टिपटो फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल आज - ehimalayatimes.com
काठमाडौं । टिपटो स्पोर्टस एकेडेमीको चौथो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगिताको अन्तिम चरणको खेल आज(शनिबार) हुँदैछ । जसमा सेमिफाइनल र फाइनल खेल खेलाइँदैछ । काठमाडौं उपत्यकासहित कर्णाली प्रदेशको जुम्लासम्म शाखा विस्तार गर्न सफल एकेडेमीले यो प्रतियोगिता आफ्नै मुख्यालय, तारकेश्वर-८ शेषमतीमा विशेष कार्यक्रमका बीच आयोजना गरेको हो । गत शनिबार आयोजित वार्षिकोत्सव समारोहमा प्रतियोगिताका क्वार्टरफाइनलसम्मका खेलहरू सम्पन्न गरिएका थिए । प्रतियोगितामा यु-८, १०, १२, १४ र १६ उमेर समूहका ब्वाइज तथा गल्र्स दुवै विधामा ४५ भन्दा बढी टिमहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । एकेडेमीले प्रत्येक ६-६ महिनामा यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटक खेलाडीमात्र होइन, अभिभावकलाई समेत समेटेर विशेष अभिभावक फुटबल खेलको आयोजना गरिएको थियो । अभिभावक समूहबाट ६० भन्दा बढीको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ । नेपाली राष्ट्रिय फुटसल टोलीका पूर्वप्रमुख प्रशिक्षक एवं एकेडेमीका अध्यक्ष गौरव बस्नेतका अनुसार हाल एकेडेमीका विभिन्न शाखाहरूमा तीन सयभन्दा बढी बालबालिकाले नियमित प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षण सत्रहरू आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ७ बजेसम्म सञ्चालन हुँदै आएको छ भने शनिबारको दिन दुई घण्टे विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ । एकेडेमीका कार्यकारी प्रमुख (सीईओ) सुवास न्यौपानेका अनुसार हाल काठमाडौंमा ६ र जुम्लामा एक गरी एकेडेमीका सात शाखाहरू सञ्चालनमा छन् । यी शाखाहरू क्रमशः तारकेश्वरस्थित जिफोर फुटसल, पिपलडाँडा फुटबल मैदान, वसन्तनगरको मोनाष्ट्री फुटसल, चुच्चेपाटीस्थित भाटभटेनी फुटसल, कागेश्वरी मनोहराको मूलपानी फुटसल तथा जुम्ला बजारमा रहेको शाखा हुन् । एकेडेमीको चार वर्षे सफल यात्रा र विकासक्रमलाई स्मरण गर्दै गरिएको यो प्रतियोगिता नर्सरी तहदेखि किशोर उमेर समूहका खेलाडीहरूका लागि प्रतिभा विकासको उपयुक्त माध्यमका रूपमा स्थापित भइरहेको देखिन्छ ।