रास्वपाका सांसद, कार्यकर्ताले गालीगलौज बन्द गरून् : एमाले - www.pardafas.com
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा कार्यकर्ताहरूलाई व्यक्तिगत गालीगलौज र अपमानजनक अभिव्यक्ति नदिइदिन चेतावनी दिएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा विशेष समयमा बोल्दै बर्तौलाले आमाबाबु र हजुरबुबाको नाम लिई गाली गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने बताए । उनले अहिले ठिक लागे पनि यस्तो व्यवहारले भविष्यमा भारी पार्ने चेतावनी दिए । ‘कसैलाई आमाको नाममा, कसैलाई बाबाको नाममा, स्वर्गारोहन हुनुभएको हजुरबुबाको नाममा गाली गर्नु रास्वपा र पार्टीका कार्यकर्ताबाट भइरहेको छ,’ बर्तौलाले भने, ‘आज तपाईंहरूलाई ठिक लाग्न सक्छ, तर यस्ता गालीहरू तपाईंहरूकै लागि भोलि भारी हुन सक्छन् । सुधार्नुहोस् ।’ रास्वपाले आफ्नो पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोध देखाउँदै हस्ताक्षर संकलन र चन्दा उठाउने अभियान चलाएकोप्रति पनि बर्तौलाले प्रश्न उठाए । ‘जसलाई राजनीतिक प्रतिशोध भनिएको थियो, त्यही व्यक्तिले बिगो तिर्छु भनेर निवेदन दिएका छन्,’ उनले भने, ‘बिगो स्वीकार्नु भनेको अपराधको स्वीकारोक्ति होइन र ?’ बर्तौलाले सभापतिले नै बिगो तिर्ने तयारी गरेको अवस्थामा राजनीतिक प्रतिशोधको आरोप अब टिक्न नसक्ने दाबी गरे । ‘अब तपाईंहरूको आरोप नाटकजस्तै भएको प्रमाणित भइसक्यो,’ उनले स्पष्ट पारे । बर्तौलाले प्रतिपक्षी दलसँगको असहमति हुँदाहुँदै पनि सार्वजनिक मर्यादा नघटाउन आग्रह गरेका छन् ।