Redirecting...

दक्षिण एसियामा चमत्कार - nagariknews.nagariknetwork.com

दक्षिण एसियामा चमत्कार - nagariknews.nagariknetwork.com
Source: ngrk

बंगलादेश भ्रमणमा पुग्नुभएका पाकिस्तानी परराष्ट्रमन्त्री इसाक दारले ढाकामा महत्वपूर्ण नेताहरूलाई भेटेपछि दिल्लीमा एक किसिमको तरंग छायो। नेपाल, भुटान, श्रीलंका, मालदिब्स आदि दिल्लीबाट टाढिन थालेको भारतका केही मिडिया र कूटनीतिक पण्डितले विश्लेषण गरिरहेका छन्। ध्रुवीकरण बढ्दै जाँदा सन् १९४७ मा स्वतन्त्र भएको भारत छरछिमेकीबाटै एक्लिने सम्भावना रहेको भारतीयहरूको विश्लेषण र विवेचना भयाक्रान्त मनोविज्ञानको उपज मात्रै होइन भन्न सकिन्छ।सार्कलाई अफापसिद्ध बनाउनेदेखि लिएर छरछिमेकलाई हेप्ने गरेको गम्भीर आरोप भोगिरहेको छ भारतले। चौबिस करोड जनसंख्या भएको भारतको उत्तर प्रदेश राज्यका लाखौं मुसलमानलाई सत्तारूढ दलका नेताहरूले अभारतीय जस्तो व्यवहार गर्ने गरेको आरोप पनि सर्वथा मिथ्या होइन।कश्मीरका पुराना नेता फारुक अब्दुल्लाहले कतिपय नेताले मुसलमान समुदायका मानिसलाई ‘अराष्ट्रवादी’ भनेकोमा आपत्ति जनाएको सामाजिक सञ्जाल र बहुचर्चित मिडियामा आइरहेको छ।अरुणाचलदेखि तमिलनाडुसम्म एकताको सट्टा विभाजनको स्वर सुनिन्छ। म एकपल्ट मुम्बईबाट गोवा हुँदै बेङलोर जाँदै थिएँ । उत्तर भारतीय बस ड्राइभरले हिन्दी गाना बजाउँदा केही तमिल युवकले थर्काए, ‘यो तिम्रो भारत हो र हिन्दी गीत बजाउने? बन्द गर, कवाडी गीत।’म छक्क परें। भारतीय भूभागमा हिन्दी वर्जित भएका उदाहरण मुम्बईमा शिवसेना, असमका बोडो, मणिपुर, दक्षिण भारत जताततै देख्न पाइन्छ।ब्रेकिङ इन्डिया पुस्तकमा राजीव मलहोत्रा लेख्छन्– भाषा, संस्कृति, रहनसहन आदि कारणले मात्रै होइन, सनातन धर्मविरुद्ध गैरसरकारी संस्थाहरूले घृणा फैलाउने काम गरिरहेकाले भारतको राष्ट्रिय चरित्र लोप हुँदैछ।चीनले २६ राष्ट्र समेटेर हालै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेपछि असंलग्न परराष्ट्र नीतिमा हिँड्नुपर्छ भन्ने राष्ट्रसमेत ध्रुवीकरणको चपेटामा परेका छन्। दक्षिण एसियाली राजनीति र रणनीतिसमेतलाई यसले अप्ठ्यारो मोडमा लगिरहेको छ।युरोप र अमेरिकाबाट चीनको सम्मेलनमा कोही आएनन्। जापान र चीनको कटु इतिहास झल्काउने सैनिक परेडका कारण जापान झस्किनु स्वाभाविक हो। विश्वको पहिलो शक्ति हुन चाहेको चीनले भारतलाई समेत सहभागी बनाउनु उसको कूटनीतिक चातुर्य हो तर एकातिर मात्रै ढल्केर नेपालले पश्चिमी राष्ट्रहरूको सदासय र सहयोग गुमाउने खतरा पनि छ।