। पार्टीको महाधिवेशन आयोजक समितिको सोमबार बसेको सचिवालय बैठकमा यस्तो समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘निर्वाचनमा जान मूलतः पार्टीहरूसित हामीले छलफल गरिरहेका छौँ। छलफल सकारात्मक छ,’ बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सापकोटाले भने, ‘अहिले त करिबकरिब चुनावमा जाने सहमति छ। पार्टीका बैठकहरू बसिरहेका छन्। कांग्रेसको पनि एमालेको पनि बैठक बस्दै छ। चुनावमा जाने कुरामा आम सहमतिजस्तै बन्दै छ। ’संविधान र व्यवस्था जोगाउन निर्वाचनको विकल्प नभएको पनि सापकोटाले बताए। ‘चुनाव गरेर मात्रै अहिलेको संविधानलाई निरन्तरता दिने, व्यवस्थालाई जोगाउने, सबै कुराको पहलकदमी लिने कुरा चुनावले मात्रै गर्न सक्छ,’ उनले भने। त्यसकारण चुनाव गर्ने कुरालाई माओवादी केन्द्रले शीर्ष प्राथमिकतामा राखेको उनको भनाइ थियो। दलहरू निर्वाचनमा आम सहमति बनाइरहँदा सरकारका तर्फबाट भने मूर्त रूपमा छलफल नभएको भन्दै प्रवक्ता सापकोटाले टिप्पणी गरे। ‘अहिले बाढीपहिरोले गर्दा होला, सरकारका तर्फबाट ठोस, मूर्त र अलिकति प्रभावकारी ढंगबाट छलफल भएको छैन,’ उनले भने। सोमबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकताबारे वार्ता सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका थिए।