विश्व घटना : क्यालिफोर्निया आगलागीमा १३ हजार घर ध्वस्त - www.nepaliheadline.com
काठमाडौं- आज ८ नोभेम्बर। विश्व इतिहासका विभिन्न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९७२- एचबीओ टीभीको प्रसारण आरम्भ अमेरिकाको सबैभन्दा पुरानो सशुल्क टेलिभिजन च्यानल ‘होम बक्स अफिस’ (एचबीओ)को प्रसारण आजकै दिन शुरु भएको हो। ‘समटाइम्स अ ग्रेट नोसन’ उक्त टेलिभिजनको पहिलो कार्यक्रम थियो। उक्त कार्यक्रममा पल न्युम्यान र हेनरी फोन्डाको मुख्य अभिनय थियो। – सन् १९७१- थाइल्यान्डमा अर्को सैन्य ‘कु’ थाइल्यान्डमा सेनाका फिल्ड मार्सल थानोम किट्टिकाचोनले आफ्नै सरकारलाई अपदस्थ गरेका थिए। ‘कु’लगत्तै उनले संसद भंग गरेका थिए। संसद र देशको राजनीतिमा कम्युनिस्टहरूको बढ्दो प्रभाव रोक्न सैन्य ‘कु’ गर्नुपरेको उनको दाबी थियो। – सन् १९३९- हिटलरलाई ताकेर गोली प्रहार जर्मनीका तानशाह हिटलरमाथि आजकै दिन गोली प्रहार भएको थियो। जर्मनीकै काठ मिस्त्री जोहान जर्ज एल्सरले हिटलरलाई ताकेर गोली हानेका थिए। तर, उनी बालबाल बचे। खासगरी, हिटलरको क्रुरता बढ्न थालेपछि उनको हत्या र सत्ता परिवर्तनको प्रयास थियो त्यो। हिटलरको नाजी पार्टीका उच्च पदस्थहरूको पनि हत्या प्रयास गरेका थिए, एल्सरले। उनी समातिए र ५ वर्षे कारावास सजाय पाए। – सन् १९२३- बियर हल पच सन् १९२३ मा आजकै दिन जर्मनीका तानाशाह हिटलरले तत्कालीन सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गर्ने असफल प्रयास गरेका थिए। उनको नेतृत्वमा नाजी पार्टीले म्युनिखको बर्गरब्रौ केलरबाट आक्रोसित मार्च शुरु गरी बर्लिन पुगेर समापन गरेको थियो। सत्ता कब्जा गर्ने हिटलरको प्रयास अन्ततः असफल भयो। उनी समातिए र २ वर्षको कारावास सजाय पाए। – सन् १८९५- एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति जर्मनीका भौतिकशास्त्री विल्हेम कोनराड रोङ्टगेनले क्याथोड किरणमाथि काम गर्दै गर्दा त्रुटिवश पहिलोपटक एक्सरे देखेका थिए। सोही कारण एक्सरेलाई जानकारहरूले रोङ्टगेन किरण पनि भन्ने गरेका छन्। एक्सरे एक प्रकारको विद्युतीय चुम्बकीय विकिरण हो, जसको उपयोग आधुनिक चिकित्सा पद्दतिमा अत्यधिक हुने गर्छ। उक्त खोजीका लागि रोङ्टगेनलाई सन् १९०१ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। – सन् २०१३- प्रचण्ड तुफानले लियो ८ हजारको ज्यान सन् २०१३ मा आजकै दिन फिलिपिन्समा आएको तीव्र वेगको समुद्री तुफानले ८ हजारजनाको ज्यान लिएको थियो। उक्त तुफान फिलिपिन्सको इतिहासकै शक्तिशाली थियो। फिलिपिन्सका ४४ वटा प्रान्तका १ करोड ४० लाख मानिस त्यसबाट प्रभावित भएका थिए। लाखौं मानिसलाई घरबारविहीन बनाएको थियो। – २०१६, १९६०, १९३२- ट्रम्प, केनेडी र रुजबेल्ट निर्वाचित आजकै दिन सन् २०१६ मा डोनाल्ड ट्रम्प, १९६० मा जोन एफ केनेडी र १९३२ मा फ्र्यांकलिन डी रुजबेल्ट अमेरिकी राष्ट्रपति निर्वाचित भएको घोषणा गरिएको थियो। – सन् २०१८- चीनमा भर्चुअल समाचार वाचक सन् २०१८ मा आजकै दिन चीनमा भर्चुअल समाचार वाचक प्रयोगमा ल्याइएको थियो। सरकार नियन्त्रित समाचार एजेन्सीले त्यसको प्रयोग गरेको थियो। त्यसलाई चिनियाँ सर्च इन्जिन सोगोउले विकास गरेको थियो। – सन् २०१६- रातारात अवैध बने ५ सय र हजारका भारतीय नोट सन् २०१६ मा आजकै दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चलनचल्तीमा रहेका ५०० र एक हजार दरका नोटहरूलाई अवैध घोषणा गरेका थिए। भ्रष्टाचारविरुद्धको लडाईं संज्ञा दिँदै बैंकिङ च्यानलभन्दा बाहिर रहेका नोटहरूलाई अवैध घोषणा गरिएको थियो। जसका कारण ५०० र हजारका ८६ प्रतिशत नोटहरू रातारात अवैध बनेका थिए। – सन् २०१४- १० वर्षअघि नै युक्रेन युद्धको चेतावनी तत्कालिन सोभियत संघका अन्तिम राष्ट्रपति मिखायल गोर्भाचेभले सन् २०१४ मै युक्रेनमा सम्भावित युद्धको चेतावनी दिएका थिए। युक्रेनमा अमेरिका र रुसको जारी तनावले विश्वमा नयाँ प्रकारको शीतयुद्धको शुरुवात गरेको उनको चेतावनी थियो। – सन् २०१८- इथियोपियामा भेटियो २०० जनाको चिहान सन् २०१८ मा आजकै दिन इथियोपियामा २०० जनाको सामूहिक चिहान फेला परेको थियो। सोमालीर ओरोमिया इलाकामा उक्त चिहान फेला परेको थियो। तत्कालीन क्षेत्रीय राष्ट्रपति अब्दी मोहम्मदको अत्याचार सम्बन्धमा अनुसन्धानका क्रममा उक्त चिहान फेला परेको थियो। – सन् २०१८- क्यालिफोर्निया आगलागीमा गयो ८८ को ज्यान सन् २०१८ मा आजकै दिन अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगोमा परी ८८ जनाको मृत्यु भएको थियो। त्यो क्यालिफोर्नियाको इतिहासमै घातक आगलागी थियो। प्लुमास राष्ट्रीय वन परिसरमा गरिएको क्याम्प फायरबाट शुरु भएको आगो बट्टे काउन्टीमा फैलिएको थियो। शहरमा १३ हजारभन्दा बढी घर आगोमा ध्वस्त भएका थिए। – सन् २०२४- ५ वर्षपछि पेरिसमा बजे घण्टी सन् २०२४ मा आजकै दिन पेरिसको नोट्रे-ड्याम क्याथेड्रलका घण्टीहरू ५ वर्षपछि पहिलोपटक बजेका थिए। उक्त क्षेत्र सन् २०१९ मा आगलागीमा परी ध्वस्त भएको थियो। तीमध्ये एउटा घण्टी ओलम्पिक खेलको दौरान उपयोग गरिएको थियो।