स्वास्थ्य बीमा नवीकरण गर्ने घटेपछि बोर्डको नयाँ तयारी - nagariknews.nagariknetwork.com
गत आर्थिक वर्ष नवीकरण गर्ने बिमितको संख्या घटेपछि यो वर्ष उनीहरुको संख्या बढाउने गरी गृहकार्य गरिरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । गत वर्ष ३० प्रतिशत बिमितले नवीकरण नगरेको वोर्डको तथ्याकं छ । हालसम्म स्वास्थ्य बीमा आवद्ध हुनेको संख्या ६५ लाख रहेको छ । ती मध्येमा ३० प्रतिशतले नवीकरण नगरेका हुन । गत वर्षको अनुभवको आधारमा यो वर्ष बोर्डले बिमितको संख्या बनाउने गरी गृहकार्य गरिरहेको अध्यक्ष थापा क्षेत्रीले बताए । गत वर्ष पाँच वटा मेडिकल कलेजको बीमा सेवा स्थगित गरेको र देशभरी प्रथम सेवा विन्दु अस्पतालको कमी भएकोले समस्या विमितले नवीकरण नगरेको देखिएको उनले बताए । गत भदौदेखि पाँच वटा मेडिकल कलेजको स्थगित बीमा सेवा सुचारु गरेको, देशभर प्रथम सेवा विन्दु अस्पतालको मान्यतामा परिवर्तन गरेको थापाले जानकारी दिए । पहिला प्रथम विन्दु अस्पतालबाट मात्र स्वास्थ्य बीमा सेवा प्रदान गर्ने नीति अनुसार स्थानीय तह अन्यौलमा परेकोमा यो वर्ष स्थानीय तहसँग समन्वय गरी नगरपालिकाभित्र सेवा प्रदान गरिरहेका स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दु अस्पतालको मान्यता दिई बीमा सेवा प्रदान गर्न लागिएको हो । ‘धेरै स्थानीय तहलाई प्रथम सेवा बिन्दुको बारेमा अन्यौलता छ, पहिला यो कुरा बुझाइरहेका छौँ, दोस्रो स्थानीय तहमा मेडिकल अफिसर रहेका स्वास्थ्य केन्द्रबाट नै प्रथम सेवा विन्दु सेवा प्रदान गर्ने व्यवस्था गरेको अध्यक्ष थापाले बताए। यो बाहेक जनतामा स्वास्थ्य बीमाको लाभ र प्रक्रियाको बारेमा गाउँ-गाउँमा जनचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गरी बीमामा आकर्षण बढाउने तयारी भइरहेको उनको भनाइ छ । ‘बीमामा आबद्ध भएकालाई स्थायित्व हुने गरी जनचेतनामुलक कार्यक्रम स्थानीय तहबाटै सञ्चालन हुनेछ’ उनले भने । तर स्वास्थ्य बीमा बोर्डका निर्देशक रघुराज काफ्लेले भने बिमितमा बीमाको आवश्यकता र दायित्व प्रतिको उचित अभ्यास भएकाले नवीकरण नभएको देखिएको बताए । ठूलो शल्यक्रिया गर्नु पर्यो भने बीमामा आबद्ध हुने र शल्यक्रिया सकिएपछि बीमाको नवीकरण नगर्ने प्रबृत्तिले नवीकरण गर्नेको संख्या घटेको देखिन्छ । धेरै जसो उपचार सकिएपछि नवीकरण नगर्ने प्रबृत्तिले नवीकरण गर्नेको संख्या घटेको र दुई प्रतिशत मात्र स्वास्थ्य बीमामा भएका असुविधा तथा कमजोरीको कारण नवीकरण नगरेको देखिएको काफ्लेको दावी छ । ‘मुख्य त उपचार सकिएपछि नवीकरण नगर्ने चलन नै मुख्य कारण हो, बीमाको सेवाको कमजोरीको कारण नवीकरण नगर्ने दुई प्रतिशत मात्र छन्’ उनले भने । चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा सेवा लिनेको संख्या हेर्दा अवको वर्षमा बिमितको संख्या थप बढ्ने सम्भावना बढेको काफ्लेको दावी छ ।