राजनीतिक स्थिरता, भरपर्दाे राजनीतिक नेतृत्व, स्थायी शक्ति र कूटनीतिक विश्वास नभएको भनेर नेपालको आलोचना हुने गरेको छ। धेरै राष्ट्र उदाहरण झन्, विश्वास (क्रेडिबिलिटी) नभएका कारण कूटनीति नै पानीको फोका बन्छ। सरकारले एक आँखाले मात्रै हेरेर कुनै एउटा राष्ट्रलाई ‘हेडसर’ मान्न थालेको खण्डमा कतिपय राष्ट्रले दूतावाससमेत बन्द गर्न सक्छन्। भेनेजुयला, सिरिया र लेबनानमा त्यही भयो।राजनीतिक दलहरूले घातप्रतिघात गर्दा आन्तरिक राजनीति तरल छ र बितेका सत्र–अठार वर्षमा पनि राजनीति गुणस्तरीय हुन सकेन। दलहरूले जतिसुकै भूल र अक्षम्य काम गरे पनि ‘मेरो पार्टी’ भनेर सती जाने मतदाता र कार्यकर्ताले राजनीतिलाई सुधार्ने प्रयास नै गरेनन्।यो रोग भारत, बांगलादेश र सबैतिर छ। सीमित मानिसलाई प्रभावित बनाएपछि बाह्य शक्तिले समेत आफ्नो गुप्त रणनीति सफल बनाउन सक्ने भएको हुँदा राजनीतिक दृष्टिले दक्षिण एसिया जोखिममा छ। श्रीलंकामा राष्ट्रपति भाग्नुपरेको र बांगलादेशको पछिल्लो घटनाबाट नेपाली नेताहरूले केही शिक्षा लिएको देखिएन।मन्चुरियामा जापानले हमला गर्दैछ भन्ने सूचना पाएपछि सिमानामा कडाइ गरियो। हतियार लिएर हजारौं सैनिक र प्रहरी उभिए तर हमला गर्न कोही आएनन्।वर्षांैदेखि मजदुर, हजाम, मोची, कुल्ली र शिक्षक बनेर बसेका जापानको जमातले सुरक्षाकर्मी र सर्वसाधारणमाथि हमला गर्न थाले। नेपालविरुद्ध कुनै अप्रिय अवस्था आएमा सिमाना नाघेर शत्रु पस्नै पर्दैन, नेपाली नागरिकको भेषमा हजारौं वैरी यतै बसेका छन्।आन्तरिक शत्रु बाह्यभन्दा घातक हुन्छन्। नेपाली राजनीतिलाई अस्थिर बनाएर आफ्नो आधार इलाका प्रमाणित गर्न अनेकौं कृत्य भएको इतिहास छ।तिब्बतको स्वतन्त्रताका लागि सशस्त्र युद्ध गर्ने उद्देश्यले खम्पा विद्रोह गराउन नेपालको हिमालय क्षेत्रमा हतियार र छापामार जत्थामा लगानी गर्ने काम बाहिरी शक्तिबाटै भयो। हिसी र वाङदी नामका खम्पा नाइकेलाई विभाजित गराएर राजा वीरेन्द्रबाट सो विद्रोह अन्त्य गरिबक्सेपछि चीनले राजा वीरेन्द्रको तीस वर्षे शासनकालमा उहाँलाई दशपल्ट चीनमा स्वागत गरेको जगजाहेर छ।नेपाल कुनै पनि शक्तिको युद्ध मैदान नहोस् भन्ने राजाको सदाशय स्पष्ट बुझ्न सकिन्छ। सन्तुलित र निष्पक्ष कूटनीतिमा निपुण भएकै कारण असंलग्न परराष्ट्र नीति, सार्कको परिकल्पना र संयुक्त राष्ट्रसंघमा नेपाल सुरक्षा परिषद्मा सफल देखियो। दुईचार करोड डलरका परियोजना वा ससाना स्वार्थमा फसेको भए त्यो उचाइमा पुग्न सम्भव थिएन।