बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम - kendrabindu.com
ढोरपाटन। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ। लामो समयदेखि रोकिएको सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ। बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक दुई खण्डमा निर्माण भइरहेको छ। पहिलो खण्ड (बुर्तिबाङ–फल्लेघर, २२ किमी) हाल ग्राभेल गरिएको छ भने दोस्रो खण्ड (फल्लेघर–देउराली) मा कालोपत्रको तयारी भइरहेको छ। पहिलो खण्ड २०८० वैशाखसम्म सक्नुपर्ने थियो, तर हालसम्म ६५ प्रतिशत मात्रै सम्पन्न भएको छ। चार वर्षअघि स्वच्छन्द र ओम÷बुद्ध जेभीले जिम्मा पाएको थियो। समयमा काम नसक्दा चार पटक म्याद थप गरिएको थियो। दोस्रो खण्डको कालोपत्रका लागि गत असारमा ‘पिटीआर अधिकारी कन्स्ट्रक्सन’सँग रु १६ करोड ४८ लाखमा सम्झौता भएको छ। सडक फराकिलो बनाउने, नाला निर्माणलगायत काम धमाधम भइरहेको छ। सडक स्तरोन्नति कार्यक्रम अन्तर्गत रु २५ करोड ६१ लाखको लागतमा सडक निर्माण भइरहेको छ। विसं २०६८ मा सुरु भएको सडक रूपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै ढोरपाटनसँग जोडिएको छ।