निबन्ध : गिदीका ठेला - sahityapost.com
आफू जन्मिएको ठाउँ जे जस्तो होस्, राम्रै लाग्छ । मोजाभित्र टालाटुली राखेर भकुण्डो खेलेको, धुलेबाजी खेलेको, डण्डीबियो खेलेको, गुलेलीले ढुकुर मारेर खाएको, काक्रा चोरेको ठाउँ यही हो । गाई बाख्रा हेर्न जाने सिख्रेपाटा यहीँ छ । वनमा तास लगेर लुकीलुकी जुटपत्ती खेलेको ठाउँ पनि यही हो । सपनामा काठमाडौंको बानेश्वर, दरवार मार्ग, ठमेल जस्ता शहर कहिल्यै देखिएन, बरु गाउँकै भीरपाखा देखिए । गाउँ साह्रै राम्रो पनि होइन, तर यो मन सधैँ त्यही जान्छ । हामी जन्मे हुर्केका गाउँघर सुनसान हुन थाले । एउटा एउटा गर्दै घरहरू खाली हुन थाले । कवि मीनबहादुर विष्टले कुनै बेला लेखेका थिए – ‘साला पहाडमे क्या है !’ के सबै युवा विष्टले भने झैँ पहाडमा केही देखेनन् त ! पहाडको पानीसँगै जवानी पनि बग्दैबग्दै तराई झरिसक्यो । उहिले यातायातको सुविधा थिएन । स्कूलहरू थिएनन् । त्यहाँका धामीहरू नै एम.बि.बि.एस. डाक्टर थिए । अप्रेसन बाहेक सबै गर्थे । हाम्रा बा-हजुरबाको जिन्दगी खुशीकै साथ चलेको थियो । अहिले राम्रा बाटाहरू गए । टोलटोलमा जीप नै भए पनि जान्छन् तर मान्छे तिनै गाडीमा चढेर शहर पस्न थाले । राम्रा स्कूलहरू बन्न थाले । तिनै स्कूलमा पढेर हामी जान्ने सुन्ने बन्यौं । जान्ने सुन्ने बनेकै कारण हामीलाई गाउँले अड्याउन सकेन । उहिले पनि लाहुरेहरू इन्डिया जान्थे । बसाउने तेल लगाएर टेपरेकर्ड घन्काउँदै गाउँ फर्कन्थे । अहँ, त्यो गाउँको रौनक अहिले छैन । जङ्गल बढ्दै गए । सानो छँदा मृग र बँदेल कहिल्यै देखेनौं हामीले । आजकल मृग र बँदेल आउन थालेछन् । बाँदर घरघर छिर्न थालेछन् । बूढाबूढी बाँदर धपाउन पनि नसक्ने । बाँदर, दुम्सी र बँदेल रमाउन थालेछन् । गाउँघरका मक्किएका खाली घरमा बाँदरको रजाइँ देख्दा लाग्छ – ‘अब बाँदरलाई तालिम दिएर तिनै घरमा आराम गर्न दिए हुने भयो ।’ के बाँदरलाई खेती गर्न सिकाउन सकिन्न ? ती हाम्रै पुर्खा हुन् भन्छन् त डार्विन ! अलिअलि बचेका मान्छेलाई पनि बाँदरले समेत आतङ्क मच्चाएर उठिबास लगाउन थाल्यो । बाँदरलाई ‘तिमीहरू नै गरिखाऊ यो सम्पत्ति’ भन्ने अवस्था आएछ । उहिले हामीले पढेको स्कूल र अहिलेका स्कूलमा व्यापक परिवर्तन भएछ । अहिले स्कूलहरू भौतिक श्रोत र साधनले सम्पन्न छन् । राम्रा र पर्याप्त कक्षाकोठा छन् । पक्की ठूला भवन बनेको छन् । शिक्षक पनि प्रयाप्त छन् । डेक्स, बेन्च राम्रा छन् । सफा शौचालय छन् । हामी बाँसका झ्याङमुनि जान्थ्यौँ । हामी बस्ने बेन्च र डेक्स कोठाभित्र स्थायी हुन्थे । वैशाखीले खनेर प्वाल बनाउने अनि त्यसमा बलियो काठ गाडेर फ्ल्याक राख्ने र किल्ला ठोक्ने, किल्ला ठोक्दा ठोक्दा प्वाल परेका हुन्थे । हाम्रा जाँगे र पाइन्ट कति च्यातिए च्यातिए । काठको पाटीमा खरी खोज्ने डाँडाका नरम ढुङगाले लेखेर ‘कपुरी क’ लेख्न सिकेको हो । आजकल सिसाकलमले लेख्छन् । त्यसैले ‘कपुरी क’ पनि ‘कलम क’ बन्न पुगेछ । स्कूलमा कम्प्युटर पढाइसमेत हुन्छ । २०-२५ वर्षको बीचमा ठूलो परिवर्तन भयो । विद्यार्थी भने सुनसान । हामीले पढ्दा एउटै घरका ६/७ जना केटाकेटी विद्यालय जान्थे । अहिले सिङ्गो गाउँमा ६/७ जना हुन थालेछन् । हाम्रो शिक्षकको समस्या उस्तै थियो । अहिले शिक्षक छन्, विद्यार्थी छैनन् । हामी बेन्चमा बस्न ठाउँ समेत पाउँदैनथ्यौँ, अहिले बस्न सिङ्गो बेन्च पुग्न थालेछ । सारा गाउँ वृद्धाश्रम जस्तै हुन थाल्यो । शिक्षक र केही कर्मचारीबाहेक युवायुवती देख्न मुस्किल, युवा त झन् भेट्नै मुस्किल । मान्छे घटे । वनमा चर्ने बाख्रा, गाई पनि छैनन् । गोरु पाल्न छोडेर ट्याक्टर पाल्न थालेछन् । हल गोरु हुनु इज्जतको विषय थियो उहिले, अहिले हल गोरु भेट्न मुस्किल हुन थाल्यो । घरमा लैना बकेर्ना भैँसी पाल्नु शानको विषय थियो । गोठमा एक हल गोरु र लैना बकेर्ना भैँसी भए छोराछोरीको बिहे पनि सजिलै हुन्थ्यो । अब घरमुनिको ठूलो पाटो, परालको टौवा र गोठमा भैँसी हेरेर छोरी दिने दिन गएछन् । पिआर र सरकारी जागिर बनेछ केटी माग्न जाने हतियार । ओहो ! अबको २० वर्षपछि कस्तो होला ? गाउँको माटो मगमग बसाउने ! शहरको रहर र बाध्यताले हामीलाई पनि गाउँबाट टाढा बनायो । हाम्रा छोराछोरी हामीले गाउँ छोडे जस्तै मुलुक छोड्न थाले । घरको आँगन जत्रा घडेरी किनेर युवाहरू शहरमै रमाउन थाले । शहर नजिक एकतले भए पनि घर बनाउँन मान्छे जीवनभर पसिना बगाउन थाल्यो । के गाउँमा अब कसैले भविष्य देख्न छोडेका हुन् ? काठमाडौंमै त भविष्य नदेखेर युरोप अमेरिकातिर लाग्न थाले मान्छे । जमाना नराम्ररी फेरियो । उहिले बटौलीबाट नूनका भारी बेकेर ढाड खुइलाउँदा पनि बाउबाजे खुशी नै थिए । अहिले तरकारी बसालेर नूनका प्याकेट किन्न जाँदा पनि हाम्रो मुहारमा मुस्कान भेटिन छोड्यो । शहरका एउटा कोठामा हामी हाम्रा सन्ततीको भविष्य खोज्दैछौं । गाउँमा बाले बनाएको तीन तले घर छ । लटरम्म फलफूल र तरकारी फलेको छ । शहरमा एक पाउ फलफूल किनेर नआएको डकार निकाल्नुपर्छ । गाउँमा फर्सी भैँसीले खान्छन् । चारवटा फर्सीका मुन्टा ल्याएर मुख मिठ्याउनु पर्छ । खानकै लागि बाह्रैमास दौडधुप ! खै, त्यो खुशी र आनन्द कहाँ पाइने हो ? गाउँ , शहर कि विदेशका पि.आर.मा । मै पनि अलमलमा छु । मृगतृष्णामै जिन्दगी सकिने । यो भएन, ऊ भएन भन्दाभन्दै एकबारको जुनी सकिने । जवान बूढी र साना छोराछोरी छोडेर खोलापारि निरमाया . . . भन्ने गीत जस्तै भएको हाम्रो । ‘चालीस कटेसी रमाउँला’ भन्दाभन्दै उमेर ढल्कन्छ । चालीस कटेसि रमाउने बेला पुर्पुरो समाउँदै बस्नुपर्ने ! मलाई पनि लाग्छ – भात खाने ‘भाते जागिर’का लागि यत्रो महाभारत ! त्यो पनि थर्ड क्लासकै पद न हो ! कसैले भन्छन् पनि – तैले प्रगति गरिस् यार ! म भन्छु – ‘खै अहिलेसम्म केही नापेको छैन, अब पनि के पो नापिएला र !’ करोडौं जीवजन्तु छन् यो पृथ्वीमा । खानकै लागि यत्रो महाभारत अरु कुन जन्तुलाई छ ? बाउबाजे बसेको थलो छोडेर हिँडियो । मैलाधैला कपडा नलगाउने बाहेक आजसम्म अर्को केही भएको छैन । हातमा ठेला नपरे पनि गिदीमा ठेला पर्न छोडेको छैन । उता बाका हातमा ठेला परेका छन् यता मेरा गिदीमा । बाका ठेला देखिन्छन्, मेरा कसले देखोस् ! तैपनि बा रातभर निदाउनु हुन्छ, यता निद्रामा पनि तनाव छ । हैट ! भाडाको घरमा बसेर भाँडमै जाने भयो जिन्दगी । गाँउमा तीनतले ‘दरबार’ रित्तै छ । उता गाउँ रित्तिएका छन्, यता हाम्रो मन रित्तिएको छ । शहरको जिन्दगी रहर मात्र हो, गाउँमा दुःख छ तर दुःखभित्र सुख छ । त्यही भएर त होला बा-हजुरबा गाउँमै रमाउनुभएको छ । हामी त दुई दिन जाने, पसिना पुच्दै दौडने । खासमा जिन्दगी ‘स्वादको’ बनाउने शुत्र के हो ? यो नसिकी कपाल फुल्न थाल्यो । गाला चाउरी पर्न थाले । अब बङ्गरा झर्न बाँकी छ । बुद्धिबङ्गारा आएको धेरै भो तर बुद्धि अझै आएन । The post निबन्ध : गिदीका ठेला appeared first on साहित्यपोस्ट.