Redirecting...

पाथीभरा दर्शनदेखि विराटनगरसम्म प्रश्नबाट पन्छिए, नमस्कारमै सीमित रहे बालेन - kendrabindu.com

पाथीभरा दर्शनदेखि विराटनगरसम्म प्रश्नबाट पन्छिए, नमस्कारमै सीमित रहे बालेन - kendrabindu.com
Source: kend

विराटनगर। झापाको दमकमा उम्मेदवारी दर्ता गराएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० शनिबार साँझ काठमाडौं फर्किएका छन्। उनी विराटनगर विमानस्थलबाट काठमाडौं प्रस्थान गरेका हुन्। काठमाडौं फर्कनुअघि बालेन अपराह्न नै विराटनगर आइपुगेका थिए। विमानस्थल नजिकैको एक होटलमा केही घण्टा बसेर उनले मोरङका रास्वपा उम्मेदवार तथा पार्टी प्रतिनिधिसँग छोटो छलफल गरे। मोरङ–३ का उम्मेदवार गणेश कार्कीका अनुसार चुनावी तयारीसहित समसामयिक विषयमा छलफल भएको थियो। होटलबाट बाहिरिँदै गर्दा झापा–५ मा उम्मेदवारी दिनुको कारण र चुनावी परिणामको आकलनबारे पत्रकारले प्रश्न गरे पनि बालेन मौन नै रहे। उनले प्रश्न नसुनेझैँ गर्दै सिधै गाडी चढे, कागजमा केही लेखे र समर्थकलाई नमस्कार गर्दै विमानस्थलतर्फ लागे। उम्मेदवारी दर्तापछि दमकमा समर्थक र सर्वसाधारणसँग भेटघाट गरेका बालेनसँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा छिट्टै भाइरल बनेका थिए। उनको टिमले भाडामा लिएको घरमा पुगेका समर्थकसँग उनले फोटो खिचाए पनि राजनीतिक टिप्पणी गरेनन्। दमकपछि बालेन पूर्वी पहाडी जिल्लाको दौडाहामा निस्किए। इलाममा पार्टीका उम्मेदवार र समर्थकलाई अभिवादन गरे, पाँचथर हुँदै ताप्लेजुङ पुगे र शुक्रबार पाथीभरा मन्दिरको दर्शन गरे। दर्शनपछि उनले फेसबुकमा ‘जय पाथीभरा, जय मुक्कुमलुङु’ लेख्दै आफू त्यहाँ पुगेको जानकारी दिएका थिए। पाथीभराबाट फर्किएपछि शनिबार नै उनी धनकुटा पुगे। सदरमुकाममा पैदल हिँड्दै मतदाता भेट्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा स्थगन भयो। बालेन गाडीबाट नओर्ली सदरमुकाम परिक्रमा गर्दै फर्किए। भीमनारायण चोकमा उनले गाडीको झ्यालबाटै कार्यकर्ता र समर्थकसँग हात मिलाए। रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालका अनुसार आसन्न निर्वाचनअघि बालेनको प्रमुख आतिथ्यतामा धनकुटामा आमसभा आयोजना गरिनेछ। “बालेनले फेरि आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” दाहालले बताए। धनकुटा आउनुअघि भने बालेनले हिले बजारमा केही समय पैदल हिँड्दै समर्थक र मतदातासँग भेटघाट गरेका थिए। उनी शुक्रबार तेह्रथुम सदरमुकाम म्याग्लुङमा बास बसेर शनिबार बिहान धनकुटा प्रवेश गरेका थिए।