हाम्रा दलहरूका आफ्नो स्वार्थ हुन सक्छन् तर राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिमा साझा दृष्टिकोण भएन भने सरकार परिवर्तन हुँदैपिच्छे हामी अल्मलिन सक्छौं।विश्वका अत्यन्तै पुराना सत्र राष्ट्रमध्ये एउटा हो नेपाल। ‘जेठा मामाको त भाङ्ग्राको धोती, कान्छा मामाको झन् के गति’ भनेझैं हामी कूटनीतिक दृष्टिले अझैसम्म परिपक्व हुन सकैनौं। यही कारण ससाना परकम्पले पनि हामी विचलित भएको देखिन्छ।आर्थिक स्वार्थ वा सत्तामा पुग्न चाहिने वैदेशिक मद्दत मात्रै कूटनीति होइन। कूटनीति इतिहासको निरन्तरता हो। वर्तमानको बलियो शस्त्र र अस्त्र हो। भविष्यको आधार हो। क्षणिक फाइदा मात्रै हेर्ने काम विकृत राजनीतिको कुरूप अनुहार हो।कतिपय राष्ट्र कूटनीतिक लापरबाहीले कमजोर मात्र होइन, समाप्त भएका छन्। पाकिस्तान टुक्राउने खेलमा पूर्वी पाकिस्तानी बुद्धिजीवी लोभले फसे। बंगालजस्तो ठूलो भूभागमा मिर जाफर जस्तो देशद्रोहीले पलासीको युद्धमा आफ्नो फौजलाई आत्मसमर्पण गर्ने आदेश दिए। शासक सिराज उद्दौलाले भरोसा गरेकोे मानिस ‘गद्दार’ ठहरिए। इतिहासमा ती देशद्रोहीलाई ‘गद्दार ए हिन्द’ भनिन्छ। उनको चिहानमा आज पनि मानिसहरू थुक्ने गर्छन्।पदमा पुग्नु ठुलो कुरा होइन तर उसले जनता र राष्ट्रको दीर्घकालीन हितविरुद्ध काम गर्छ भने त्यस्तो शासक सजीव वा निर्जीव हुनुको अर्थ हुँदैन।कम्बोडियाका सेनापति लोन नोललाई राजाले धेरै भरोसा गर्थे। उनले विदेशी धन लिएर राजा, राष्ट्र र जनतालाई धोका दिएको राजाको आत्मवृत्तान्तमा लेखिएको छ।कोरियालाई दुई टुक्रा बनाउने खेलमा, सुडानलाई पृथक् बनाउने षड्यन्त्रमा, इथियोपियाबाट इरिट्रिया चोइट्याउँदा, इन्डोनेसियाबाट इस्ट टिमोर बनाउँदा वा सिक्किमलाई भारतमा गाभ्ने खेलमा लोभीपापीहरूलाई नै खरिद गरियो। महाकाली सन्धि गर्न हतारिएका नेपाली नेताहरूले महाकाली नदीको उद्गम कहाँ छ भनेर सोधखोज गरेको भए नेपाली भूभाग मिचियो भनिरहनुपर्ने थिएन।राजा राजेन्द्रका पालामा काठमाडौंमा बसेका ब्रिटेनका कूटनीतिज्ञहरू, चीनसँगको प्राचीन सम्बन्ध, सन् १९४० को दशकमा सुरु भएको अमेरिका र भारतसँगको सम्बन्ध एवं फ्रान्स र जर्मनीलगायतका युरोपेली राष्ट्रसँगको सम्बन्ध आदिको वस्तुनिष्ठ मूल्यांकन गर्न नसक्दा कूटनीति लहडबाजीमा चल्यो।दलका कार्यकर्तालाई जागिर खुवाउने, आफन्तको उदरपूर्ति गर्ने वा सरकार फेरिँदा राजदूत फेर्नैपर्ने ठट्यौलीजस्तो भयो कूटनीति।न राष्ट्रिय मूलनीति छ, न स्पष्ट परराष्ट्र नीति। यसले गर्दा दक्षिण एसियामा बढिरहेको विश्वशक्तिको होडबाजीबाट हामीले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ।